युक्रेन–रुसबीच शान्तिको बाटो भेटिएको ट्रम्पको दाबी

अमेरिकी पक्षले तयार पारेको नयाँ शान्ति प्रस्ताव अहिले युक्रेनले अध्ययन गरिरहेको छ। प्रस्ताव अझै विकासकै क्रममा छ र छलफल बढेसँगै धेरै बुँदामा परिवर्तन हुने अपेक्षा गरिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन र रुसबीच शान्ति कायम गर्न सम्भावित मार्ग पहिचान गरिसकेको दाबी गरेका छन्। तर उनले उक्त प्रस्ताव युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलिन्स्कीले अनुमोदन गरे मात्र अघि बढ्ने स्पष्ट पारेका छन्।

“हामीले शान्ति ल्याउने एउटा तरिका फेला पारेका छौँ भन्ने लाग्छ। तर उनले (जेलिन्स्कीले) यसको अनुमोदन गर्नुपर्छ। उनीहरू केही नजिकिँदै छन् जस्तो लाग्छ, तर म अड्कल गर्न चाहन्न,” ट्रम्पले शुक्रबार पत्रकारहरूसँग भने।

अमेरिकी पक्षले तयार पारेको नयाँ शान्ति प्रस्ताव अहिले किभले अध्ययन गरिरहेको छ। सीएनएनका अनुसार, यो प्रस्ताव अझै विकासकै क्रममा छ र छलफल बढेसँगै धेरै बुँदामा परिवर्तन हुने अपेक्षा गरिएको छ।

उता, शुक्रबार नै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलिन्स्कीले किभमा भएको कार्यक्रममा देश इतिहासको सबैभन्दा चुनौतीपूर्ण चरणमा रहेको बताए। अमेरिकी प्रस्तावका सम्भावित प्रभावहरूबारे सोच्नुपर्ने परिस्थिति आएको उनको भनाइ थियो। 

“अहिले हाम्रो इतिहासको सबैभन्दा कठिन क्षणमध्ये एक छ, युक्रेन एक धेरै कठिन निर्णयको मोडमा छ। सम्मान गुमाउने कि प्रमुख साझेदार गुमाउने जोखिम मोल्ने,” जेलिन्स्कीले भने, “म कम्तीमा दुई बुँदा युक्रेनीहरूको सम्मान र स्वतन्त्रता नबिर्सियोस् भनेर २४ घण्टा संघर्ष गर्नेछु।”

सीएनएनका अनुसार, ट्रम्प प्रशासनभित्र छलफल भइरहेको नयाँ प्रस्ताव अनुसार, युक्रेनले पूर्वी डोन्बास क्षेत्रका केही भूभाग छोड्नुपर्ने तथा आफ्नो सैन्य क्षमतामा केही सीमा स्विकार्नुपर्ने हुनसक्छ। यसको सट्टामा अमेरिकाले सुरक्षा सुनिश्चितताका ग्यारेन्टी गर्ने सम्भावना प्रस्तावमा समावेश गरिएको बताइएको छ।

तर अमेरिकी अधिकारीहरूका अनुसार प्रस्ताव पूर्ण रूपमा तयार छैन र रुस तथा युक्रेन दुवैले केही सम्झौता गर्नुपर्नेछ। सन् २०१४ देखि चलेको संघर्ष २०२२ मा रुसले पूर्ण आक्रमण गरेपछि युद्धमा परिणत भएको थियो।

२८ बुँदामा समेटिएको प्रस्तावको प्रारम्भिक ड्राफ्ट ट्रम्पले हेरिसकेका छन्। तर युक्रेनले हालसम्म पनि रुसको नियन्त्रणमा पूर्ण रूपमा नपरेका क्षेत्रका विषयमा कुनै प्रकारका सम्झौता स्वीकार नगर्ने अडान राख्दै आएको छ। (एएनआई)