एसीसी प्रिमियर कपः हङकङविरुद्ध नेपाल ११९ रनले विजयी

नेपालले दिएको २७१ रनको लक्ष्य पछ्याउने क्रममा हङकङ ४०.५ ओभरमा १५१ रनमा अलआउट भयो।

काठमाडौँ– संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी एसीसी यू१९ प्रिमियर कपमा नेपालले हङकङलाई ११९ रनले पराजित गरेको छ। जारी प्रतियोगितामा नेपालको यो दोस्रो जित हो।

नेपालले दिएको २७१ रनको चुनौती पछ्याएको हङकङ ४०.५ ओभरमा १५१ रनमा समेटियो। उसका कप्तान शिभ मथुरले सर्वाधिक ३० रन बनाए। बलिङमा नेपालीका अप्रजित पौडेलले ४, कप्तान अशोक धामीले ३ विकेट लिए।

यसअघि अजमान मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २७० रन बनाएको थियो। कप्तान अशोक धामीले अर्धशतकीय इनिङ्स खेल्दै सर्वाधिक ७३ रनको योगदान गरे। 

यस्तै, दर्श सोनारले अविजित ४५, दिलसाद अलिले ३६ रन जोडे । हङकङका अभिमन्यु गणेशन र डेनियल नक्साले २/२ विकेट हात पारे। बिहीबारको खेलमा नेपालका कप्तान धामी प्लेयर अफ द म्याचसमेत चुनिए।

नेपालले यसअघि  पहिलो खेलमा  नेपालले साउदी अरेबियालाई ८ विकेटले पराजित गरेको थियो। 

१४ टोलीबीच चार समूहमा जारी प्रतियोगिताका प्रत्येक समूहका शीर्ष टोलीले सेमिफाइनल खेल्नेछन्। जसमध्ये पहिलो, दोस्रो र तेस्रो स्थानमा पुग्ने तीन टोली एशिया कपका लागि छनोट हुनेछन्।