राज्य र न्यायिक निकायकै भूमिकालाई लिएर प्रश्न उठिरहेका बेला सामाजिक सञ्जालले खुलमखुला 'मनोवैज्ञानिक विष' बाँड्न थाल्नु खतरनाक हो।
सामाजिक न्यायका क्षेत्रमा लागेका धेरैलाई लेखक तसलिमा नसरिनको प्रसिद्ध कथन थाहा छ, 'आइमाईको कुनै देश छैन।' मलाईचाहिँ अझ के लाग्छ भने, आइमाईको केही पनि छैन। सास फेर्न पनि उनलाई समाजको इजाजत चाहिन्छ। घरबाहिर निस्कनकै लागि कोही 'भरपर्दो' पहरेदार चाहिन्छ। समाज भन्छ, 'आइमाईको भर हुन्न, उसलाई नियमित रूपमा समाजको निगरानी र नियन्त्रण चाहिन्छ।'
'अहिलेको अवस्थामा महिलालाई नपुगेको के नै छ र? धेरै छ महिलाका लागि, अहिले महिलाहरूले यस्तो पाएका छन्, उस्तो पाएका छन्, अझै के–के चाहियो यी आइमाईलाई? कति बुर्कुसी मार्नु परेको यिनलाई?' भन्दै प्रश्न गर्ने पितृसत्ताका रक्षक भेटिन्छन् बाटैभर! यस्ता प्रश्न गर्नेहरूलाई मेरो प्रतिप्रश्न छ, 'म मारमा परेँ, मलाई कसैले बलात्कार गर्यो, म नाबालिग हुँ। लोकप्रियताको फाइदा उठाएर ममाथि कसैले अन्याय गर्यो' भन्दाचाहिँ दश हात माथि उफ्रेर किन आवाज उठाउनेकै घाँटी निमोठ्न उद्धत हुनुहुन्छ?'
प्रत्येक दशमध्ये सात व्यक्ति (चाहे ती पुरुष हुन् या महिला)लाई लाग्छ, 'महिलाहरूलाई धेरै हक र अधिकार दिइसकियो।' ठ्याक्कै यहाँनेर मेरो मथिंगल बेस्सरी हल्लिन्छ। महिलाको जुन सार्वभौम हक हो, स्वतः उनको हो, त्यस हकलाई कसैले 'ल तँलाई ३३ प्रतिशत' भन्दै ‘बक्सिस’ दिने विषय हो र? मेरै अधिकार मलाई कसैले दिनुपर्ने?
कक्षा १० सम्म अंग्रेजी पढाउनु भएका र नाताले काका पर्ने शिक्षकसँग एक दिन तीजको मेला हेर्ने मौका जुर्यो। उनी उतिखेर अंग्रेजी साहित्यका समेत विद्यार्थी थिए। प्रायः धेरै विषयलाई निकै सुन्दर र मनमोहक तरिकाले बुझाउने हुनाले म उनको एक किसिमको 'फ्यान'झैँ थिएँ। उनको प्रभाव ममा यस्तो थियो कि म उनलाई प्रखर विद्वान मान्थेँ।
तर त्यस दिन भने उनले मेरो अपेक्षामा पानी खन्याए, मन भाँचिदिए। उनले मेलामा महिलाहरूको बाक्लो आउजाउ, गफगाफ र नाचगान देखिसकेपछि भने, 'नेपाली महिलाहरू भाग्यमानी छन्। उनीहरूलाई नाच्ने, गाउने र बाहिर सजिलै घुम्ने लगायतका छुट उपलब्ध छन्।' यसो भन्दै गर्दा उनले मुसलमान समाजका महिलाका अधिकारका कुरासमेत गरिभ्याए। उनले नेपाली समाजभित्र मुसलमान समाजसमेत छ भन्ने हेक्का नै राखेको देखिएन। उनले 'नेपाली'भित्र केबल खस–पहाडी समाजलाई मात्र बुझिरहेका थिए। उनको आशय–अहंकार यस्तो थियो, 'हाम्रो सनातनी हिन्दू समाज उदार छ, अरू समाजमा यस्तो उदारता कहाँ पाइन्छ?'
उनको कुराले म अवाक् र अचम्मित भएँ। जसलाई म बौद्धिक सोचिरहेको थिएँ, उनको बुद्धिमत्ता प्राथमिक तहमा बढ्ने विद्यार्थीझैँ पाएँ। उतिखेर म आफैँ कक्षा दशमा पढ्थेँ। झट्ट प्रतिवाद गर्न पनि सकिनँ, आफूले आदर्श ठानेको शिक्षकको चेत देखेर खिन्न मात्र भएँ। प्रतिवाद नै गरेको भए पनि, शायद 'एउटा फुच्चेले मलाई सिकाउने?' भन्दै धपाउँथे होलान्।
केही नबोली आफ्नो बाटो लागेँ, तर त्यस दिनदेखि उनीसँग राय र सल्लाह माग्नु उचित लागेन। आज पनि सोच्छु आधा जगत्को समता र न्यायको सन्दर्भमा 'छुट' भन्ने शब्द ती शिक्षकले कसरी प्रयोग गर्न सके? के कुनै पसलमा किनिइने या बेचिने वस्तु हो समता र न्याय, जसमा मालिकको मर्जीअनुसार त्यसमा छुट या बढाबढ गर्न मिल्छ? 'अहिले त यिनीहरूलाई छुट छ नि' जस्ता भाष्यले मलाई बृहत् रूपमा अचम्ममा पार्छन्।
निकै पढेलेखेका र विद्वान कहलाएका व्यक्तिसमेत कुनै स्थापित टेलिभिजनले लिएको अन्तर्वार्तामा हाँसीहाँसी भन्छन्, 'म भान्सामा उनलाई सघाउँछु ! भाँडासमेत आफैँ पखाल्छु कहिलेकाहीँ! यस्ता कुरा सुनेर उदेक र विरक्त लागेर आउँछ। यस्ता थुप्रै गलत भाष्य छन् समाजमा, तिनबारे अझै लामा टिप्पणी आवश्यक छन्। लैंगिक भूमिका र महिलाकै बारेमा समेत समाज कति अबुझ र बेखबर छ।
केही दिनअघि 'गौशाला २६' ले आत्महत्या प्रयास गरेको खबर आयो। त्यो खबर नै सार्वजनिक गर्नु उचित या अनुचित भन्नेबारे समेत सचेत तप्काले प्रश्न उठायो, तर सामाजिक सञ्जालमा त्यस समाचारलाई लिएर पितृसत्ताका तमाम प्रतिनिधिहरूले छाडा टिप्पणी छाड्न बाँकी राखेनन्। पीडितको उल्टै भद्दा मजाक उडाए। फेरि एक पटक गौशाला २६ को हुर्मत लिन खोजियो।
यो सोही समय थियो, जतिखेर मान्छेहरू 'गोरु र धर्म बचाउने अभियान'मा सामाजिक सञ्जालमा लागिरहेका थिए। धर्मको विषय आफैँमा संवेदनशील छ। प्रश्न नउठाऊँ भन्छु म, तर विवेकले दिँदैन। तर्कलाई निषेध गरिने मध्ययुगसमेत होइन यो। अतः धर्म बचाउन लागिपरेका सज्जनहरूलाई बेलाबेला सोध्न मन लाग्छ, 'धर्म आफैँले समस्त लोकको रक्षा गर्ने होइन र? यस्तोमा धर्मकै रक्षा गर्ने के प्रयोजन आइपर्यो?'
धर्ममध्ये पनि 'सर्भाइभल अफ् द फिटेस्ट' अथवा सबैभन्दा उपयुक्त धर्म मात्रै भोलिका दिनमा बाँकी रहला, त्यसो हुँदा के फरक पर्छ र? मानव गरिमालाई महत्त्व दिइने यस युगमा जन्मेको मलाई सोध्न मन लाग्छ, 'हिन्दू, मुसलमान, सिख, बौद्धमार्गी, किरात र इसाई हुनुभन्दा अघि केबल मान्छे हौँ र थियौँ, होइन र? अलि उचाइबाट समभाव र समदृष्टिले हेर्दा मानवतालाई नै धर्मका रूपमा मान्न सकिँदैन र?
कसैले के खान्छ भन्ने विषय व्यक्तिगत भएकाले र धरानमा उठाउन खोजिएको विद्वेष अहिलेलाई मत्थर पारिएकाले यस विषयमा थप नलेखौँ। कुनै 'कुल पिरियड'मा लेखौँला। यतिचाहिँ भनौँ, कानून देखाउँदै गरिब र उत्पीडितहरूलाई ङ्याक्ने अभ्यास गलत छ। केको मासु खाने या नखाने भन्नेबारे हाम्रो कानूनी व्यवस्थामै खराबी छ, त्यसलाई अब सच्याऊँ। फलानोले फरक रङको पशुको मासु खायो भन्दै उफ्रने चेतनाको नियमित चेकजाँच गरौँ।
बरु उफ्रिनु नै छ र हत्याको विरोध गर्नु नै छ भने मृत–सपनाहरूको विरोध गर्न किन नलाग्ने? उत्पीडनमा परेकी एक नाबालिगको पक्षमा किन नबोल्ने? तिनले आफ्नो 'सत्यपन' प्रमाणित गर्न अब केके गर्नुपर्ने हो? यस्तो लाग्छ, निर्मला पन्तले मरेकै कारण मात्र समवेदना पाएकी हुन्। होइन भने गौशाला २६ लाई यतिखेर किन हतोत्साहित गरिँदै छ? कि 'राष्ट्रका गहना'का अघि अरू सबै विषय फिका हुन्छन्? मनोज बाजपेयीको एउटा फिल्मको ‘डायलग’ धुमिल याद आउँछ, 'दान, धर्म गर्नु र स्कुल, मठमन्दिर बनाउनु बलात्कार गर्ने इजाजत लिनु हुँदै होइन!'
गौशाला २६ प्रकरण शक्तिशाली र निम्छराबीचको 'शक्ति र न्यायसम्बन्ध' नियाल्ने आँखीझ्याल हो। यस्तोमा पद र प्रतिष्ठाको गलत प्रयोगले बारम्बार पीडित भनिएकी किशोरीलाई नै दपेट्नुले भोलि कुनै अनिष्ट भए त्यसको दायित्व कसले लिने? त्यसबारे यो समाज उत्तरदायी हुने कि नहुने? एउटी नाबालिगलाई मरेतुल्य पार्ने अनि उनीबारे आएका दुःखका खबरमा 'हाहा' रियाक्ट गर्न सक्ने हिम्मत कुनै आतंककारीको भन्दा कम हो र?
अझ यस्तो संवेदनशील विषयमा पीडितको अनिष्टको कामना गर्नेहरू पनि भेटिए। सामाजिक सञ्जालमा गालीगलौज गरेरै 'प्रतिष्ठा' कमाएकी एक व्यक्तिले यस्तै कामना गरिन्। कस्तो विडम्बना! राज्य र न्यायिक निकायकै भूमिकालाई लिएर प्रश्न उठिरहेका बेला सामाजिक सञ्जालले खुलमखुला 'मनोवैज्ञानिक विष' बाँड्न थाल्नु खतरनाक हो।
गौशाला २६ घटनाको आरोपित जोसुकै होस्, यदि आरोप लागेका व्यक्ति निरपराध नै रहेछन् भने सोही अनुसारको क्षतिपूर्ति र कारबाहीको माग होला, गरौँला। तर हामीले के भुल्न हुन्न भने हाम्रोजस्तो समाजमा महिला र किशोरीले बलात्कारजस्तो विषयमा सहजै प्रश्न उठाउँदैनन्। असह्य भएरै मात्र प्रश्न उठ्छ। तर यस्तो बेला आवाज उठाउनेको साहसमा श्वास थपिदिने कि उल्टै अनिष्टको आह्वान गर्ने? हामी कस्तो पाखण्डी समाजमा छौँ, जहाँ मानव–न्यायकै हत्या चिताइन्छ, तर 'खास मासु'विरुद्ध मान्छेहरू उद्वेलित र आन्दोलित हुन्छन्! साँच्चै हाम्रो समाजको बलियो नैतिक पिँध छ?
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
