संसदीय समितिको कामलाई प्रभावकारी ढंगले सञ्चालन गर्न सभामुखको निर्देशन

समितिमा आउने विधेयकहरूलाई आवश्यकताअनुसार सरोकारवालासँग छलफल गर्ने र दफावार छलफल गरी छिटोभन्दा छिटो टुंग्याउन पनि सभामुखले निर्देशन दिएका छन्।

काठमाडाैँ– सभामुख देवराज घिमिरेले संसदीय समितिहरूको कामलाई प्रभावकारी ढंगले सञ्चालन गर्न सभापतिहरूलाई निर्देशन दिएका छन्।

बुधबार सभामुख, उपसभामुखसहित दशवटै संसदीय समितिको सभापतिहरूसँग भएको बैठकमा सभामुख घिमिरेले समितिको कामलाई प्रभावकारी ढंगले अगाडि बढाउन निर्देशन दिएका हुन्। उनले समितिमा आउने विधेयकहरूलाई आवश्यकताअनुसार सरोकारवालासँग छलफल गर्ने र दफावार छलफल गरी छिटोभन्दा छिटो टुंग्याउन पनि निर्देशन दिए। यस्तै उनले समितिहरूले गतिका साथ काम गर्नुपर्ने पनि बताए। 

"सभाले दिएका दायित्वहरू अब समितिमार्फत पूरा गर्ने र समितिहरूलाई प्रभावकारी ढंगबाट काममा अगाडि बढाएर सभालाई प्रभावकारी बनाउनुपर्नेछ," बैठकपछि सञ्चारकर्मीहरूसँग बैठकबारे जानकारी दिँदै उनले भने– "सबै आ–आफ्नो समितिमा माननीयज्यूहरूले घनिभूत ढंगबाट दफावार छलफल गर्ने, छिटो टुंग्याउने र सभामा ल्याउने कामका लागि विशेष अगाडि बढ्नुस् भन्ने कुरा सभामुखको तर्फबाट भन्ने काम भयो। उहाँहरूले यो दायित्व पूरा गर्छौं भनेर उत्साहसाथ लिनुभयो।"

अर्थ समितिका सभापति सन्तोष चालिसेले बैठकमा समितिहरूले देशको अवस्थालाई मध्यनजर गर्दै चाँडोभन्दा चाँडो सहि ढंगले काम गर्नुपर्ने विषयमा छलफल भएको बताए। यस्तै, समितिले गरेका निर्णयहरूलाई कार्यान्वयन पनि गराउनुपर्नेमा बैठकले जोड दिएको उनकाे भनाइ छ।

त्यसैगरी बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै कानून, न्याय तथा मानव अधिकार समिति सभापति विमला सुवेदीले बैठकमा समितिले हाल गरिरहेका कामहरू र विधेयकसँग सम्बन्धित कामहरूको कार्यप्रगतिको सम्बन्धमा छलफल भएको बताइन्। उनले पनि समितिको कामलाई प्रभावकारी रूपमा अगाडि बढाउने विषय नै सभामुखले राखेकाे जनाइन्।

उनले समितिको कामको प्रभावकारिताले नै संसदको प्रभावकारिता बढ्ने भएकाले सोही अनुरूप गम्भीरतापूर्वक समितिका काम, कारबाही अगाडि बढाउन सभामुखले निर्देशन दिएकाे बताइन्।