साफ यू-१५ : बंगलादेशसँग बराबरी खेल्दै नेपाल च्याम्पियन

बंगलादेशकी बीबी रिताको पेनाल्टी नेपालकी गोलकिपर तथा कप्तान सुजता तामाङले उत्कृष्ट बचाउ गरिन्।

काठमाडौं– नेपालले बंगलादेशमा आयोजना भएको महिला साफ यू–१५ च्याम्पियनसिपको उपाधि जितेको छ।

ढाकामा शुक्रबार भएको डबल राउन्ड रोबिन लिगको अन्तिम खेलमा बंगलादेशसँग १–१ गोलको बराबरी खेल्दै नेपाल च्याम्पियन बनेको हो।

खेलमा शुरुआती अग्रता नेपालले लिएको थियो। १४औँ मिनेटमा सुशीला केसीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन्।

तर, ५४औँ मिनेटमा रुमा अख्तेरले गोल गर्दै बंगलादेशलाई १-१ गोलको बराबरीमा ल्याइन्। त्यसपछि खेलको ८९औँ मिनेटमा बंगलादेशले पेनाल्टीको अवसर पायो।

तर, बंगलादेशकी बीबी रिताको पेनाल्टी नेपालकी गोलकिपर तथा कप्तान सुजता तामाङले उत्कृष्ट बचाउ गरिन्। त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल बराबरीमा सकिएको थियो।

यस बराबरीसँगै नेपालले ४ खेलमा अपराजित रहँदै १० अंक जोड्यो। अंक तालिकाको शीर्षस्थानमा रहँदै नेपालले उपाधि उचाल्न सफल भएको हो।

आयोजक बंगलादेश ४ खेलमा ७ अंक जोडेर उपविजेता बन्यो। भुटान अंकविहीन रह्यो। प्रतियोगितामा नेपाल, भुटान र बंगलादेशको सहभागिता रहेको थियो।