साउदीको मुख्य प्रशिक्षकमा मान्सिनी नियुक्त

इटाली राष्ट्रिय फुटबल टोलीबाट राजीनामा दिएको दुई हप्तापछि नै उनी साउदी राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका हुन्। 

काठमाडाैँ– साउदी अरब राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा रोबर्टो मान्सिनी नियुक्त भएका छन्। इटाली राष्ट्रिय फुटबल टोलीबाट राजीनामा दिएको दुई हप्तापछि नै उनी साउदी राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका हुन्। 

५८ वर्षीय मान्सिनीले सन् २०१८ मा रसियामा आयोजना भएको विश्वकपमा चारपटकको विजेता इटाली छनोट हुन नसकेपछि टोलीको जिम्मेवारी सम्हालेका थिए। उनी मुख्य प्रशिक्षक रहँदा इटालीले अक्टोबर २०१८ र अक्टोबर २०२१ को बीचमा कीर्तिमानी ३७ खेलसम्म अपराजित यात्रा तय गरेको थियो। इटालीले सन् २०२१ मा आयोजक इंग्ल्यान्डलाई फाइनलमा पराजित गर्दै युरोकप २०२० को उपाधिसमेत जित्यो। तर, उनले कतार विश्वकप २०२२ मा भने इटालीलाई छनोट गराउन सकेनन्। 

इटालीले सन् २०२०/२१ र २०२२/२३ संस्करणमा मान्सिनीको नेतृत्वमा नेसन्स लिगमा राम्रो प्रदर्शन गर्‍यो। विश्वकपमा छनोट हुन नसकेपछि म्यान्सिनीलाई राजीनामा गर्न इटालियन मिडियाले तीव्र दबाब दिएका थिए। तर, इटालीको फुटबल फेडेरेसनले उनलाई बर्खास्त गरेको थियो। यद्यपि, गत साउन २९ गते व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका थिए। 

उनले साउदीसँग सन् २०२७ सम्म रहनेगरी सम्झौता गरेका छन्। सेप्टेम्बर ८ मा इटालीले न्युक्यासलमा कोस्टारिकासँग मैत्रीपूर्ण खेल खेल्ने तय छ। कतार विश्वकपमा अर्जेन्टिनालाई समूह चरणको पहिलो खेलमा २-१ ले पराजित गरेयता साउदीको फुटबल खस्किँदै गएको छ। त्यसता खेलिएको खेलमा साउदी पोल्यान्ड, मेक्सिको, इराक, ओमान, भेनेजुयला र बोलिभियासँग पराजित भएको थियो। यस्तै, साउदीले यमनलाई भने २-० ले पराजित गरेको थियो। 

कोस्टारिकासँगको खेलपछि साउदीले सेप्टेम्बर १२ मा दक्षिण कोरियासँग न्युक्यासलमै मैत्रीपूर्ण खेल खेल्ने छ। त्यसपछि विश्वकप छनोटको दोस्रो चरणका खेलहरू खेल्ने तय छ।