नेपालले कुवेतलाई ३४ रनले हरायो

बुधवार मलेसियाको ब्यूमास ओभालमा नेपालले दिएको ९० रनको लक्ष्य पछ्याएकाे कुवेतले निर्धारित समयमा ८ विकेट गुमाएर ५५ रन मात्र बनाउन सक्यो। 

फाइल तस्वीर

काठमाडौँ– मलेसियामा जारी चार देश सम्मिलित महिला टी–२० क्रिकेटमा नेपालले कुवेतलाई ३४ रनले हराएको छ। लगातार दुई सिरिज जित्दै नेपाल फाइनल नजिक पुगेकाे छ।

बुधवार मलेसियाको ब्यूमास ओभालमा नेपालले दिएको ९० रनको लक्ष्य पछ्याएकाे कुवेतले निर्धारित समयमा ८ विकेट गुमाएर ५५ रन मात्र बनाउन सक्यो। कुवेतका लागि जीफा जिलानीले ११, खदिजा खलिले १० र मरिअमा हैदरले ९ रन जोडे। बलिङतर्फ नेपालकी इन्दू बर्माले ३ विकेट लिइन्। यस्तै खुशी डंगोल र कविता कुँवरले क्रमशः २/१ विकेट लिए। 

नेपालको तर्फबाट इन्दू बर्माले सर्वाधिक २३ रन बनाएर ‘प्लेअर अफ दी म्याच’ बनेकी छिन्। यस्तै, बिन्दू रावलले २० र काजल श्रेष्ठले १९ रन बनाइन्। कुवेतकी मरिअमा हैदरले चार, मरियम ओमरले २ र खदिजा खलिले एक विकेट लिए। 

चार देश सम्मिलित सिरिजमा नेपाल २ खेलमा ४ अंककासाथ शीर्षस्थानमा छ। सिरिजमा नेपालले तेस्रो खेल शुक्रबार मलेसियासॅंग खेल्नेछ। नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेटले हराएको थियो।