बाढीले पुल बगाएपछि जनजीवन कष्टकर, विद्यार्थीलाई बढी समस्या

टेम्केमैयुङ गाउँपालिका–९ स्थित राउतेखोलाको झोलुंगे पुल बाढीले बगाएपछि राउते, हिले, रुपाथुमकी र खानीगाउँका बालबालिकालाई विद्यालय आउजाउ गर्न समस्या भएको छ।

भोजपुर– टेम्केमैयुङ गाउँपालिका–९ स्थित राउतेखोलाको झोलुंगे पुल बाढीले बगाएपछि स्थानीयलाई समस्या भएको छ। एक गाउँबाट अर्को गाउँ जोड्ने पुल बाढीले बगाएसँगै स्थानीयको जनजीवन कष्टकर बनेको हो।

गत असार ८ गते आएको बाढीले राउतेखोलाको पुल बगाएपछि बालबालिका ज्यान जोखिममा राखेर विद्यालय जान बाध्य छन्। राउते, हिले, रुपाथुमकी र खानीगाउँका बालबालिकालाई दैनिक विद्यालय आउजाउ गर्न समस्या भएको सिंहदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक राजधन राईले जानकारी दिए। खोलामा ज्यान जोखिममा राखेर विद्यार्थी विद्यालय आउनुपर्ने स्थिति छ। 

“बाढीले पुल बगाउँदा जनजीवन प्रभावित भएको छ,” उनले भने, “बालबालिकालाई विद्यालयसम्म नै आउन कठिनाइ भएको छ। पानी परेको अवस्थामा झनै जोखिम छ।” खोलामा चाँडो पुल बनाइदिन स्थानीयले सरकारसँग माग गरेका छन्। 

ज्यान जोमिखमा राखेर खोला तर्नुपर्ने अवस्था रहेको कक्षा ११ मा अध्ययनरत दीपक विष्टले बताए। खोला तर्दा किताब, कपीसँगै कपडा भिज्ने गरेको विष्टको भनाइ छ। कहिलेकाहीँ बाटोमा हिँड्ने मानिसको सहायताले खोला पार गर्ने गरेको उनले सुनाए। 

“उर्लिएर आएको खोला तर्न ज्यानको बाजी लगाउनुपरेको छ,” उनले भने, “किताब, कपीसँगै कपडा भिज्दा पठनपाठन गर्न समस्या हुन्छ। दिनभर चिसो कपडामा बस्दा बिरामी परेको अवस्था पनि छ। कहिले किताब, कापी त कहिले जुत्ताचप्पल खोलामा बग्छन्। हामी ४०–५० जना साथी यसरी नै विद्यालय जानेआउने गरेका छौँ।”

अर्को ठाउँको पुलबाट विद्यालयसम्म दुई घण्टा बढी घुम्नुपर्ने अवस्था रहेको सिंहदेवी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत दुर्गाबहादुर विश्वकर्माले बताए। पुल बगाएपछि जनजीवन निकै कष्टकर बनेको टेम्केमैयुङ गाउँपालिका–९ का वडाध्यक्ष नभराज माङपाहाङ राईले बताए। 

बाढीले झोलुंगे पुल, सडकसँगै १६ वटा सिँचाइ कुलो बगाएको उनको भनाइ छ। यो खोलामा निर्माण भइरहेको पक्की पुलमा समेत क्षति पुर्‍याए वडाध्यक्ष माङपाहाङले जानकारी दिए। 

“झोलुंगे पुलसँगै यो खोला भएर बनेका सबै सडक बगाएको छ,” उनले भने, “सडक अवरोध हुँदा बालबालिका विद्यालय जान सकेका छैनन् भने सुत्केरी, ज्येष्ठ नागरिक, असक्तलाई उपचारका लागि अस्पताल लैजानसमेत समस्या भएको छ।”