हुप्सेकोटका पहिरोपीडित २ वर्षदेखि टहरामा

२०७८ असार २४ गतेको पहिरोले विस्थापित भएका १८ परिवारको स्थायी बसोबासको टुंगो लाग्न सकेको छैन। उनीहरू सरकारले दिगो व्यवस्थापन गरिदिने प्रतीक्षामा छन्।  

नवलपरासी– हुप्सेकोट गाउँपालिका–५ बागखोरकी २८ वर्षीया दिलमाया सोमैमगर झरी परेको दिन निदाउन सक्दिनन्।

दुई वर्षअघिको पहिरोले गाउँ नै भासिएपछि उनीसहित १८ घरपरिवार पूर्ण रूपमा विस्थापित भएको त्रासदीपूर्ण दिनको सम्झनाले पिरोलिरहन्छ। गाउँपालिकाले उद्धार गरेर सुरक्षित स्थानमा राख्यो। तर, अस्थायी शिविरमा आएपछि सुत्केरी भएकी दिलमायालाई आजभोलि विपद्का दिनसँगै सन्तान हुर्काउने चिन्ताले सताउने गरेको छ। 

“विस्थापित भएको दुई वर्ष भइसक्यो, दैनिकी कष्टपूर्ण बनेको छ,” उनले भने, “बच्चा यहीँको भुइँमा हुर्किएर दुई वर्षको भइसक्यो। तर, हाम्रो स्थायी बासको टुंगो लाग्न सकेन।”

सोही स्थानका खेमबहादुर सोमै मगरले १३ रोपनी जग्गासहितको घर, खेतबारी अनि घाँस–दाउरा गरेका दिन सम्झना आइरहने बताए। “एकै रातको पानीले जमिन भासिने र पहिरो जाने भएपछि गाउँपालिकाले उद्धार गर्दा ज्यान त बाँच्यो अब कसरी बाँच्ने भन्ने चिन्ता रहेको छ,” उनले भने।

प्राकृतिक विपत्तिले निम्त्याउने विविध समस्याको उच्च जोखिममा पर्ने हुँदा पहाडी र नदीतटीय क्षेत्रका बासिन्दालाई वर्षाको समयमा धेरै चिन्ताले सताउने गर्छ। दुई वर्षदेखि अस्थायी टहरामा बस्दै आएका हुप्सेकोटका पहिरो प्रभावित भने सरकारले दिगो व्यवस्थापन गरिदिने प्रतीक्षामा छन्। 

२०७८ असार २४ गते पहिरोले विस्थापित भएका घरपरिवारको स्थायी बसोबासको टुंगो लाग्न सकेको छैन। पहिरोका कारण पूर्ण रूपमा विस्थापित भएपछि विद्यालय र सामुदायिक भवन हुँदै अहिले दुई कठ्ठाको सानो चौरभित्र १८ परिवार बसेका छन्। एकातिर दुर्गन्ध, अर्कातिर बासको चिन्ता, बालबालिकालाई हावापानी र सर्पको टोकाइबाट जोगाउन समस्या हुने गरेको छ। 

अहिले उनीहरू हुप्सेकोट–१ जुकेपानीको एउटा सानो चौरमा बस्दै आएका छन्। हुप्सेकोटले निर्माण गरिदिएको अस्थायी घरमा आश्रय लिइरहेका छन्। विस्थापित १८ घरपरिवारको  दैनिकी ज्याला मजदुरी गरेर बितिरहेको छ। ब्लक र टिन लगाइएको एक–एक कोठा र एउटा टेन्ट उनीहरूको बास काट्ने थलो भएको छ।

बिहान–बेलुकाको छाक ज्याला मजदुरीकै भरमा काटे पनि यो बर्खा कसरी काट्ने चिन्ता उनीहरूमा छाएको छ। गत वर्ष पनि टेन्टकै भरमा खाली चौरमा जाडो काटेका उनीहरूलाई अहिले पनि टेन्ट सानो टहरो र खाली चौरमै काट्नुपर्ने बाध्यता छ। 

यो झरीमा खासगरी सुत्केरी महिला र ज्येष्ठ नागरिकको हेरचाहमा समस्या हुने गरेको तिलबहादुर सोमै मगरले बताए। “सानो एउटा कोठाभित्र आठदेखि १०–१२ जनाको परिवार बस्नुपर्ने बाध्यताले अहिले पिरोलिरहेको छ,” उनले भने, “हामीलाई कुनै ठाउँमा लगेर स्थायी बसोबासको व्यवस्था मिलाइदिए हुन्थ्यो।”

स्थायी व्यवस्थापनका लागि संघ र प्रदेश सरकारले पहल गर्नुपर्ने हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताइन्।