पोर्चुगललाई सेमिफाइनल पार गरेर इतिहास बनाउन रोनाल्डोको भर

च्याम्पियन्स लिगको इतिहासमा १४० गोल गर्दै कीर्तिमान बनाएका र रियल मड्रिड, युभेन्टस, म्यानचेस्टर युनाइटेडजस्ता विश्वका ठूला क्लबबाट खेलिसकेका रोनाल्डोले पोर्चुगललाई सन् २०१६ मा युरोकप जिताएका थिए।

तस्वीर: एमएससी फुटबल डटकम

काठमाडाैँ– पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो पाँच पटकसम्म विश्वकै उत्कृष्ट खेलाडी घोषित भए। उनी अन्तर्राष्ट्रिय फुटबलमा पुरुषतर्फ सबैभन्दा बढी गोल गर्ने खेलाडी पनि हुन्।

सर्वकालीन उत्कृष्ट फरवार्ड रोनाल्डोले यसपटक पनि आफूलाई अब्बल साबित गर्ने उद्देश्यका साथ कतार जाने बताएका छन्। सन् २००४ मा राष्ट्रिय टोलीमा डेब्यू गरेका रोनाल्डोले ग्रिसविरुद्ध पहिलो गोल गरेका थिए। आफ्नो खेल करिअरमा ८१८ र अन्तर्राष्ट्रिय खेलमा ११७ गोल गरेका छन्।

यस्तै उनले च्याम्पियन्स लिगको इतिहासमा १४० गोल गर्दै कीर्तिमान बनाएका छन्। तर, रियल मड्रिड, युभेन्टस, म्यानचेस्टर युनाइटेडजस्ता विश्वका सबैभन्दा ठूला फुटबल क्लबबाट खेलिसकेका रोनाल्डोलाई पछिल्लो समय भने आफूलाई साबित गर्नुपर्ने दबाब छ। म्यान्चेस्टर युनाइटेड र पोर्चुगलबीचको तानातान कतै उनको सानदार करिअरको नमिठो अन्त्य त हुने होइन? भन्ने प्रश्न उब्जन थालेका छन्।

युनाइटेडमा यो सिजन केवल ३ गोल गरेका छन्। यस्तै, रोनाल्डो र उनका प्रशिक्षक एरिक टेन ह्यागबीचको मनमुटावका विषय पनि लगातार सञ्चारमाध्यममा हेडलाइन बनिरहेका छन्। गत सिजन उनी २४ गोल गर्दै युनाइटेडका सर्वाधिक गोलकर्ता बनेका थिए। युभेन्टसबाट युनाइटेड गएपछिका सबै प्रतिस्पर्धामा उनले गोल गरेका थिए।

युनाइटेडमा उनको अनुबन्धन सन् २०२३ को जुनमा सकिन्छ। तर, उनको कार्यकाल लम्बाउने विकल्प भने युनाइटेडसँग छ। रोनाल्डोको नेतृत्वमा पोर्चुगलले हात पारेको सबैभन्दा ठूलो उपाधि सन् २०१६ को युरोकप हो। विश्वकप भने जित्न सकेको छैन। सन् २००६ मा विश्वकपको सेमिफाइनल खेलेको पोर्चुगल सन् २०१६ र २०१८ मा अन्तिम १६ सम्म पुगेको थियो।

सन् २०१४ मा समूह चरण नै पार गर्न सकेन। तर, पनि उनी कतार विश्वकपमा सबै बाधा छिचोलेर विश्वमञ्चमा उदाउनेमा समर्थक आशावादी छन्। रोनाल्डोले सेप्टेम्बरमा आयोजित एक कार्यक्रममा भनेका थिए, “ममा अझै पनि पुरानै क्रिस्टियानोको अंश छ। म युवा टोलीको एक भाग हुँ । यसपटकको विश्वकप र अर्को युरोकप खेल्न चाहन्छु।”

पाँचौ पटक विश्वकप खेल्न लागेका रोनाल्डो बलियो टोलीको नेतृत्व गर्दै कतार जाँदै छन्। अहिले उनको टोली 'राम्रो टोली'का रूपमा परिचित छ। तर, टोलीका अन्य सदस्यले विश्वका ठूला मैदानमा ठूलो उपलब्धि हासिल गर्न भने पाएका छैनन्। पोर्चुगल रोनाल्डोसँगै ब्रुनो फर्नान्डेज, जोआव क्यान्सेलो, रुवेन डियाज तथा बर्नान्डो सिल्भाजस्ता खेलाडीमा भर पर्नेछ।

समूह ‘एच’ मा रहेको पोर्चुगल अन्य टोलीहरू उरूग्वे, घाना र दक्षिण कोरियाभन्दा फिफा वरियताको हिसाबमा अगाडि छ। त्यसैले उसलाई समूह चरण पार गर्न सहज हुने अपेक्षा गरिएको छ। तर, उसको यात्रा भने अपेक्षा गरिएझैँ सहज भने हुनेछैन। पोर्चुगलले पहिलो खेल नोभेम्बर २४ मा घानाविरुद्ध खेल्नेछ।

घानामा इङ्लिस प्रिमियर लिगका चर्चित खेलाडीद्वय थोमस पार्टी र तारिक लाम्पटी रहेका छन्। दुवैजना जारी सिजनमा उत्कृष्ट लयमा छन्। पोर्चुगलका लागि समूह चरणमा सबैभन्दा ठूलो चुनौती भने १९३० को विश्व विजेता उरुग्वे हुनेछ। लुइस सुआरेजजस्ता खेलाडीले पोर्चुगललाई तनाव दिनसक्ने छन्। उसका लागि अर्को चुनौती दक्षिण कोरिया हो।

प्रिमियर लिग क्लब टोटेनहमका मुख्य खेलाडी सन ह्युङ–मिन रहेको कोरियाले विश्वकपमा नाटकीय जित निकाल्दै आएको छ। कोरियाले सन् २०१८ को विश्वकपमा जर्मनीलाई पराजित गर्दै सनसनी मच्चाएको थियो। पोर्चुगोलले समूह चरण पार गरे स्पेन, जर्मनी वा बेल्जियमविरुद्ध खेल्नुपर्ने हुन सक्छ।