सर्वोच्चका न्यायाधीश भट्टराई भन्छन्ः देवानी संहिता छिट्टै संशोधन गर्नुपर्छ

न्यायाधीश भट्टराईले प्रचलित देवानी संहितालाई महिला तथा बालमैत्री बनाउन यसको संशोधनको आवश्यकता औँल्याएका हुन्। 

तस्वीर सौजन्य: ल्याक नेपाल

ललितपुर– सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईले २०७४ सालमा जारी भई २०७५ भदौ १ गतेदेखि कार्यान्वनमा आएको मुलुकी देवानी संहिता संशोधन गर्न आवश्यक रहेको बताएका छन्। 

कानूनी सहायता तथा परामर्श केन्द्र (ल्याक) को ३७औँ वार्षिकोत्सव समारोहमा बोल्दै न्यायाधीश भट्टराईले प्रचलित देवानी संहिता (ऐन) लाई महिला तथा बालमैत्री बनाउन यसको संशोधनको आवश्यकता औँल्याएका हुन्। अबको ५/६ महिनापछि देवानी संहिता संशोधनको प्रक्रियामा जाने विश्वास उनले व्यक्त गरे। 

न्यायाधीश भट्टराईले त्यस अवसरमा ‘ल्याक महिला हक हेल्पलाइन’मा दर्ता भएका घटना र लेखहरू समेटिएको ‘ल्याक लेन्स पुस्तक’ को पनि विमोचन गरे। 

कार्यक्रममा कानूनी सहायता तथा परामर्श केन्द्र (ल्याक) की अध्यक्ष अनिता न्यौपाने थपलियाले कार्यक्रममा संस्थाकी संस्थापक अध्यक्ष स्व. प्रा. डा. शान्ता थपलियाको स्मरण गर्दै महिलामाथि गरिने विभेदपूर्ण व्यवहार र सबै प्रकारका हिंसाविरुद्ध आवाज उठाइरहने प्रतिवद्धता व्यक्त गरिन्। महिलाको नेतृत्व विकास र न्यायमा पहुँच सजिलै पुगोस् भन्ने उद्देश्यका साथ स्थापना भएको ल्याकले आफ्नो क्रियाशीलतालाई अझ व्यापक बनाउने उनको दृढता थियो।  

महिलाको न्यायमा सहज पहुँच बढाउन निःशुल्क कानूनी सहायता लगायतका कार्यक्रम गर्दै आएको अनुभव राख्दै थपलियाले भनिन्, “महिलाको हक अधिकार र हिंसा नियन्त्रणका लागि बनेका कानूनी व्यवस्थाहरूको बारेमा कम जानकारी हुँदा न्यायमा पहुँच पुग्न सकिरहेको छैन। यो अवस्था अन्त्यको लागि सबै सरोकारवालाहरूबीच सहकार्यको खाँचो छ।”

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिली थापाले नेपालको हरेक संयन्त्रमा पितृसत्तात्मक सोच रहेकै कारण महिला हिंसा न्यूनीकरण गर्न चुनौती थपिएको बताइन्। “कानूनी अधिकारको लडाइँमा लाग्ने ठूलो खर्चका कारण न्याय पाउन नसकेका धेरै महिलाहरूलाई सहायता गर्न ल्याकजस्ता संस्थाहरू अरू पनि आउनुपर्छ,” उनले भनिन्।  

महिला गैरसरकारी संस्था महासंघकी उपाध्यक्ष तुलसा लता अमात्यले २०५२ सालदेखि नै पैतृक सम्पत्ति पाउनुपर्ने आन्दोलन गर्दै आएका महिलाहरूको अवस्थामा आजसम्म पनि परिवर्तन नआउनु दुखद् रहेको बताइन्। अमात्यले भनिन्, “महिला र पुरुषको समान सहभागिताका लागि अब युवा पुस्ता जागरुक भएर पुस्तान्तरण, हस्तान्तरण र रूपान्तरणको अभियान चलाउनुपर्छ।” 

वार्षिकोत्सवका अवसरमा ल्याकमा विगत २३ वर्षदेखि कार्यरत कार्यालय सहायक हरिमाया थापा, वरिष्ठ लेखापाल सीता वस्याल र लेखा अधिकृत सगुन सत्याललाई उत्कृष्ट कर्मचारीका रूपमा पुरस्कृत गरियो। 

कानूनी सहायता तथा परामर्श केन्द्र (ल्याक) न्यायमा महिला तथा बालबालिकाको पहुँच अभिवृद्धि, महिला सशक्तीकरण, नेतृत्व विकास तथा क्षमता अभिवृद्धिका लागि क्रियाशील संस्था हो।