कक्षा १२ को नतिजा मंगलबार साँझसम्म सार्वजनिक गर्ने तयारी

देशभरका एक हजार ४५७ परीक्षा केन्द्रबाट चार लाख ६७ हजार ३८९ विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका थिए।

भक्तपुर– राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा सार्वजनिक गर्न तयारी गरेको छ। 

गत वैशाख २६ गतेदेखि शुरू भई जेठ ५ गते सम्पन्न भएको परीक्षाको नतिजा मंगलबार साँझसम्म सार्वजनिक गर्ने गरी अन्तिम तयारी भइरहेको बोर्डले जनाएको छ। 

“प्राविधिक समस्या आए मात्रै भोलिका लागि सर्नेछ, अन्यथा आजै नतिजा सार्वजनिक हुनेछ,” बोर्डका अध्यक्ष डा महाश्रम शर्माले भने। साउन महिनाभित्रै नतिजा सार्वजनिक गर्ने तालिका रहेको उनले बताए। भने, “बोर्डले साउन भित्रै नतिजा सार्वजनिक गर्ने गरी तालिका तयार पारेको थियो, त्यसैबमोजिम नतिजा सार्वजनिक गर्ने गरी अन्तिम तयारीमा पुगेका छौँ, विद्यार्थीको मार्कसिटलगायतमा त्रुटि नहोस् भनेर अन्तिम रुजु गर्ने काम भइरहेको छ।”

देशभरका एक हजार ४५७ परीक्षा केन्द्रबाट चार लाख ६७ हजार ३८९ विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका थिए। यस्तै, ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका थिए। 

बोर्डले विद्यार्थीको प्राप्तांक इन्ट्री र रुजु गरिसकेको छ। प्रत्येक विषयको सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत अंक प्राप्त गरेमात्रै विद्यार्थीले ग्रेडसिट प्राप्त गर्ने व्यवस्था गरिएको छ। 

गत वर्ष कक्षा १२ मा ४९ प्रतिशत विद्यार्थीले मात्र ग्रेडसिट प्राप्त गरेका थिए। लेटर ग्रेडिङ निर्देशिकामा संशोधन गरेर जुन विषयमा 'एनजी' हुन्छ त्यही विषयमा मात्रै ग्रेड वृद्धि परीक्षा दिन पाउने व्यवस्था छ।

यसअघि दुईभन्दा बढी विषयमा 'एनजी' आए अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने बाध्यता थियो।