त्रिशूलीको बाढीले धादिङ र गोरखा जोड्ने झोलुंगे पुलमा क्षति: ९४ घरधुरी प्रभावित

पुलमा क्षति पुग्दा गण्डकी र बेनीघाट रोराङ गाउँपालिकाका किसानले तरकारी तथा फलफूल बिक्री गर्न बजार पुर्‍याउन पाएका छैनन् भने विद्यार्थी विद्यालय जान सकेका छैनन्।

मलेखु– त्रिशूली नदीमा आएको बाढीले धादिङ र गोरखा जोड्ने दुई वटा झोलुंगे पुलमा क्षति पुगेको छ।

यसको मारमा किसान र विद्यार्थी परेका छन्। किसानले तरकारी तथा फलफूल बिक्री गर्न बजार पुर्‍याउन पाएका छैनन् भने विद्यार्थीहरू विद्यालय पुग्न सकेका छैनन्।

गण्डकी गाउँपालिकाको भुम्लिचोक र ध्याल्चोकका किसानले बारीमा उत्पादन गरेका तरकारी सोही झोलुंगे पुलबाट मुख्य सडकसम्म पुर्‍याउँदै आएका थिए। उनीहरूको तरकारिको बजार काठमाडौँ चितवनलगायतका क्षेत्र थिए।

यस पुलबाट तरकारी लिएर बजार आउने  ९४ घरधुरी किसान बजारसँगको सम्पर्क विच्छेद भएको स्थानीय सीता गिरीले बताइन्। पुलमा ओहोरदोहोर गर्न नसक्दा गण्डकी गाउँपालिका र बेनीघाट रोराङ गाउँपालिका बासिन्दालाई समस्या भएको छ।

पुलमा क्षति पुगेपछि मझिमटारमा रहेको शंखादेवी माविमा पढ्ने गोरखाका विद्यार्थी विद्यालय आउन पाएका छैनन्। गोरखाबाट धादिङको बेनीघाटस्थित शंखादेवी माविमा आउने मात्रै २२ विद्यार्थी रहेको शिक्षक तिलक चेपाङले बताए। उनीहरूलाई वैकल्पिक बाटो प्रयोग गर्दा दैनिक चार घन्टाभन्दा बढी समय पैदल हिँड्नुपर्छ।

त्रिशूली नदीमा आएको बाढीले धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ चरौँदी र गोरखाको गण्डकी गाउँपालिका–७ जोड्ने त्रिशूली नदीमाथिको झोलुंगे पुलमा क्षति भएको छ। यस्तै धादिङको बेनीघाट रोराङ–१० र गोरखाको गण्डकी–६ जोड्ने हिक्लुङघाटको झोलुंगे पुलमा पनि क्षति पुगेको छ।

दुवै पुलका केही डन्डी भाँचिएको छ भने लट्ठा झोल्लिएको छ। बाढीले बगाएर ल्याएका काठ दाउरा पुलमा अड्किएको छ। बाढीले हिर्काएर हिक्लुङघाटमाथिको झोलुंगे पुलको ट्रस नै बगाएको छ।