कर्णाली नदीले टीकापुर पार्क सिमानामा बनाइएको तटबन्ध कटान तीव्र पारेको छ। यहाँको तटबन्ध भत्किएमा टीकापुरको वडा नं ५, ६, ७, ८ र ९ वडा पूरै डुबानमा पर्ने सम्भावना छ।
टीकापुर– कैलालीको टीकापुर–५ टीकापुर उद्यान (पार्क) नजिक कर्णाली नदीले कटान तीव्र बनाएको छ।
नदीले टीकापुर पार्क सिमानामा बनाइएको तटबन्धको कटान तीव्र पारेकाले बस्ती जोखिममा परेको हो। पार्क क्षेत्रमा कर्णाली नदी तटबन्ध भत्किएमा टीकापुरको वडा नं ५, ६, ७, ८ र ९ वडा पूरै डुबान तथा कटानमा पर्ने सम्भावना छ।
नदी बस्तीमा पसेमा हजारौँ परिवारको उद्धार गर्नुपर्ने, हजारौँ बिघा धानबाली नष्ट हुने खतरा बढेपछि बस्ती जोगाउन जैविक तटबन्ध गरिने भएको छ। टीकापुर नगरपालिका विपद् व्यवस्थापन समितिको बैठकले रानी जमरा सिँचाइ आयोजनाको सहयोगमा स्थानीयलाई परिचालन गरी जैविक तटबन्ध गर्ने निर्णय गरेको छ।
नदी कटान तीव्र हुँदा सिँचाइ आयोजनाले कर्णाली नदीका केही स्थानमा बिग बोल्डर (ठूला ढुंगा)सहितको तटबन्धका लागि ठेक्का दिएको थियो। आयोजनाले जानकी गाउँपालिकाको खैरीफाँटा, टीकापुर नगरपालिका–५ पार्क क्षेत्र, दौलतपुर र वडा नं ८ को वनगाउँमा बिग बोल्डर राखेर तटबन्ध गर्न गएको चैत महिनामा सम्झौता गरेको थियो। खैरीफाँटामा गाल्वा निर्माण सेवाले काम थाले पनि पार्क क्षेत्रमा ठेक्का पाएको मस्ट्रा विल्डर्स धनगढीले समयमा काम नगर्दा बस्ती खतरामा परेको हो।
आयोजनाले टीकापुर पार्क क्षेत्रमा चैतमा ठेक्का लिएको निर्माण कम्पनी मस्ट्रा विल्डर्स धनगढीलाई पटक–पटक बोलाउँदा पनि तटबन्धको काम नगर्दा अहिले बस्ती उच्च जोखिममा रहेको आयोजनाका प्रमुख केदारकुमार श्रेष्ठले बताए। “हामीले जोखिम बढेकाले चैतमै ठेक्का गरेका हौँ,” उनले भने, “निर्माण कम्पनीले नटेर्दा यो समस्या निम्तिएको हो। साथै ठूला ढुंगा पाउन पनि समस्या भएको छ।”
नदीले धार परिवर्तन गरेकाले विगतमा भएका तटबन्ध नदीले रोक्न नसक्ने भएकाले आयोजनाले आजभोलि बिग बोल्डरसहित तटबन्ध गर्न थालेको छ। स्थानीय तहले मनोमानी नदी उत्खनन गरेकाले आज समस्या भएको आयोजना प्रमुख श्रेष्ठको भनाइ छ।
शनिबार सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले कटान क्षेत्रको अनुगमन गरेका छन्। नदी नियन्त्रणका लागि प्रदेश सरकारले सक्दो पहल गर्ने उनले आश्वासन दिए। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको सूचनाअनुसार शनिबारदेखि आगामी तीन दिन भारी वर्षाको सम्भावना रहेकाले कर्णाली नदीको पार्क क्षेत्र, दौलतपुरमा जोखिम बढेको छ।
पार्क क्षेत्रमा टीकापुर नगरपालिकाले सिँचाइ आयोजनाको सहयोगमा स्थानीय बासिन्दा, प्रहरी, नेपाल रेडक्रस सोसाइटी, राजनीतिक दलका कार्यकर्ता, बरघर, कुला समितिका उपभोक्ताको सहयोगमा तटबन्ध गर्ने भएको छ।
तटबन्धका लागि आवश्यक बोरालगायतका सामग्री सिँचाइ आयोजनाले सहयोग गर्ने, झालापाता, बाँस सामुदायिक वनबाट सहयोग लिने, प्राविधिक जनशक्ति जिल्ला विपद् व्यवस्थापन समितिसँग माग गर्ने टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारुले बताए। “नदी समयमै नियन्त्रण गर्न नसके टीकापुर बाढीले सकिन्छ,” उनले भने, “नदी फुटेमा हामीले उद्धार तथा राहतका कार्य गर्न पनि नसक्ने अवस्था हुन्छ।”
जानकी गाउँपालिका–९ स्थित पूर्वी खैरीफाँटा तथा शिवशक्ति सामुदायिक वन नजिक कर्णाली नदी कटान भइरहेकाले टीकापुर नगरपालिका–१, २, ३, ६ र ७ बाढीबाट क्षतिको जोखिममा छन्। पालिकाले सो स्थानमा नदी व्यवस्थापनका लागि रानी जमरा सिँचाइ आयोजना र जानकी गाउँपालिकालाई अनुरोध गरेको छ।
पालिकाले नागरिकलाई सुरक्षित रहन आग्रह गर्दै ‘साइरन’ बजाउने, मोबाइलमा ‘म्यासेज’ गर्नेलगायत कार्य शुरू गरेको छ। वर्षा निरन्तर भइरहेकाले आवश्यक कागजात सुरक्षित गर्न, जोखिममा रहेका नागरिक गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक र अपांगता भएकालाई सुरक्षित तथा तयारी अवस्थामा राख्न आग्रह गरिएको विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीले बताइन्।
“सबै सरोकारवालालाई तयारी अवस्थामा रहन अनुरोध गरेका छौँ । पालिकामा रहेका जनशक्तिलाई पनि तयारी राखेका छौँ,” उनले भनिन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
