एएफसी कपको प्रारम्भिक चरणमा मछिन्द्र फुटबल क्लबले मंगलबार भुटानको पारो एफसीसँग प्रतिस्पर्धा गर्दै छ। दुवै टोली एएफसी कपको दोस्रो चरणमा पुग्ने लक्ष्यसाथ मैदान उत्रिँदै छन्।
काठमाडौँ– मछिन्द्र फुटबल क्लबलाई लगातार दुई (२०७६ र ०७८) सिजन शहीद स्मारक ‘ए’ डिभिजन लिग जिताएका मिडफिल्डर सुनिल बल र राइट विंगर मनिष डाँगी अघिल्लो सिजन संकटा क्लब पुगे। मिडफिल्डर विशाल राई लिगअगाडि नै अस्ट्रेलिया उडे भने कप्तान सुजल श्रेष्ठ र डिफेन्डर रजिन धिमाल पनि लिग चल्दाचल्दै सोही बाटो समाए।
लिगअगाडि कागजी रूपमा बलियो देखिएको मछिन्द्र एकाएक कमजोर बन्यो। उनीहरूको स्थान परिपूर्ति गर्न सक्ने खेलाडी नै मछिन्द्रले पाएन। मछिन्द्र विमल घर्तीमगर, चेन्चो ग्याल्सेन र ओलाओले अफिजमा पूर्ण निर्भर रह्यो। तर, लिगका क्रममा विमल र चेन्चोले चोट बोक्दा मछिन्द्रले खेलमा उत्कृष्ट फिनिसिङ देखाउन पाएन र दोस्रो स्थानमा खुम्चियो।
यद्यपि, बढुवा भएको पहिलो सिजन नै लिग जितेको चर्च ब्वाइजले एएफसी क्लब लाइसेन्स नपाउँदा मछिन्द्रले दोस्रो पटक एएफसी कप खेल्ने मौका पाएको छ। उसले मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एएफसी कपअन्तर्गत प्रारम्भिक चरणको पहिलो खेलमा भुटानको पारो एएफसीसँग खेल्दै छ। यसपटक दोस्रो चरणमा पुग्ने लक्ष्य बनाएको मछिन्द्र ‘ए’ डिभिजन लिगमा देखिएका कमीकमजोरीलाई सुधार्ने लक्ष्यमा छ।
यसपटक मछिन्द्रले लिग खेल्दाको आफ्ना १५ खेलाडीलाई निरन्तरता दिँदै संकटा, चर्च ब्वाइज, थ्रीस्टार, एपीएफ र एफसी खुमलटारबाट ८ नयाँ खेलाडीलाई जम्मा गरेर बलियो टोली बनाएको छ। जसले गर्दा लिगमा देखिएको कमीकमजोरीमा सुधार आउने अपेक्षा गरिएको कप्तान विशाल श्रेष्ठ बताउँछन्।
“हाम्रो जुन जुन पोसिसनमा कमजोरी देखिएको थियो त्यसलाई सुधार गर्न नयाँ खेलाडी भित्र्याएका हौँ। अहिले राम्रै भएको छ। हामीले दुई हप्ता प्रशिक्षण गरेका थियौँ। यसबीचमा पानी पर्यो, प्रशिक्षण गर्न पाएनौँ। तर, टोली सेभमा आइसकेको छ,” उनले भने।
२३ सदस्सीय टोली बनाएको मछिन्द्रले राष्ट्रिय टोलीका विंगरद्वय आयुश घलान र आशिष चौधरी, मिडफिल्डद्वय लेकेन लिम्बू र एरिक विष्ट तथा डिफेन्डर सनिश श्रेष्ठ भित्र्याएको छ। यसबाहेक एफसी खुमलटारका फरवार्डद्वय मेसुके ओलोमउ, रेजिन सुब्बा तथा रोहित सुब्बा लोनमा मछिन्द्रमा भित्रिएका छन्। आशिष र एरिक चर्च ब्वाइजबाट लिग खेलेका थिए भने आयुशले संकटा र सनिशले एपीएफबाट खेलेका थिए।
उनीहरूको आगमनसँगै मछिन्द्र बलियो बनेको कप्तान श्रेष्ठ बताउँछन्। “पहिला पनि राम्रो भइसकेको थियो। तर, बीचमा केटाहरू अस्ट्रेलिया गयो। त्यसपछि अलिक बिग्रियो। अहिले आयुश, लेकेन र आशिष आएको छ। लिगमा उनीहरूको राम्रो प्रदर्शन थियो। यता, विमल पनि चोटबाट रिकभर हुँदै छ। यसले हामीलाई फाइदा पुर्याउँछ,” उनले भने।
२०७५ सालमा लिगको अनिवार्य पक्ष रेलिगेसनको प्रावधान कायम रहेको भए मछिन्द्रले त्यही सिजन शीर्ष डिभिजनको हैसियत गुमाइसकेको हुन्थ्यो। उक्त सिजन मछिन्द्रले १३औँ स्थानमा रहँदै लिग अन्त्य गर्यो। जसको कारण मछिन्द्रले चर्को आलोचना भोग्न पर्यो। अर्को वर्ष लिग हुँदा राष्ट्रिय टोलीबाट खेलिसकेका मनाङ र थ्रीस्टारका स्टार खेलाडी बटुलेर बलियो टोली बनाएको मछिन्द्रले लिग जित्यो। तर, लिग जिते पनि मछिन्द्रले एएफसी क्लब लाइसेन्स नपाउँदा एएफसी कप खेल्ने अवसर गुमायो।

२०७८ सालमा मछिन्द्र पुनः लिग विजेता बन्यो। तर, लिग विजेताको हैसियतमा एएफसी कपको प्रारम्भिक छनोट खेलेको मछिन्द्र पहिलो चरणमै श्रीलंकाको ब्लु स्टारसँग २–० गोल अन्तरको हार बेहोर्दै प्रतियोगिताबाट बाहिरियो। यसपटक कम्तिमा दोस्रो चरणमा पुग्ने लक्ष्य लिएको मछिन्द्रसँग १० जना त फरवार्ड नै छन्। तिनको व्यवस्थापन गर्न गाह्रो रहे पनि उत्कृष्ट तीनलाई खेलाएर राम्रो नतिजा ल्याउने लक्ष्यमा रहेको सुनाउँछन् मुख्य प्रशिक्षक किशोरकुमार केसी।
“१० जना फरवार्ड छन्। तर, १० जनालाई हामी प्रयोग गर्दैनौँ। रेयर पोसिसनमा रेयर तीन खेलाडीलाई मात्रै खेलाउँछौँ,” उनी भन्छन्। मछिन्द्रलाई यसपटक बलियो फरवार्ड लाइनको साथ हुने छ। २०७८ को लिग मनाङबाट खेलेका ओलावालेले अघिल्लो सिजन मछिन्द्रका २२ खेलमा २३ गोल गरे। उनी ‘ए’ डिभिजन लिगका सर्वाधिक गोलकर्ता हुन्। मछिन्द्रले भित्र्याएका क्यारूनका लेफ्ट विंगर मेसुके पनि उत्तिकै प्रभावकारी छन्। उनले अघिल्लो सिजन २३ खेलमा १८ गोल गरेका थिए। यद्यपि, मेसुके भने पारोविरुद्धको उपलब्ध हुने या नहुने अझै टुंगो लागिनसकेको मुख्य प्रशिक्षक केसी बताउँछन्।
‘ए’ डिभिजन लिग सकिएपछि फुर्सदिला बनेका मेसुके ‘खेप’ खेल्न पश्चिम सिक्किमको नाम्थाङ पुगेका थिए। उनी प्रतिखेल ३५ हजार भारु पाउने गरी एसे मार्मिङ क्लबमा आबद्ध भएको उनीनिकट स्रोत बताउँछ। ३ खेल खेलिसकेका उनले प्रतियोगितामा ३ गोलसहित १ असिस्ट दिइसकेका छन्। सिक्किम हुँदै भारतीय लिगमा प्रवेश गर्ने लक्ष्य बुनेका उनीसँग मछिन्द्रले कागजी प्रक्रिया पूरा गर्न नसकेको मुख्य प्रशिक्षक केसी बताउँछन्।
यद्यपि, उनी मछिन्द्रलाई आवश्यक पर्ने खेलाडी भएको हुँदा सोमबार बेलुकासम्म कुर्ने केसी बताउँछन्। “मेसुके स्तरीय खेलाडी भएको कारण कुरिरहेका छौँ। आज भरेसम्म कागजी प्रक्रिया पूरा हुन्छ भने एक दिन विश्राम लिएर उनलाई उतार्ने सोच छ,” उनले भने।
हुन् त पारो एफसी पाँच वर्षअघि मात्रै गठन भएको क्लब हो। तर, २०१८ मा गठन भएको पारो त्यही वर्षको छनोटबाट भुटान प्रिमियर लिगमा बढुवा भएको थियो। पहिलो सहभागितामै उपविजेता बनेको पारोले त्यसयता सन् २०१९, ०२१ र ०२२ मा तीन पटक प्रिमियर लिगको उपाधि जितिसकेको छ। २०२० मा भने पारो तेस्रो भएको थियो।
अघिल्लो सिजन केसीकै प्रशिक्षणमा जावलाखेल यूथ क्लबबाट खेलेका डिफेन्डर फ्लोरेन्ट कोआरासहित जापानी फरवार्ड काजुओ होम्मा, क्यारुनका मिडफिल्डर स्टेफन डाङसहितका स्तरीय विदेशी खेलाडी पारोमा छन्।

जापान, सर्विया, हंगेरी, लाओस र थाइल्यान्डका विभिन्न क्लबमा खेलेर अनुभव बटुलेका काजुओ गत सिजन पारोमा आबद्ध भएका हुन्। उनले गत सिजन १८ खेलमा ३४ गोल गरेका थिए।
यस्तै, उनीसँग लाओसको एफसी चन्थाबौलीबाट एएफसी कप खेलिसकेको अनुभव पनि छ। उनले सन् २०१९ मा चन्थाबौलीबाट ६ खेलमा ४ गोल गरेका थिए। यसबाहेक पनि भुटानको राष्ट्रिय टोलीका खेलाडी क्लबमा रहेको हुँदा पारोलाई कमजोर नआँकेको मछिन्द्रका प्रशिक्षक केसीले बताए।
“काजुओ, डाङ र फ्लोरेन्ट राम्रो खेलाडी हुन्। फ्लोरेन्टसँग जावलाखेलमा मैले पनि केही समय बिताएँ। उनले आक्रमणले समस्या दिन सक्छ भने लिडरसिप पनि लिन सक्छन्,” उनले भने।
पारोले तेस्रो पटक एएफसी कपमा सहभागिता जनाउन लागेको हो। सन् २०२० मा पहिलो सहभागितामै पारो दोस्रो चरणमा पुगेको थियो। पारोले पहिलो चरणमा श्रीलंकाको डिफेन्डर फुटबल क्लबलाई समग्रमा ५–५ गोलको बराबरीमा रोक्दै दोस्रो चरणमा प्रवेश गरेको थियो। तर, दोस्रो चरणमा पारो इन्डियन सुपर लिग खेल्ने बैंग्लोर एफसीसँग समग्रमा १०-१ गोल अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो।
त्यसको दुई वर्षपछि एएफसी कपमा सहभागिता जनाएको पारो मालदिभ्सको भ्यालेन्सिया क्लबसँग २–१ गोल अन्तरले पराजित हुँदै पहिलो खेलबाटै बाहिरियो। मछिन्द्रलाई पराजित गर्ने लक्ष्यसाथ नेपाल उत्रिएको पारोले तीन महिनादेखि नै अभ्यासरत रहेको फ्लोरेन्स बताउँछन्।
“हामीले तीन महिलादेखि अभ्यास गरिरहेका थियौँ। हामी यहाँ जित्न आएका हौँ। मछिन्द्रले राष्ट्रिय टोलीका खेलाडी भित्र्याएको छ। विदेशी खेलाडी पनि राम्रो छ। तर, हामीले पनि तयारी राम्रो गरेका छौँ। जितेर जान्छौँ,” उनले भने।
मुख्य प्रशिक्षक पुष्पलाल शर्माले नेपाल आएदेखि राम्रो प्रशिक्षण गर्न नपाएको बताए। पारो शनिबार नेपाल उत्रिएको थियो। उसले आइतबार र सोमबार च्यासल मैदानमा प्रशिक्षण गरेको थियो। तर, अविरल वर्षाका कारण प्रशिक्षण प्रभावित बनेको शर्माले बताए। यद्यपि, फुटबलमा कुनै ‘एक्सक्युज’ नपाउने भन्दै अर्को चरणमा पुग्ने आशा राखेको शर्माले बताए।
“हामी आएदेखि राम्रो प्रशिक्षण गर्न पाएका छैनौँ। तर, हामीले तीन वटा लिग खेलेका छौँ र पूर्ण रूपमा तयार छौँ। हामी अर्को चरणमा पुग्नेमा आशावादी छौँ,” शर्माले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
