सभामुख देवराज घिमिरेले सदनको अवरोध हटाउने विषयमा सोमबार शीर्ष दलका नेताहरूसँग छलफल गर्ने भएका छन्।
काठमाडौँ– सभामुख देवराज घिमिरेले सदनको अवरोध हटाउने विषयमा शीर्ष दलका नेताहरूसँग छलफल गर्ने भएका छन्। सोमबार संसद् बैठक बस्नअघि शीर्ष दलका नेतासँग छलफल गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जानकारी दिएको छ।
सभामुख घिमिरेले आइतबार सदनको अवरोध हटाउने विषयमा सचेतकहरूसँग छलफल गरेका थिए। तर छलफलमा सत्तापक्ष र प्रतिपक्ष दुवैले सुन तस्करी प्रकरणका विषयमा आ–आफ्नो अडान कायम राखेपछि उनले सोमबार अपराह्न १२ बजे शीर्ष दलका नेतासँग सदन अवरोधको निकास खोज्न बैठक तय गरेका हुन्।
आइतबारको बैठकमा सत्तापक्षका सचेतकहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्णयअनुसार नै भ्रष्टाचारको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समितिको आवश्यकता नभएको बताएको थियो। उनीहरूले सरकारी निकाय नै पर्याप्त भएको अडान लिएका थिए।
प्रतिपक्षका सांसदले अहिलेको सरकारी संयन्त्रले छानबिनको काम गर्न नसक्ने र ठूला दलका नेतालाई अनुसन्धानको दायरामा ल्याउन नसक्ने बताएका थिए। उनीहरूले उच्चस्तरीय छानबिन समिति गठन गरौँ भन्ने पक्षमा अडान लिए।
सभामुखको कार्यकक्षमा भएको छलफलमा नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, नेकपा(एमाले) का सांसद लीलानाथ श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार, जनता समाजवादी नेपालका प्रमुख सचेतक प्रदीप यादव र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाही सहभागी थिए। नेकपा (माओवादी केन्द्र) का प्रतिनिधि सहभागी थिएनन्।
नेकपा (एमाले) सचेतक महेशकुमार बर्तौलाले सदनको अवरोध हटाउन सभामुखले शीर्ष नेताको तहमा पहल गर्नुपर्ने बताए। उनले सत्तापक्षले संवादबाट निकास खोज्न तयार नरहेको बताए। उनले भने, “अवरोध हामीले होइन सत्तापक्षको अडानले गर्यो। उच्चस्तरीय छानबिन समिति गठनको मामिलामा हामी लचक हुँदैनौँ, हामीले उठाएको मागलाई सम्बोधन गरेर सदन अघि बढाउनुपर्छ।”
रास्वपाका प्रमुख सचेतक परियारले आजको बैठकमा शीर्ष दलका नेताहरूबाटै यस विषयलाई टुंगोमा पुर्याउन सभामुखलाई सुझाव दिएको बताए। उनले भने, “प्रमुख सचेतकहरू मात्र बसेर पनि विषयले टुंगो नपाएपछि हामीले सभामुखलाई शीर्ष नेताबीच छलफल गर्न सुझाव दिएका हौँ।”
सत्तापक्ष र प्रतिपक्षको बीचमा सदन अवरोध गर्न नहुने धारणा राख्दै आएको रास्वपाले उच्चस्तरीय छानबिन समिति गठन गर्नमा सरकार लचक हुनुपर्ने बताउँदै आएको छ। “हिजो अस्ति हामी जहाँ थियौँ त्यही छौँ। सत्तापक्ष र प्रतिपक्षका बीच सदन बन्दी बन्नुहुन्न, जनताका मुद्दा बिर्सिन्न हुँदैन”, प्रमुख सचेतक परियारले भने, “सदन चल्नुपर्छ र अर्कातर्फ सरकारले सुन तस्करी प्रकरणको विषयलाई टुङ्गोमा पुर्याउनुपर्छ।”
प्रतिपक्ष एमालेका सांसदले यही साउन १० गतेदेखि संसद् बैठक सञ्चालनमा अवरोध गर्दै आएको छ। सोमबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभाको बैठक तय गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
