तनहुँमा गत वर्ष ५०० हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट ४५० मेट्रिक टन कागती उत्पादन भएको थियो। तर, कागतीले बजार नपाउँदा किसान निराश छन्।
दमौली– तनहुँ जिल्लामा उत्पादित कागतीले बजार नपाउँदा कृषक निराश भएका छन्।
व्यावसायिक रूपमा खेती गरे पनि कागतीले बजार नपाएको देवघाट गाउँपालिका–२ बिरौटा खाल्टेका मनिष मल्ल ठकुरीले बताए। “स्वदेशमै केही गरौँ भन्ने भावनासहित यो पेसामा लागेको छु, बजार खोज्दै भौँतारिनुपर्ने अवस्था आउँदा समस्या भइरहेको छ,” उनले भने।
पाँच वर्ष अगाडिदेखि कागतीखेती थालेका ठकुरीले पछिल्ला दुई वर्षयता कागती बिक्री गर्न थालेका छन्। गत वर्ष पहिलोपटक ७० हजारको कागती बिक्री भएको उनले बताए। यो वर्ष ७०० केजी बिक्रीका लागि तयार भएका छन्। “उत्पादन लिन थालेको दुई वर्ष भयो, गत वर्ष ७० हजारको कागती बिक्री गरेँ। यस वर्ष ७०० किलो उत्पादन भएको छ,” उनले भने, “गत वर्षको कागती दमौली बजारमै बिक्री भए पनि यो वर्षको भने बजार समस्या देखिएको छ।”
भारतबाट आउने कागतीका कारण स्थानीयस्तरमा उत्पादित कागतीले बजार नपाएको उनको भनाइ छ। उनले भने, “स्वदेशमै केही गरौँ भन्ने लक्ष्यसहित लागेको छु, बजार नपाउँदा निराश भए पनि आँट मारिसकेको छैन।” ठकुरीले गत वर्ष प्रतिकिलो ८० रुपैयाँमा बिक्री गरेको थियो। यो वर्ष पनि सोही हाराहारीको लक्ष्य छ। “चितवनमा बुझ्दा किलोको ६० रहेछ, अलि थोरै भएपछि पोखरामा बिक्री गर्ने सोच बनाएको छु। सबैभन्दा बढी आउँदा १०० रुपैयाँसम्म पनि आएको छ,” उनले भने।
२०६७ सालमा वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका ठकुरी २०७० मा स्वदेश फर्किए। त्यसपछि २० रोपनी क्षेत्रफलमा कागतीखेती थालेका हुन्। हालसम्म १५ लाख लगानी भइसकेको उनको भनाइ छ।
उनको कागती बगैँचामा ५०० बोट छन्। कागतीखेतीका लागि आफूसहित बुवाआमा खटिएको उनले बताए। कागतीखेतीका लागि कृषि ज्ञान केन्द्रबाट सहयोग भए पनि स्थानीय तहबाट सहयोग पाएका छैनन्। कागतीको बजारीकरणका लागि बाटोको पनि मुख्य समस्या रहेको उनको भनाइ छ। कागती बगैँचादेखि दुई किलोमिटर दूरीसम्म मान्छेले बोकेर लैजानुपर्ने समस्या छ। “बाटो त छ गाडी जान सक्ने छैन, जसले गर्दा बोकाएर लैजानुपर्छ। कागतीले उचित मूल्य त पाएन नै बजार व्यवस्थापनमा पनि धेरै खर्च हुन थाल्यो,” उनले भने।
बाटोको समस्या समाधानका लागि गाउँपालिकालाई पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ भएको छैन। कृषिमा लागेका युवालाई स्थानीय तहले प्रोत्साहन नगरेको उनको अनुभव छ।
कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले कागतीको बजारीकरणका लागि पहल गरिरहेको बताए। “उत्पादन गरायो बजार नै पाउन गाह्रो, बाटो पनि छैन,” उनले भने, “कागतीको बजारीकरणका लागि केही गर्न सकिन्छ कि भनेर प्रयास गरिरहेको छु।” तिवारीले कागतीखेती कृषकलाई बगैँचासम्मै पुगेर आवश्यक परामर्श दिने गरेको बताए।
कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/०८० मा जिल्लामा २० लाख रुपैयाँको कागती उत्पादन भएको छ। ५०० हेक्टर क्षेत्रफलमा कागतीखेती गरिएकामा ४५० मेट्रिक टन उत्पादन भएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
