चिकित्सकको सुझाव : आँखा पाक्ने रोगबाट बच्न सरसफाइ र सामाजिक दूरी कायम गरौँ

चिकित्सकले कोभिड–१९ झैँ हातको सरसफाइ, सामाजिक दूरी कायम गर्न सके आँखा पाक्ने रोगबाट बच्न सकिने सुझाव दिएका छन्।

मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित गोठगाउँमा आँखा पाक्ने रोग बढेसँगै एक बालिकाको आँखा परीक्षण गर्दै चिकित्सक । तस्वीर– मणिराम दाहाल/रासस

चितवनसहितका जिल्लामा यति बेला आँखा पाक्ने रोग निकै बढेर गएको छ। कतिपय पालिका शिक्षण संस्था बन्द गरेर रोग नियन्त्रणमा जुटेका छन्। चिकित्सकले कोभिड–१९ झैँ हातको सरसफाइ, सामाजिक दूरी कायम गर्न सके रोगबाट बच्न सकिने सुझाव दिएका छन्।

भरतपुर आँखा अस्पतालका आँखारोग विशेषज्ञ डा. कुमुदिनी सुवेदीले आँखा पाक्ने रोग फैलिन नलिन कोभिड–१९ मा जस्तै हातको सरसफाइ र सामाजिक दूरीमा ध्यान दिनुपर्ने बताइन्। उनले भनिन्, “हामीले कोभिडको जस्तै समय समयमा हात धुनुपर्छ, हातले आँखा छुनु हुँदैन, सङ्क्रमित बिरामीबाट टाढै रहनुपर्छ।” आँखा पाक्ने रोग (पिंक आई डिजिज) विशेषतः वर्षा मौसममा बढी देखिने जनाउँदै उनले सामान्यतया भाइरसले नै यो रोग फैल्याउने गरेको बताइन्।

उनले भनिन्, “एकै समयमा धेरै जनालाई हुने सरुवा रोगका रूपमा हामीले यसलाई लिएका छौँ।” यो रोग एकबाट अर्कोमा नजिकको सम्पर्क (क्लोज कन्ट्याक्ट) भएको ठाउँमा सर्ने डा सुवेदीले बताइन्। उनले भनिन्, “छात्रावास, विद्यालय, अस्पताल, जेल (कारागार) जहाँ धेरै भीडभाड हुन्छ त्यस्तो ठाउँमा एकबाट अर्कोमा सजिलै सर्ने बढी सम्भावना रहन्छ।”

यो रोग एक जनाबाट अर्कोमा फैलिन २४ घण्टादेखि एक हप्ता जति समय लाग्ने जनाउँदै उनले तीन हप्तादेखि कसैकसैलाई एक महिनासम्म पनि दुःख दिने जानकारी दिइन्। उनले भनिन्, “बिरामी पहिलो पटक हामीकहाँ आउँदा आँखा बिझायो, बिहान उठ्दा आँखा सुनिएको देखियो, आँखा कचेराले टालियो, आँसु बढी आयो, उज्यालोमा हेर्न गाह्रो भयो भन्ने लक्षण लिएर आउनुहुन्छ।” शुरूमा बिरामीको आँखा हेर्दा बाहिरी कोष सुनिएको, कचेरा लागेको, आँखा रातो भएको देखिने गरेको उनको भनाइ छ।

आँखा पाक्ने रोगले गम्भीर बनाएको अवस्थामा यसले आँखाको नानी (कर्निया) मा मसिना–मसिना घाउ गराउन सक्ने उनले जानकारी दिइन्। उनले भनिन्, “आँखा पाकेको बिरामी देख्नुभयो भने त्यसबाट स्वस्थ मानिस टाढै बस्नु राम्रो रहन्छ ।” यसबाट बच्नका लागि कालो चस्मा प्रयोग गर्न उनको सुझाव छ । उनले भनिन्, “चस्माले रोकथाममा सहयोग त पुर्‍याउँछ, तर एकबाट अर्कोमा सर्दैन भन्ने हुँदैन।”

घरमा कसैलाई आँखा पाक्ने रोग भएको छ भने उहाँबाट टाढै बस्नुपर्ने भन्दै उनले भनिन्, “बिरामीले चलाएका सामग्री रुमाल, तौलिया, सिरानीलगायतका सामग्री स्वस्थ मानिसले चलाउन हुँदैन।” सकभर बिरामीलाई छुट्टै कोठामा राख्दा अझै राम्रो हुने उनको सुझाव छ। उनले भनिन्, “घरमा एउटै बाथरुम हुन्छ, बिरामीले आँखा पुछेर छोएका बत्तीको स्विच, ढोकाको ह्यान्डिल लगायतका ठाउँमा स्वस्थ मानिसले छोएर आँखामा छोइयो भने यो रोग सर्दछ।”

यो रोग लागेमा अस्पतालमै आएर जँचाउन सुझाव दिँदै डा सुवेदीले भनिन्, “परीक्षण नगरी मेडिकलमा गएर औषधि लिनुहुँदैन, मेडिकलमा गएर देखाउँदा आँखा विशेषज्ञले नहेर्न सक्नुहुन्छ।” कुनै कुनै घटनामा फर्मासिस्टले औषधि दिँदा केही नराम्रो दुर्घटना भएका जनाउँदै उनले आँखा पाक्ने रोग लागेपछि विशेषज्ञ चिकित्सकको राय लिएर मात्रै औषधि राख्न सुझाव दिइन्।