परराष्ट्र मामिलामा देशभित्रका शक्ति एकजुट हुनुपर्छ: ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्र हितका विषयमा दलहरू मिल्नुको विकल्प नरहेको, तर सरकार यसमा गम्भीर नभएको बताएका छन्।

काठमाडौँ– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले परराष्ट्र मामिलामा देशभित्रका शक्ति एकजुट हुनुपर्ने बताएका छन्।

शनिबार पार्टीको विदेश विभागले आयोजना गरेको नेपालको परराष्ट्र नीतिसम्बन्धी कार्यक्रममा बोल्दै ओलीले राष्ट्र हितका विषयमा दलहरू मिल्नुको विकल्प नरहेको धारणा राखेका हुन्। तर, सरकार यसमा गम्भीर नभएको उनको आरोप छ।

“प्रधानमन्त्री र सरकारले बाह्य देशसँग के सहमति गर्छन् भन्ने नै थाहा हुन छाड्यो। अस्ति भारत भ्रमणमा ईपीजीबारे कुरा नै उठाएनन्। नेपाली भूमिलाई विवादित बनाउन खोजिएको छ,” ओलीले भने, “सत्तास्वार्थ केन्द्रित मात्र भयो, राष्ट्रिय हित केन्द्रित भएन। त्यो राष्ट्रिय हितमा हुनुपर्छ। अन्यथा एमालेलाई मान्य हुँदैन।”

नेपालको छिमेकी भारत र चीन मात्र भएकाले सीमा समस्या पनि यी दुई देशसँग मात्र हुन सक्ने ओलीको भनाइ छ। सीमासम्बन्धी समस्या आपसी सहकार्य र संवादबाट टुंग्याउनुपर्ने बताए। “छिमेकीलाई स्पष्ट ढंगले भन्नुपर्छ। छिमेकीसँग हाम्रो न्यायोचित हितका लागि कुरा गर्न सक्नुपर्छ,” उनले भने।