सातौं एनभीए च्याम्पियनसिप पुस २४ देखि, नेपाल सुपर लिग भलिबल आगामी फागुनमा

गत वर्ष नै सम्झौता भए पनि आयोजना हुन नसकेको नेपाल सुपर लिग भलिबल प्रतियोगिता आगामी फागुनमा सञ्चालन हुने भएको छ।

काठमाडौं– नेपाल भलिबल संघ (एनभीए)ले दुई सिजनको वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ। संघले बुधबार विज्ञप्ति निकाल्दै आफूले आयोजना गर्ने प्रतियोगिता र राष्ट्रिय टोलीले सहभागिता जनाउने प्रतियोगिता समेटेर कार्यक्रम सावर्जनिक गरेको हो।

गत भदौमा निर्वाचित कार्यसमिति आएपछि संघले पहिलोपटक वार्षिक कार्यक्रम सार्वजनिक गरेको हो। गत भदौ २३ गते भएको चुनावी साधारण सभाबाट जितेन्द्रबहादुर चन्दको अध्यक्षतामा संघको नयाँ कार्यसमिति आएको थियो।

संघले सार्वजनिक गरेको कार्यक्रमअनुसार सातौं एनभीए महिला तथा पुरुष क्लब च्याम्पियनसिप पुस २४ देखि माघ २ गतेसम्म आयोजना हुनेछ। यस्तै, गत वर्ष नै सम्झौता भएर पनि आयोजना हुन नसकेको नेपाल सुपर लिग भलिबल प्रतियोगिता आगामी फागुनमा सञ्चालन हुने उल्लेख छ।

नेपाल स्पोर्टस एन्ड इभेन्ट म्यानेजमेन्टसँग संघले गत वर्ष फ्रेन्चाइज भलिबल लिगका लागि सम्झौता गरेको थियो। यही कम्पनीले फुटबलतर्फ नेपाल सुपर लिगको पहिलो संस्करण आयोजना गरेको थियो।

यता, नेपालले अर्को महिना उमेरसमूहको अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलोपल्ट सहभागिता जनाउने छ। डिसेम्बर तेस्रो साता बंगलादेशमा हुने यू–२३ एसियन सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगिताका लागि नेपालमा खेलाडी छनोट भइरहेको छ।

त्यस्तै, संघले यही वर्ष पहिलोपलट उमेर समूहको प्रतियोगिता आयोजना गर्ने भएको छ। यू–१५ पुरुष तथा महिला राष्ट्रिय प्रतियोगिताको मिति भने निर्धारण गरिएको छैन।

२०८० सालमा महिला र पुरुषको एक–एक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको आयोजना गर्ने उल्लेख छ। सोही वर्ष राष्ट्रिय रेफ्री कोर्ष सञ्चालन हुनेछ।