देशभर आँखा पाक्ने रोगका बिरामी बढेका छन्। यसबाट बच्न स्कुल,कलेज र अन्य भिडभाड भएको ठाउँमा नजाने, अरूले प्रयोग गरेको रुमाल, तौलिया र साबुन प्रयोग नगर्नेलगायत उपाय अपनाउन सकिन्छ।
काठमाडौँ– पछिल्लो केही दिनयता देशभरका अस्पतालमा आँखा पाक्ने समस्या भएका बिरामीको चाप बढेको छ।
काठमाडौँस्थित तीलगंगा आँखा अस्पताल, नेपाल आँखा अस्पताललगायत देशभरका स्वास्थ्य संस्थामा आँखा पाक्ने समस्या लिएर पुग्ने बिरामी बढ्दो क्रममा छन्। तीलगंगा अस्पतालमा कार्यरत बाल आँखा रोग विशेषज्ञ डा. सिर्जना अधिकारीले आँखा पाक्ने समस्या लिएर दैनिक १०० जनाभन्दा बढी बिरामी आउने गरेको जानकारी दिइन्।
भाइरल इन्फेक्सन र ब्याक्टेरियाका कारण आँखा पाक्ने समस्या देखिने उनको भनाइ छ। “धेरैजसो आँखा रातो हुने र चिप्रा आउने समस्या भएका बिरामी आइरहनुभएको छ,” उनले भनिन्, “यो पटक विगतभन्दा धेरै नै केसहरू देखिएको छ।”
आँखा पाक्ने समस्यासँगै कतिपय व्यक्तिमा भाइरल ज्वरो र रुघाखोकीसमेत हुने डा. अधिकारीको भनाइ छ। “यो आँखा पाक्ने रोगमा चाहिँ आँखा रातो हुने र पाक्ने गर्छ। साथै रुघाखोकी, ज्वरो पनि आउन सक्छ। यसलाई महामारी नै भनेर चाहिँ भन्न मिल्दैन,” उनले भने, “यो पहिला पहिला पनि देखिराख्ने हो। तर, यो पटक पहिलेभन्दा धेरै नै केसहरू पाइरहेका छौँ।”
आँखा पाक्ने समस्या जुनसुकै उमेर समूहमा हुनसक्ने र यो एकदम फैलिने डा. अधिकारीको भनाइ छ। “धेरैजसो व्यक्तिलाई शुरूमा आँसु आउने र बिझाउने हुन्छ। यस्तै, अप्ठ्यारो महसुस हुने, आँखा रातो हुने, चिप्रा आउने हुन्छ। कतिपयमा त चिप्रा आएर आँखा नै टालिने हुन्छ। धेरै जसो बिरामीले बिहान उठ्दा आँखा पूरै टालिएको भनेर भन्नुहुन्छ,” उनले भनिन्, “उपचार नै नगरेर त्यत्तिकै छोड्यो भने आँखाको भित्री तहमा सेतो रङको पत्र जम्न थाल्छ। लेयरहरू जम्न थाल्छ। त्यो लेयरलाई पनि त्यत्तिकै छाड्दियो भने आँखाको कालो नानीमा पनि घाउ हुनसक्छ।”
यो आँसुबाट सर्ने उनको भनाइ छ। यसबाट बच्न आफूले प्रयोग गर्ने रुमाल, साबुन छुट्टै राख्नुपर्छ। “कुनै व्यक्तिको आँखा पाकेको छ भने उसले परिवारलाई सर्न नदिनका लागि समय समयमा साबुन पानीले हात धुनुपर्छ, स्यानिटाइजर प्रयोग गर्नुपर्छ। आँखा छोइसकेपछि वा आँखामा ‘ड्रप’ हालिसकेपछि पनि राम्रोसँग साबुन पानीले हात धुनुपर्छ। क्राउडमा पनि जानुहुँदैन,” डा. अधिकारीले भनिन्, “बढी रातो भएको छ। धेरै बिझाएको र धेरै सुन्नीएको छ भने हामीले चिकित्सकको परामर्शमा औषधीको प्रयोग गर्न सक्छौँ। कसै कसैलाई ब्याक्टेरियल इन्फेक्सन पनि हुनसक्छ। त्यस्तो अवस्थामा यान्टिबायोटिक प्रयोग गर्नुपर्ने हुन्छ।”
डा. अधिकारीले यसबाट बच्ने उपाय पनि सुझाएकी छन्। उनका अनुसार चिसो तथा बरफले आँखा सेक्ने, सफा पानीले सफा गर्ने, घर बाहिर जाँदा कालो चस्मा प्रयोग गर्ने, संक्रमित आँखालाई छोएपछि राम्रोसँग हात धुने, संक्रमित आँखालाई सकेसम्म नचलाउने गरे यसबाट बच्न सकिन्छ।
त्यस्तै, स्कुल,कलेज र अन्य भिडभाड भएको ठाउँमा नजान,अरूले प्रयोग गरेको रुमाल तौलिया प्रयोग नगर्न र आफूखुशी औषधिको प्रयोग नगर्न पनि उनले सुझाइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
