पाल्पाको रामपुर नगरपालिकाले सामाजिक सुरक्षा भत्ता, परिचयपत्र नवीकरण, स्वास्थ्य परीक्षणका लागि ज्येष्ठ नागरिकले नगर/वडा कार्यालय जानुपर्ने अवस्थाको अन्त्य गरेको छ।
रामपुर– घरमा नै भत्ता पाएपछि ८० वर्षीय सन्तबहादुर विक हर्षित छन्। बुढ्यौलीमा लौरो टेकेर हँसिलो मुद्रामा आफ्ना साथी र छिमेकीसँग मनका दुःख सुख पोख्दै परिवर्तनका कुरा साटासाट गर्छन्।
घरमा नै सामाजिक सुरक्षा भत्ता, परिचयपत्र नवीकरण, स्वास्थ्य परीक्षण तथा औषधीउपचार सेवा पाएपछि रामपुर नगरपालिका–२ अत्रवासका विकलाई स्थानीय सरकार नै जनताको सरकार जस्तो लागेको छ।
“उमेरले डाँडापारिको घाम बनेका हामी ज्येष्ठ नागरिकलाई स्थानीय सरकारले घरमा नै आएर सबै सेवा दिन थालेपछि सहज भएको छ”, उनले भने, “भत्ताको नवीकरण, स्वास्थ्य परीक्षण र औषधीउपचारमा अहिले पिरलो छैन।”
उनी बिरामी हुँदा पनि धेरै पटक स्वास्थ्य संस्था आउनेजाने समस्याले उपचार नगरिकन बसेका थिए। बुढ्यौली लागेको शरीर, त्यसैमाथि बिरामी परेपछि हिँडेर स्वास्थ्य संस्थासम्म पुग्ने तागत नहुँदा धेरै पटक घरमै तातोपानीको भरमा बसेको उनले सुनाए। “हिजोआज गाउँमै निःशुल्क उपचार र औषधि सेवा पाउँदा दम, खोकी, रिंगटा लाग्नेजस्ता समस्याबाट पीडित हुनु परेको छैन।”
विगतमा हिँडेर सम्बन्धित कार्यालयमा पुगेर सेवा लिन अप्ठ्यारो भोग्न बाध्य ७० वर्षीया मनकुमारी विक पनि घरमा नै सेवा पाउँदा खुशी छिन्। “हामी पढाइलेखाइ नभएकालाई कति बेला भत्ता बुझ्ने कागजपत्र नवीकरण गर्ने केही थाहा हुँदैन, वडा कार्यालयबाट समय भएपछि आफैँ बुझेर आएर सबै काम गरिदिनुभएको छ,” उनले भनिन्।
गाउँमा बेला–बेलामा स्वास्थ्य परीक्षण, औषधि वितरण हुने भएपछि टाउको दुखेका, ज्वरो आएको, रुघाखोकी, दम, झाडापखला, सुगर, प्रेसरजस्ता रोग नियमित परीक्षण गराउन थालेको मनकुमारीले सुनाइन्। ज्येष्ठ नागरिकहरू अहिले नियमित स्वास्थ्य जाँच गराउने, आफ्ना समस्या स्वास्थ्यकर्मीसमक्ष राख्ने र नियमित औषधि सेवन गर्न थालेका छन्।
ज्येष्ठ नागरिकलाई गाउँमा गएर सेवा दिनु स्थानीय सरकारको दायित्व भएको ले रामपुर–२ का वडाध्यक्ष कृष्णबहादुर दर्जीले बताए। उमेरले बुढ्यौलीमा टेकेका ज्येष्ठ नागरिकलाई वर्षायामका बेला गाउँका कच्ची सडक भत्कने, पहिरो खस्ने समस्याले यात्रा गर्न कठिन हुने भएकाले घरमा नै पुगेर सेवा दिन थालेको उनको भनाइ छ।
रामपुर नगरपालिकाले वडाभित्रका दुर्गम बस्तीमा बसोबास गर्ने नागरिकलाई गाउँमै पुगेर सेवा दिन थालेको छ। वडाका कर्मचारी र जनप्रतिनिधिले घरदैलो सेवा दिने गरेको नगरप्रमुख रमणबहादुर थापाले बताए।
दुर्गम भेगमा परेका बस्ती, टोलमा बेला–बेलामा घुम्ती शिविर आयोजना गरेर ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण, सामाजिक सुरक्षा भत्ता, परिचयपत्र नवीकरण, अपांगता परिचय दर्ता तथा नवीकरण, कृषि तथा पशु स्वास्थ्य शिविरलगायत सेवा प्रवाह भइरहेको नगरप्रमुख थापाको भनाइ छ।
घुम्ती शिविरले अशक्त, ज्येष्ठ नागरिक, अपांगता, बालबालिकालगायत व्यक्तिलाई सहज बनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
