बंगलादेशी विपक्षी दलका कार्यवाहक अध्यक्षलाई भ्रष्टाचार अभियोगमा नौ वर्षको जेल सजाय

बेलायत निर्वासनमा रहेका बीएनपीका कार्यवाहक अध्यक्ष तथा थुनामा रहेकी पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमानलाई भ्रष्टाचार अभियोगमा नौ वर्षको जेल सजाय सुनाइएको छ।

निर्वासनमा रहेका बंगलादेशका विपक्षी नेता तारिक रहमानलाई भ्रष्टाचारको अभियोगमा बुधबार नौ वर्षको जेल सजाय सुनाइएको छ। बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यवाहक अध्यक्ष ५५ वर्षीय रहमानलाई नौ वर्ष र उनकी श्रीमती जुबैदा रहमानलाई तीन वर्षको जेल सजाय सुनाइएको छ।

भ्रष्टाचार विरोधी आयोगका वकिल खुशीद आलम खानले एएफपीलाई बताएअनुसार तारिक रहमानलाई आयभन्दा बढी सम्पत्ति जम्मा गरेको आरोपमा जेल सजाय सुनाइएको हो। खानले भनेका छन्, “विपक्षी नेता रहमानलाई आय लुकाएको र आफ्नो आयभन्दा बढी सम्पत्ति जम्मा गरेको आरोपमा नौ वर्षको जेल सजाय सुनाइएको छ। उनकी पत्नीलाई पतिलाई दुरुत्साहन गरेको आरोपमा तीन वर्षको जेल सजाय सुनाइएको छ।”

बीएनपीका वकिल मसूद अहमद तालुकदारले यो सजाय ‘शत प्रतिशत राजनीति प्रतिशोधबाट प्रेरित’ भएको बताउँदै रहमानलाई ‘डिसेम्बर–जनवरीको आम चुनावअघि राजनीतिबाट टाढा राख्न’ मुद्दा चलाइएको बताए। प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिनुपर्ने र कामचलाउ सरकार गठन गरी निर्वाचनको पर्यवेक्षण गर्न दिन माग गर्दै बीएनपी र यसका सहयोगीहरूले गत वर्षदेखि शृङ्खलाबद्ध विरोध प्रदर्शन गर्दै आएका छन्। 

वरिष्ठ प्रहरी अधिकारी रशानुल हक सैकतका अनुसार रहमान दम्पतीलाई सजाय सुनाएपछि ढाकास्थित पार्टी मुख्यालयबाहिर करिब एक हजार बीएनपी समर्थकले र्‍याली निकालेका थिए। रहमान अहिले बेलायतमा छन्। उनले त्यहीँबाट बीएनपीको नेतृत्व गरिरहेका छन्।

पश्चिमा सरकारहरूले बंगलादेशको राजनीतिक वातावरणप्रति चिन्ता व्यक्त गरेका छन्। यहाँ सत्तारुढ दलले विधायिकामा प्रभुत्व जमाएको र यसलाई रबर स्ट्याम्पको रूपमा ‘भर्चुअल’ रूपमा सञ्चालन गरिरहेको आरोप उनीहरूले लगाउँदै आएका छन्। 

सन् २००८ देखि लण्डनमा बस्दै आएका तारिक रहमानलाई सन् २००४ मा तत्कालीन विपक्षी नेतृ शेख हसिनाको समर्थनमा आयोजित राजनीतिक र्‍यालीमा २० जनाभन्दा बढीको ज्यान जाने गरी भएको ग्रेनेड आक्रमणमा संलग्न भएको आरोपमा सन् २०१८ मा आजीवन काराबासको सजाय सुनाइएको थियो। त्यतिबेला रहमानकी आमा बेगम खालिदा जिया प्रधानमन्त्री थिइन्।

दुई पटकसम्म प्रधानमन्त्री बनेकी जियालाई सन् २०१८ मा भ्रष्टाचारको दुई छुट्टाछुट्टै मुद्दामा १७ वर्षको जेल सजाय सुनाइएको थियो। उनको अनुपस्थितिमा रहमानले पार्टीको नेतृत्व गरिरहेका छन्। 

राजनीतिमा संलग्न नरहेकी श्रीमती जुबैदा पेशाले चिकित्सक हुन्। उनलाई यसअघि कहिल्यै सजाय दिइएको थिएन। दोषी ठहरिएसँगै उनलाई घर फर्कन अवरोध सिर्जना भएको छ। आगामी चुनावमा प्रतिस्पर्धा गर्न पनि उनी अयोग्य भएकी छन्।