‘ब्लाइन्ड रक्स’ नामक संस्थाले १० दृष्टिविहीनलाई प्याराग्लाइडिङको अवसर मिलाइदिएको थियो। सफलतामा पुग्न अपांगताले छेक्दैन भन्ने सन्देश प्रवाह गर्न ‘इन्क्लुसिभ प्याराग्लाइडिङ’ गराइएको हो।
कास्की– साहसिक खेल प्याराग्लाइडिङ गरेर फेवाताल किनारमा उत्रिएपछि सुनिता दबाडीमा खुशीको सीमा थिएन। सोमबार दिउँसो प्याराग्लाइडिङ गरेको अनुभव उनी शब्दमा व्यक्त गर्न सकिरहेकी थिइनन्।
दृष्टिविहीन सुनिता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टेलिफोन ‘अपरेटर’का रूपमा कार्यरत छिन्। ‘ब्लाइन्ड रक’ संस्थाको सदस्यसमेत रहेकी उनी प्याराग्लाइडिङको अनुभवका लागि आइतबार पोखरा आएकी थिइन्।
प्याराग्लाइडिङ गर्न मौसमले साथ देला कि नदेला भन्ने चिन्ता थियो। जब बिहान ‘टेकअफ’का लागि मान्द्रेढुंगा पुगिन्, उनले आफ्नो खुशी थाम्न सकिनन्। “प्याराग्लाइडिङमा उड्ने पहिलेदेखि नै योजना थियो। कहिले उड्न पाइएला भन्ने लागेको थियो। जाने बेला सहज हुन्छ कि भन्न भनेर मनमा लागिरहेको थियो,” उनले भनिन्, “उडेर हावाको प्रेसरले माथि–माथि जाँदा, दिशा परिवर्तन भएको अनुभव गर्न पाइयो। एकदमै रमाइलो लाग्यो।”
पोखराको आकाशमा सुनिताजस्तै सोमबार दुई विदेशीसहित १० दृष्टिविहीनले प्याराग्लाइडिङ गरे। प्याराग्लाइडिङ गर्न जोकोही तत्कालै तयार हुँदैनन्। यसका लागि साहस चाहिन्छ, तर फरक क्षमता भएका दृष्टिविहीनले समेत साहसिक खेलकुदको मज्जा लिए। दृष्टिविहीनलाई प्याराग्लाइडिङको अवसर भने ‘ब्लाइन्ड रक्स’ संस्थाले मिलाएको थियो। प्याराइलाइडिङ गर्नेहरू एक–दुई जनाबाहेक सबैको पहिलो अनुभव थियो।
बाग्लुङकी चाँदनी शर्मा पोखराको पृथ्वीनारायण क्याम्पसमा अध्ययन गर्छिन्। उनी समेत प्याराग्लाइडिङ गरेपछि उत्साहित थिइन्। “आकाशमा उड्ने कहिल्यै कल्पनासमेत गरेकी थिइनँ, नयाँ अनुभव हासिल भयो, खुशीको सीमा नै छैन।”
चाँदनीले दृष्टिविहीनलाई प्याराग्लाइडिङ गराउने भन्ने केही दिनदेखि नै थाहा पाएकी थिइन्। तर, आफूले पाउँछु कि पाउँदिन भन्ने थियो। अघिल्लो दिनमात्र गर्न पाउने जानकारी पाइन्। “मैले गर्ने भनेर सृष्टि दिदीबाट अघिल्लो दिनमात्र थाहा भयो। आकाशमा उड्ने भनेपछि कस्तो हुने, कस्तो हुन्छ होला भन्ने थियो। तर उडिसकेपछि सबै अनुभव गर्न पाइयो,” उनले भनिन्।

ब्लाइन्ड रक संस्थाका संस्थापक अध्यक्ष सृष्टि केसीको प्याराग्लाइडिङ अनुभव दोस्रो थियो। उनले नै यस कार्यको अग्रसरता लिएर आफ्ना साथीहरूलाई अवसर प्रदान गरेकी हुन्। सफलतामा पुग्न अपांगता र दृष्टिविहीनताले छेक्दैन भन्ने सन्देश प्रवाह गर्न ‘इन्क्लुसिभ प्याराग्लाइडिङ’ गराइएको केसीले बताइन्।
“यो समावेशी पर्यटन प्रवर्द्धन हो। यसबाट सफलतामा पुग्न अपांगताता र दृष्टिविहीनताले छेक्दैन भन्ने सन्देश दिएको छ,” उनले भनिन्, “जीवनमा उचाइमा पुग्न सफलता प्राप्त गर्न दृष्टिविहीनतामा सीमित हुन जरुरी छैन। त्यो भन्दा माथि उठ्न सक्छौँ, उड्न सक्छौँ ।”
उनको प्याराग्लाइडिङ अनुभव पनि रोमाञ्चक छ। “मेरो पाइलटले बादल छुवाउन लैजानुभयो। बादलमाथि पुग्ने उचाइमा पुग्ने सपना पूरा भएको छ, म बादललाई स्पर्श गरिरहेकी थिएँ। बादलभित्र हराउँदा मनमा छुट्टै उत्साह र ऊर्जा मिल्यो,” सृष्टि भन्छिन्, “सपना देख्न आँखा होइन, हिम्मत र आत्मबल चाहिन्छ र त्यो कहिल्यै पनि अपांगता हुँदैन।”
प्याराग्लाइडिङ पाइलट राम गौतमले दृष्टिविहीनलाई उडाएको आफ्नो पहिलो अनुभव रहेको सुनाए। अन्य नागरिकले आफैँले देखेर आनन्दित हुने खुशीमा रमाउने गरे पनि दृष्टिविहीनलाई पाइलटले वर्णन गरिदिँदा नै अन्य नागरिकसरह उत्साहित भएको उनको भनाइ छ।
“सामान्य नागरिक उडान भर्दा हिमाल, ताल, डाँडाकाँडा देखेर रमाउनुहुन्छ। दृष्टिविहीनलाई हामीले तपाईं तालमाथि हुनुहुन्छ, बादलभित्र हुनुहुन्छ भनेर वर्णन गर्छौं, यसो भन्दा उहाँहरूसमेत उत्साहित हुनुहुन्छ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
