प्यूठानमा जीप दुर्घटना, तीन जनाको मृत्यु

प्यूठानमा पूर्णिमा मेला हेर्न गएका यात्रु बाेकेकाे जीप दुर्घटनामा परेको हाे।

प्यूठान– प्यूठान नगरपालिका–५ मा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

पूर्णिमा मेला हेर्न गएका यात्रु लिएर पातलकटेरीतर्फ गइरहेको जीप दुर्घटनामा परेको हो। दुर्घटनामा पातलकटेरीकी ५२ वर्षीया मैयाँ घर्ती, ४५ वर्षीय खुमान थापा र ४३ वर्षीया जुनकी थापाको घटनास्थलमै मृत्यु भएको वडासदस्य चूडामणि थापाले जानकारी दिए।

१२ जना घाइते भएका छन्। उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुनिल थापाले बताए।

दुर्घटनाको कारण खुलेको छैन। चालक विनोद केएम फरार छन्। जीपमा १७ जना सवार रहेको प्रहरीले जनाएको छ।