हरियाली खेतका फाँट, धान गोड्न व्यस्त किसान

ललितपुरको खोकनाका स्थानीय धान गोड्न व्यस्त छन्। जेठको अन्त्य र असारको पहिलो सातातिर धान रोपेका उनीहरूलाई अहिले गोडमेल गर्न र मल हाल्न भ्याइ नभ्याइ छ। 

ललितपुर– यसवर्ष मनसुन केही पर धकेलिए पनि जताततै हरियाली देख्न सकिन्छ। 

धान रोपिएका खेत, पार्कमा रहेका रुख, नदी किनारका बिरुवा र आसपासका जंगलले मोहित बनाउँछन्। सबैभन्दा मनमोहक हरियाली खेतमा नै देख्न पाइन्छ। 

ती खेतमा किसानले धान गोडेको दृश्य त झनै हेर्न लायक हुन्छ। काठमाडौँ उपत्यका छेउछाउ खाली रहेका खेतमा यस्तै दृश्य हेर्न पाइन्छ। ललितपुरको खोकनाका स्थानीय पनि धान गोड्न व्यस्त छन्। 

जेठको अन्त्य र असारको पहिलो सातातिर खेतमा धान रोपेका उनीहरूलाई अहिले गोडमेल गर्न र मल हाल्न भ्याइ नभ्याइ छ। बिहान र दिउँसो घाम ढल्किन थालेपछि गोडमेलमा निस्किन्छन्।

हुर्कँदै गरेको धानलाई झारले खाने भएपछि गोड्नु पर्ने हुन्छ। काठमाडौँ उपत्यका मात्र नभई देशका अधिकांश स्थानमा किसान धान गोड्नमा व्यस्त छन्।