१९औँ एशियाली खेलकुद: नेपालको झन्डा दीपक महर्जनले बोक्ने

चीनको होङझावमा हुने १९औँ एशियाली खेलकुदमा नेपालको झन्डा बक्सिङका प्रशिक्षक दीपक महर्जनले बोक्ने भएका छन्।

दीपक महर्जन (बायाँ)

काठमाडौँ- बक्सिङका प्रशिक्षक दीपक महर्जनले चीनको होङझावमा हुने १९औँ एशियाली खेलकुदमा नेपालको झन्डा बोक्ने भएका छन्।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले बुधबार नेपालको झन्डा महर्जनले बोक्ने जानकारी गराएका हुन्। उनले सन् २०१० मा चीनमै आयोजना भएको एशियाली खेलकुदमा कास्य पदक जित्दै नेपाललाई पदकविहीन हुनबाट जोगाएका थिए। 

यसपटक बक्सिङतर्फ सात पुरुष र ६ महिला गरी १३ खेलाडी नेपालको प्रतिनिधित्व गर्नेछन्।

छनोट प्रतियोगिताबाट पुरुषतर्फ रविन थापा, बुद्ध ग्याम्जो लामा, भुपेन्द्र थापा मगर, दिपेश लामा, दीपक श्रेष्ठ, दीपक सुनवार र आशिष दवाडीले स्थान बनाएका छन्। यस्तै, महिलातर्फ सुस्मा तामाङ, मिनु गुरुङ चन्द्रकला थापा, संगिता सुनार, विनिता थापा मगर र सरस्वती राना मगरले स्थान पक्का गरेका छन्।