निर्मला हत्याका पाँच वर्ष, प्रहरी भन्छ- अनुसन्धान जारी छ

भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको बुधबार पाँच वर्ष पुगेको छ। तर अझै अपराधी पत्ता लागेको छैन। प्रहरीले भने अनुसन्धान जारी रहेको जनाएको छ।

तस्वीर सौजन्य: कान्तिपुर

कञ्चनपुर- भीमदत्त नगरपालिका उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरेको बुधबार पाँच वर्ष पुगेको छ। तर अझै पनि मुद्दाको टुंगो लागेको छैन। 

२०७५ साउन १० गते साथीको घरमा विद्यालयको गृहकार्य गर्न गएकी बालिका पन्तको शव साउन ११ गते नजिकैको उखुबारीमा भेटिएको थियो। शव परीक्षणमा उनको बलात्कारपछि हत्या भएको पुष्टि भएको थियो।

उक्त घटनापछि दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन माग गर्दै देशभर आन्दोलन भएको थियो। यस प्रकरणमा सरकारले उच्चस्तरीय छानबिन समिति बनाएको थियो। राष्ट्रिय मानव अधिकार आयोग र प्रहरीले विभिन्न छुट्टैछुट्टै छानबिन समिति गठन गरेका थिए। तर हालसम्म पनि अपराधीसम्म प्रहरी पुग्नसकेको छैन।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कमल थापाले निर्मला पन्त हत्या प्रकरणमा प्रहरीले प्राथमिकताका साथ अनुसन्धान गरिरहेको बताए। “अहिले पनि घटनाको निरन्तर अनुसन्धान भइरहेको छ”, उनले भने, “जिल्ला प्रहरी र सीआईबीको टोली अहिले पनि अनुसन्धानमा खटिएको छ।”

प्रहरीले अहिले पनि घटनामा शंकास्पद व्यक्तिलाई निगरानीमा राखेर अनुसन्धान गरिरहेको जनाएको छ। घटनाको दोषी पत्ता लगाउन प्रहरीले अहिलेसम्म १२३ जनाको डीएनए परीक्षण गरिसकेको छ। निर्मलाको न्यायका लागि सडकदेखि सदनसम्म जोडतोडका साथ आवाज उठेको थियो। 

घटना भएको एक महिनापछि २०७५ भदौ ४ गते जिल्ला प्रहरी कार्यालयले भीमदत्त–१९ बागफाटाका दिलीप विष्टलाई आरोपीको रूपमा सार्वजनिक गरेको थियो। विष्ट मानसिक रोगी भएको र प्रहरीले फसाउन खोजेको भन्दै कञ्चनपुरमा आन्दोलनले उग्ररूप लिएको थियो। पछि सरकारी वकिलको कार्यालयबाट रिहा भएका थिए।