वर्तमान खाद्य प्रणालीले जैविक विविधतालाई क्षीण बनाएको, असमानता बढाएको, असमान उत्पादन र उपभोगलाई मात्रै प्रश्रय दिएको प्रधानमन्त्री दाहालको भनाइ छ।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोक र खाद्य असुरक्षाविरुद्धको लडाइँ अझै दृढताका साथ लड्नुपर्ने बताएका छन्। उनले खाद्य प्रणालीमा परिवर्तन गर्नु पनि भोकविरुद्धको लड्ने अस्त्र भएको धारणा राखे।
संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको मुख्यालय इटलीको रोममा आयोजना भएको ‘युनाटेड नेसन्स् फूड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’लाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले दिगो भविष्यका लागि मार्ग प्रशस्त गर्न आधुनिक खाद्य प्रणाली कमजोर साबित भएकाले त्यसमा सुधार ल्याउनु जरुरी रहेको उल्लेख गरे।
वर्तमान खाद्य प्रणालीले जैविक विविधतालाई क्षीण बनाएको, असमानता बढाएको, असमान उत्पादन र उपभोगलाई मात्रै प्रश्रय दिएको प्रधानमन्त्री दाहालको भनाइ छ। त्यस्ता प्रणालीले हरितगृह ग्यास उत्सर्जनमा बढवा दिएको, जलवायु परिवर्तनमा प्रभाव पारेको र परम्परागत अभ्यासलाई खण्डित गरेको उनले बताए।
खाद्य प्रणालीका कारण नसर्ने रोगको वृद्धिले जनस्वास्थ्यमा नकारात्मक प्रभाव परेको स्पष्ट पार्दै प्रधानमन्त्री दाहालले भने, “खाद्य प्रणालीमा हामीले गर्ने परिवर्तनले मात्रै यस्ता विविध चुनौतीलाई सम्बोधन गर्न सकिन्छ।”
प्रधानमन्त्री दाहालले खाद्य प्रणालीमा ल्याइने परिवर्तनले मात्रै जीविकोपार्जनमा सुधार, आर्थिक विकासमा बढवा दिई गुणस्तरीय जीवनयापनका लागि योगदान गर्न सकिने स्पष्ट पारे। उनले त्यस्तो रूपान्तरणले थप समतामूलक, लचिलो र दिगो खाद्य प्रणालीको नेतृत्व गर्ने विश्वास व्यक्त गरे।
प्रधानमन्त्री दाहालले नेपालमा खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐन, २०७५ मार्फत कानुनी दायरा तयार पारी दिगो खाद्य प्रणालीमा जोड दिएको जानकारी गराए। स्वास्थ्य, कृषि, खाद्य सुरक्षा र पोषणमा खाद्य सुशासन र नीतिमा तादात्म्य ल्याउनका लागि सो व्यवस्था एक महत्त्वपूर्ण साधन भएको प्रधानमन्त्री दाहालको भनाइ छ।
सन् २०२१ मा सम्पन्न ‘यूएन फुड सिस्टम समिट’ले तय गरेको मार्गनिर्देशअनुसार विद्यमान खाद्य प्रणालीमा रहेको कमजोरी पत्ता लगाई त्यसलाई सुधार गर्न र रूपान्तरणको मार्ग तय गर्न सरोकारवालासँग राष्ट्रिय र प्रादेशिक रूपमा सघन छलफल गरिएको प्रधानमन्त्री दाहालको भनाइ छ।
दिगो विकास लक्ष्यले तय गरेको लक्ष्यअनुसारको कामलाई सुव्यवस्थित रूपमा अगाडि बढाउनका लागि खाद्य प्रणाली रूपान्तरणसम्बन्धी रणनीतिक योजना (सन् २०२२–२०३०) तयार पारी कार्यान्वयनमा ल्याइसकिएको प्रधानमन्त्री दाहालले जानकारी दिए।
नेपाल किफायती, सुरक्षित, स्वस्थ र पौष्टिक आहारका लागि दिगो खाद्य शृङ्खला विकास गर्न प्रतिबद्ध रहेको प्रधानमन्त्री दाहालको प्रस्टोक्ति छ। उनले कृषि उत्पादकत्वमा सुधार, स्थानीय खेतीको प्रवर्द्धन गर्दै फोहोररहित भण्डारणका लागि लगानी केन्द्रित गरेको बताए। सार्वजनिक–निजी साझेदारीमार्फत पूर्वाधारको विकास र मूल्य शृङ्खलामा सुधारका लागि प्रोत्साहित गरिएको प्रधानमन्त्रीको कथन छ।
स्थानीय र परम्परागत खाद्य प्रणालीको पुनरुत्थान गर्नु आफूहरूको प्रमुख प्राथमिकता रहेको स्पष्ट पार्दै प्रधानमन्त्री दाहालले कोदोजस्ता बालीमा लगानीका अलावा चासोसमेत बढेको स्पष्ट पारे। अल्पविकसित देशले पर्याप्त भण्डारणको अभाव, बजार, शीत भण्डारण, न्यून यान्त्रिकीकरण, उच्च उत्पादन लागत, कमजोर बजार पहुँच र असमान वितरण प्रणाली जस्ता समस्या भोग्नुपरेको प्रधानमन्त्री दाहालको धारणा छ।
खाद्य प्रणालीको रूपान्तरणका लागि सरकार र अन्य सरोकारवालाको क्षमता अभिवृद्धि गर्नु जरुरी भए पनि लगानी अभाव रहेको उनको भनाइ छ। प्रधानमन्त्री दाहालले वातावरणको संरक्षण गरी, सबैका लागि दिगो भविष्य सुनिश्चित गर्ने गरी खाद्य प्रणालीमा रूपान्तरण गर्न साझा प्रयास जरुरी रहेकाले सोही मार्गमा अगाडि बढ्न सबैलाई आह्वान गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
