क्यामरुनमा ४ तले भवन भत्किँदा ३७ जनाको मृत्यु, २१ घाइते

भवनको भग्नावशेषबाट जीवित उद्धार गरिएका १३ जनाको उपचार भइरहेको छ। तीमध्ये तीन वर्षीया बालिका र १९ वर्षीया युवतीको मृत्यु भएको छ।

तस्वीर: एएफपी

क्यामरुनको व्यापारिक केन्द्र दोउलास्थित चारतले भवन भत्कँदा ३७ जनाले ज्यान गुमाएका छन्। अन्य २१ जना घाइते भएका छन्।

सोमबार भत्केको भवन अर्को आवासीय भवनमा खसेको थियो। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको एएफपीले जनाएको छ।

मृतकको संख्या बढ्नसक्ने उल्लेख गर्दै खोजी जारी रहेको त्यहाँस्थित क्षेत्रीय गभर्नरले बताएका छन्। स्थानीय अस्पतालका अनुसार भवनको भग्नावशेषबाट जीवित उद्धार गरिएका १३ जनाको उपचार भइरहेको छ। तीमध्ये तीन वर्षीया बालिका र १९ वर्षीया युवतीको मृत्यु भएको छ।

घटनास्थल पुगेको क्यामरुनका शहरी विकासमन्त्री सेलेष्टिन केचा कुर्टेसका अनुसार भत्केको भवनका मालिकले बिनाअनुमति घर बनाएको खुलेको छ।