नेपाल भ्रमणमा रहेका चिनियाँ नेता च्याचिन र सभामुख घिमिरेबीच भेट

सोमबार भएको भेटमा द्विपक्षीय सम्बन्ध, आर्थिक, व्यापारिक, राजनीतिक, सामाजिकलगायत सहयोग आदानप्रदान विषयमा छलफल भएको सभामुखको घिमिरेको सचिवालयले जनाएको छ।

काठमाडौँ– सभामुख देवराज घिमिरे र नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका नेता यान च्याचिनबीच भेटवार्ता भएको छ।

काठमाडौँमा सोमबार भएको भेटमा द्विपक्षीय सम्बन्ध, आर्थिक, व्यापारिक, राजनीतिक, सामाजिक, धार्मिक सहयोग आदानप्रदान लगायतका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ। भेटमा सभामुख घिमिरेले चीनले नेपाललाई उच्च महत्व दिँदै उपल्लोस्तरको भ्रमण गर्दै आएकोमा आभार व्यक्त गरेका छन्। 

“सन् २०१९ मा राष्ट्रपति सि चिनफिङको भ्रमणपछि उपल्लो स्तरको भ्रमण हुँदै आएको छ,” सभामुख घिमिरेले भने, “द्विपक्षीय राजनीतिक भ्रमणले नेपालको विकास र समृद्धिमा सहयोग पुग्ने विश्वास लिएको छु।”

सभामुख घिमिरेले नेपाल सुन्दर र विश्वकै आकर्षक मुलुक रहेको बताउँदै चीनको सानो सहयोगले पनि समृद्धिमा सघाउ पुग्ने बताए। संविधान निर्माणसँगै नेपालले स्थायित्व र विकासमा प्रगति हासिल गरिरहेको भन्दै तत्कालीन सरकारले गरेको पारवहन सन्धी र रसुवागढी–केरुङ रेल मार्गको विकासका लागि आग्रह गरे।

नेता च्याचिनले आफू चिनियाँ राष्ट्रपति चिनफिङको निर्देशनमा नेपाल भ्रमणमा आएको बताउँदै नेपाललाई अन्नमा आत्मनिर्भर बनाउन चीनले सहयोग गर्ने जानकारी दिए। उनले आफ्नो नेपाल भ्रमणमा ८० लाख युआन अर्थात् नेपाली १४ करोड रुपैयाँ सहयोगको घोषणा गरेका छन्।

भेटमा नेता च्याचिनले सभामुख घिमिरेलाई चीन भ्रमणको निम्तो दिएका छन्।