बागलुङको गलकोट नगरपालिका–१ काफालठुटादेखि गौदी गाउँ जोड्ने मान्द्रेखोलामाथि २२७.२ मिटर लामो झोलुंगे पुल निर्माण भएपछि स्थानीयलाई सहज भएको छ।
गलकोट– बागलुङको गलकोट नगरपालिका–१ दुदिलाभाटीमा गलकोट क्षेत्रकै लामो र अग्लो झोलुंगे पुल निर्माण भएको छ।
दुदिलाभाटीस्थित मध्यपहाडी लोकमार्गको काफालठुटादेखि गौदी गाउँ जोड्ने गरी मान्द्रेखोलामाथि २२७.२ मिटर लामो झोलुंगे पुल निर्माण गरिएको हो। निर्माण कम्पनीले समयमै काम नसक्दा आयोजना अलपत्र परिरहेका बेला काफालठुटादेखि गौदी जोड्ने मान्द्रेखोलाको झोलुंगे पुल ठेक्का सम्झौता मितिभन्दा छ महिना अगावै निर्माण भएको छ।
काठमाडौँको सस्पेन्सन वृज डिभिजन कार्यालयअन्तर्गत स्थानीय पूर्वाधार आयोजना कार्यालय कास्कीसँग २०७९ असार १५ गते बीएलपी कन्ट्रक्सनसँग १८ महिनामा निर्माण सक्नेगरी ठेक्का सम्झौता भएकामा छ महिना अगावै निर्माण भएको हो।
एक करोड २५ लाख रुपैयाँ लागतमा निर्माण गरिएको पुल हस्तान्तरणको तयारीमा पुगेको कास्कीस्थित स्थानीय पूर्वाधार आयोजना कार्यालयका इञ्जिनियर निरज सापकोटाले जानकारी दिए।
“१८ महिनामा सक्नुपर्ने काम एक वर्षमै सकियो। सम्झौताभन्दा अगावै निर्माण सक्नु सकारात्मक पक्ष हो,” उनले भने, “पुल निर्माण भएपछि गौदी हुँदै दुदिलाभाटी बजार र वडा कार्यालय पुग्न सहज हुनेभयो। पुल अन्तिम प्राविधिक मूल्यांकनपछि पुल हस्तान्तरण गरिने छ।”
इन्जिनियर सापकोटाका अनुसार ‘डी’ टाइप मोडेलमा निर्माण भएको उक्त झोलुंगे पुलको उचाइ ६० मिटर अग्लो छ। गलकोट नगरपालिकाभित्र २२७ मिटर लामो झोलुंगे पुल पहिलो पटक निर्माण भएको हो।
साविक दुदिलाभाटी गाउँको तीन वटा वडाबासीलाई वडा कार्यालय जान, भाटी बजार पुग्न र वडा कार्यालय र भाटी बजारलाई मध्यपहाडी लोकमार्गमा आउन सहज भएको स्थानीय धना खत्रीले बताए।
उहाँका अनुसार पैदल यात्रुलाई काफलठुटा हुँदै, चाउथेखोला, मान्द्रेखोला तरेर गौदी पुग्न एक घण्टा लाग्नेमा पुल निर्माणपछि १० मिनेटमै पुग्न सकिने भएको छ।
पाँच वर्षदेखिको अनवरत प्रयास र पहलपछि पुल निर्माण गर्न सफल भएको गलकोटका समाजसेवी ललिता थापाले जानकारी दिए।
“मध्यपहाडसँग छुटेको गाउँलाई झोलुंगे पुलले जोडेर सहज भएको छ। सदरमुकाम जान यहाँका बासिन्दाको एक घण्टाको यात्रा छोटो भएको छ,” उनले भने, “झोलुंगे पुल निर्माणसँगै स्थानीयवासीलाई स्वास्थ्यचौकी, विद्यालय र वडा कार्यालय आवतजावत गर्न सहज भयो।”
निर्माण गरिएको पुल साउन दोस्रो हप्ता प्राविधिक मूल्यांकनपछि हस्तान्तरण गरिने निर्माण कम्पनीका प्रतिनिधि तीर्थाराम खड्काले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
