अधिक मास मानव पात्रो र मौसमी पात्रोबीचको समायोजन मात्र हो। अरू कुनै दैवी रहस्य यसमा जोडिएको छैन। यस याममा यसो गर्नुहुन्छ, उसो गर्नुहुन्न भन्नुमा कुनै तुक छैन।
झन्डैझन्डै प्रत्येक तीनतीन वर्षमा दोहोरिइरहने अधिक मास यस विक्रम संवत् (वि.सं.) २०८० मा साउन २ गतेबाट शुरू भएको छ। खासमा के हो त अधिक मास? कसरी र कतिकति समय अन्तरालमा यो दोहोरिन्छ?
अधिक मासलाई मलमास, पुरुषोत्तम मास आदि नामले पनि चिनिन्छ। अधिक भन्नु थप र मासको अर्थ महिना हो।अर्थात् संवत् गणना गर्दा निश्चित अन्तरालमा थपिने समयलाई अधिक मास भनिन्छ। समय र साल/संवत् गणनामा विश्वमा मुख्यतः दुई खालका अभ्यास प्रचलनमा छन्। पहिलो, सूर्यको गति र अवस्थाअनुसार गणना गरिने सौर्य संवत् र दोस्रो, चन्द्रमाको गति र अवस्थाअनुसार गणना गरिने चन्द्र संवत्। पृथ्वीको जुनै ठाउँको मौसमी चक्र मुख्यतः सूर्य र पृथ्वीबीचको आपसी अवस्थाले निर्धारण गर्ने भएकोले पनि मौसमी चक्रको सम्बन्ध सौर्य संवत्सँग हुन्छ, तर चन्द्र संवत्सँग खासै हुन्न।
चन्द्र संवत् तिथि र औँसी/पूर्णिमामा आधारित हुन्छन् भने सौर्य संवत् गते/ तारिखमा आधारित हुन्छन्। सौर्य संवत्मा रहने अधिक वर्ष र चन्द्र संवत्मा हुने अधिक मास आ–आफ्नै प्रकारको हुन्छन्। पृथ्वीलाई सूर्यको वरिपरि पूरा परिक्रमा गर्न ३६५ दिन मात्र होइन, ३६५ दिन र ६ घण्टा (३६५.२५दिन) लाग्छ। यस हिसाबले यदि ३६५ दिन मात्रको १ वर्ष मानेर पात्रो निर्माण गर्ने हो भने १ सौर्य वर्ष (पृथ्वीले सूर्यलाई एक फन्का घुम्न लाग्ने समय)भन्दा पात्रोको १ वर्षको समय ६ घण्टाले छोटो हुन्छ। यस हिसाबले चार सौर्य वर्ष (पृथ्वीले सूर्यलाई चार फन्का घुम्न लाग्ने समय)भन्दा पात्रोको चार वर्षको समय १ दिनले छिटो हुन्छ।
यस छिटोपनालाई वास्ता नगर्ने हो भने ७३० वर्षपछि खास सौर्य समय र मौसमी चक्रको तुलनामा पात्रोको समय आधा वर्ष (१८२.५दिन) अगाडि सर्न पुग्छ, पात्रोमा मध्यपुस हुँदा काठमाडौँमा मध्यगर्मी र पात्रोमा मध्यजेठ हुँदा मध्यहिउँद पर्न जाने हुन्छ। यस त्रुटिलाई हटाउन पात्रोमा प्रत्येक चार वर्षमध्ये एक वर्षलाई एक दिनले बढाइन्छ, अथवा त्यस वर्षचाहिँ ३६६ दिनको वर्ष बनाइन्छ। उक्त ३६६ दिनको वर्षलाई अधिक वर्ष (लिप यर) भनिन्छ।
इस्वी संवत् (ई.सं.) मा प्रत्येक चार वर्षमा फेब्रुअरी महिनालाई २९ दिनको राखिन्छ भने अन्य वर्षमा २८ दिनको राख्ने चलन रहेको छ। यहाँनेर फेब्रुअरी २९ दिनको हुने वर्ष इस्वी संवत्को अधिक वर्ष हो। ई.सं., वि.सं. र 'ग्रेगोरियन यर'लगायतका सौर्य संवत्मा यस प्रकारको अभ्यास छ। ई.सं. मा अतिरिक्त समय थप्नु पर्दा फेब्रुअरी महिनामै थप्ने चलन छ भने नेपालमा प्रचलित वि.स. मा भने कुनै खास महिनामा नभई फागुनदेखि कात्तिकसम्मको कुनै एक महिनामा थप्ने अभ्यास छ। हिजोबाट शुरू भएको मलमासचाहिँ चन्द्रमाको गति र अवस्थामा आधारित चन्द्र संवत्तर्फको हो।
सौर्य संवत्को अधिक मासभन्दा चन्द्र संवत्को अधिक मास/अधिक वर्ष अलिक फरक छ। १२ चन्द्र मासलाई एक चन्द्र वर्ष मानिन्छ, जुन झन्डै ३५४.५ दिनको हुन्छ। यो चन्द्र वर्ष सौर्य वर्ष (३६५.२५दिन)भन्दा झन्डै १०.५ दिनले छिटो हुन्छ। चन्द्रमाले पृथ्वीलाई एक फन्का घुमिकन पुनः सूर्य–चन्द्र–पृथ्वीको पहिलेकै ज्यामितीय अवस्थामा आइपुग्न २९ दिन १२ घण्टा ४४ मिनेट ३ सेकेन्ड अर्थात् २९.५३ दिन लाग्छ, जुन समयलाई एक चन्द्र मास (सिनोडिक मन्थ) भनिन्छ। त्यो भनेको एक औँसीदेखि अर्को औँसीसम्मको समय हो।
यो चन्द्र मास औसत सौर्य मासको अवधि ३० दिन १० घण्टा २९ मिनेट ४ सेकेन्ड अथवा ३०.४३७ दिनभन्दा २१ घण्टा ४५ मिनेट २ सेकेन्ड (०.९०६२७ दिन)ले छोटो हुन्छ। यस हिसाबले एक चन्द्र मास (२९.५३ सौर्य दिन) छोटिन ३२.५८ सौर्य महिना समय लाग्छ, अथवा भनौँ ३२.५८ सौर्य महिनापछि चन्द्र संवत् ठीक एक चन्द्र महिनाले सौर्य संवत्भन्दा अघि आउँछ। यसलाई समायोजन/मिलान गरी चन्द्र संवत्लाई सौर्य संवत्सँग बराबर गर्न प्रत्येक ३२.५८ महिना (दुई वर्ष ८ महिना १७ दिन १३ घण्टा एक मिनेट ३० सेकेन्ड अथवा झन्डै तीन वर्ष)पछि चन्द्र संवत्मा एक चन्द्र मास थप गरिन्छ। थपिएको चन्द्र मासलाई नै अधिक मास भन्ने चलन छ।
चिनियाँ संवत्, नेपाल संवत्, 'हिन्दु संवत्' चन्द्र मासमा आधारित र भारतीय उपमहाद्वीपमा बढी प्रचलित लगायतका चन्द्र संवत्मा यस्तै प्रकारको चलन हुन्छ। यस हिसाबले प्रत्येक तीन वर्षमध्ये लगातारका दुई वर्षमा १२ वटा औँसी र १२ वटै पूर्णिमा पर्छन् भने अधिक मास रहेको तेस्रो वर्षचाहिँ १३ वटा औँसी र १३ वटै पूर्णिमा पर्छन्। अथवा तीन सौर्य वर्षमा ३६ चन्द्र मास होइन कि १२+१२+१३ गरी ३७ चन्द्र मास पर्छ।
यस हिसाबले प्रत्येक १९ वर्षमा सात वटा अधिक मास पर्छ।
यसरी अधिक मास थप नगर्ने हो भने के हुन्छ? एउटा उदाहरण हेरौँ: १९५.६ महिनापछि अथवा १६.३ वर्षपछि कोजाग्रत पूर्णिमाको दिन वैशाख पूर्णिमा र वैशाख पूर्णिमाको दिन कोजाग्रत पूर्णिमा उल्टो पाल्टो गरी पर्न जाने हुन्छ।
इरानी/हिजरी संवत् पनि चन्द्र महिनामै आधारित भए पनि यसमा हिन्दु संवत्मा जस्तो अधिक मासको समायोजन गरिँदैन। त्यसैले मुसलमानहरूको प्रत्येक चाड प्रत्येक वर्ष ११ दिनले अघि सर्दै आउँछ। जसले गर्दा मुसलमानहरू प्रत्येक ३३ वर्षमा प्रत्येक चाड प्रत्येक मौसममा मनाउने अवसर पाउँछन्। तर हिन्दूहरूको भने दशैँ–तिहार लगायत सबै पर्व प्रत्येक वर्ष ११ दिनले अघि आए पनि तीन–तीन वर्षमा अधिक मास थपेर पुनः पहिलेकै समय/मौसममा पुर्याइन्छ। सामान्यतया अन्य सालमा आश्विन कृष्ण औँसी (सोह्र श्राद्धको अन्तिम दिन)को भोलिपल्टै घटस्थापना हुने गर्थ्यो, तर वि.स. २०७७ सालमा अधिक मास (एक चन्द्र मास थप)ले गर्दा उक्त औँसीको एक चन्द्र मासपछि मात्र घटस्थापना शुरू भएको थियो।
चन्द्र संवत्को अधिक वर्ष प्रत्येक तीन वर्षमा दोहोरिने भए पनि, वर्षको अन्य समयमा पर्ने अधिक मास धेरै मान्छेलाई हेक्का हुन्न थ्यो, तर त्यस २०७७ सालमा दशैँको सामुन्ने अधिक मास पर्न गएकोले धेरैलाई हेक्का हुन पुग्यो। अन्य वर्षमा गुरुपूर्णिमाको एक चन्द्र महिनापछि जनैपूर्णिमा आउँछ, तर यस विक्रम संवत् २०८० मा भने गुरुपूर्णिमाको दुई चन्द्र महिनापछि मात्रै जनैपूर्णिमा आइपुग्नेछ। यसो हुनुमा साउन कृष्णपक्ष र शुक्ल पक्षको बीचमा एक अतिरिक्त चन्द्र मास थपिनु हो। यही अतिरिक्त चन्द्र मास/ अधिक मासलाई नै मलमास भनिएको हो।
सारांशमा भन्नुपर्दा सौर्य संवत्को पात्रो मिलानका लागि प्रत्येक चार सौर्य वर्षमा तीन वर्ष ३६५ दिनको र चौथो वर्ष भने ३६६ दिनको राखिन्छ भने चन्द्र संवत्लाई सौर्य संवत्सँग तालमेल मिलाउन प्रत्येक तीन चन्द्र वर्ष ३६ चन्द्र महिनाको नभएर एक अतिरिक्त चन्द्र महिनासहित ३७ चन्द्र महिनाको राखिन्छ।
यस हिसाबले अधिक मास मानव पात्रो र मौसमी पात्रोबीचको समायोजन मात्र हो। अरू कुनै दैवी रहस्य यसमा जोडिएको छैन। यस याममा यसो गर्नुहुन्छ, उसो गर्नुहुन्न भन्नुमा कुनै तुक छैन। यस वर्ष बिहे गरेका जोडीबीच शारीरिक सम्बन्ध गरेदेखि श्रीमान्को मृत्यु हुने भन्ने कुरा बकवास हो। पूर्णतः अफवाह र अन्धविश्वास हो। यस समयमा हुने जन्म, मृत्यु वा कुनै प्राकृतिक वा मानव सिर्जित क्रियाकलापलाई शुभ/अशुभ मान्नु अन्धविश्वास हो। यसमा कुनै वैज्ञानिक आधार छैन। नझुक्किऊँ। 'होरे र अँ रे' भन्दै बेकारका झमेलामा नफसौँ।
अन्तिममा यो प्रसंग पनि जोडिहालौँ, चन्द्रमाले पृथ्वीलाई ठीक एक फन्को घुम्न लगाउने समय २७ दिन २४ घण्टा ४३ मिनेट १२ सेकेन्ड (२७.३२२ दिन)लाई एक नक्षत्र मास (सिइडरल मन्थ) भनिन्छ। यसमा पनि आफ्नै किसिमको अधिक समय रहने गर्छ।
रिमाल भाैतिकशास्त्रमा स्नातकोत्तर हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
