दक्षिण कोरियामा मुसलधारे वर्षाका कारण मृत्यु हुनेको संख्या ३७ पुग्यो

अविरल वर्षाका कारण प्रभावित बनेका १४ वटा शहर र प्रान्तका आठ हजार ८५२ जनालाई सुरक्षित स्थानमा सारिएको छ।

दक्षिण कोरियामा पछिल्लो एक सातामा परेको मुसलधारे वर्षाका कारण मृत्यु हुनेको संख्या ३७ पुगेको छ भने नौ जना बेपत्ता भएका छन्। दक्षिणपूर्वी उत्तरी ग्योङसाङ प्रान्त र मध्य चुङचेओङ प्रान्तमा वर्षाजन्य विपत्तिका कारण मृत्यु भएका ३७ जनाको शव फेला परेको केन्द्रीय विपद् तथा सुरक्षा प्रतिकार्य मुख्यालयले जनाएको छ।

प्रान्तहरूका लागि भारी वर्षाको चेतावनी जारी गरिएको छ भने केही क्षेत्रहरूमा गत हप्ता नौ सय मिलिमिटरभन्दा बढी वर्षा भएको रेकर्ड गरिएको थियो। उत्तरी ग्योङसाङ प्रान्तमा नौ जना अझै बेपत्ता छन्। दक्षिणपश्चिमी जियोला, चुङछियोङ र ग्योङसाङ प्रान्तमा मंगलबारसम्म २५० मिलिमिटरसम्म थप वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बाढी, आवास भत्किने र पहिरोका कारण देशभर मृत्यु हुनेको संख्यामा वृद्धि भइरहेको छ। मध्य शहर ओसोङमा बाढीले बगाएको भूमिगत सुरुङमा फसेका सवारी साधनबाट नौ जनाको शव फेला परेको छ। अविरल वर्षाका कारण १४ वटा शहर र प्रान्तका आठ हजार ८५२ जनालाई सुरक्षित स्थानमा सारिएको छ।