खण्डहर बन्यो भानुभक्तको जन्मघर

माटो र ढुंगाले बनेको घरको गाह्रो चारैतिर भत्केर भग्नावशेष मात्र बाँकी छ। घरभित्रै ठूलाठूला काँडासहितका बिरुवा हुर्केका छन्। आदिकवि भानुभक्त आचार्य जन्मिएको यो घर पुनः निर्माण गर्ने तयारी छ।

तस्वीर: रासस

तनहुँ– भानु नगरपालिका–४ चुँदीरम्घा शिखर कटेरीमा भानुभक्तको घर खण्डहर अवस्थामा छ। माटो र ढुंगाले बनेको घरको गाह्रो चारैतिर भत्केर भग्नावशेष मात्र बाँकी छ। घरभित्रै ठूलाठूला काँडासहितका बिरुवा हुर्केका छन्। भग्नावशेष हेर्दा घरको भित्ताजस्तो पनि देखिँदैन।

नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदीरम्घामा यहीवर्ष घर पुनः निर्माणको काम शुरू गर्ने तयारी छ। भानु नगरपालिका–४ चुँदीरम्घा शिखर कटेरीस्थित खण्डहर बनेको पुरानो घर भएको ठाउँमा नयाँ घर पुनः निर्माणको तयारी गरिएको हो।

भानुभक्त आचार्यको सम्मानमा स्थापना गरिएको आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले आगामी आर्थिक वर्ष २०८०÷८१ भित्रै घर पुनः निर्माणको काम शरू हुने समितिका कार्यकारी निर्देशक शंकर रानाभाटले बताए। “कंक्रिटको घर बनाउन नसकिए पनि ढुंगा माटोको भए पनि घर निर्माणका लागि काम शुरू हुन्छ, नगरपालिका, प्रदेश र संघ सरकारलाई पनि घर निर्माणका लागि सहयोगको अपिल गर्छौँ,” उनले भने।

पश्चिमाञ्चल विकास मञ्चले भानुगृह निर्माणका लागि २०७३ चैत २२ गते शिलान्यास गरे पनि काम शुरू हुनसकेको छैन। अब भने विकास मञ्चको भर नपर्ने रानाभाटको भनाइ छ। भने, “विकास मञ्चको भर पर्दा अपजस मात्रै भयो, अब हामी आफ्नै सक्रियतामा काम गर्छौँ।”

भानुभक्तको घर पुनः निर्माणपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने विश्वास गरिएको छ। “आदिकवि भानुभक्तको नाममा देश तथा विदेशमा भव्य कार्यक्रम हुन्छ तर गृह जिल्लामै भानुभक्तलाई उपेक्षित गरियो कि भन्ने भान हामीलाई हुन्छ,” उनले भने, “घर पुनः निर्माण गर्न सकिए यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुने विश्वास छ।”

भानुगृह निर्माण गर्ने ठाउँ सामुदायिक वनभित्र रहेकाले सुरक्षाको पनि समस्या देखिएको छ। २०५७ मा भानु जन्मस्थल विकास समितिको सहयोगमा यादव खरेलले ‘आदिकवि भानुभक्त’  चलचित्र निर्माण गर्नका लागि भानुभक्तको घर एक लाख रुपैयाँमा पुनः निर्माण गरेका थिए। जंगलबीचको खरको छानाको घरमा २०६१ जेठमा आगलागी भएको थियो। 

भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले राष्ट्रिय विभूतिको अलपत्र रहेको घर पुनः निर्माणका लागि नगरपालिका प्रयासरत रहेको बताए। भानु जन्मस्थललाई भानुधामका रूपमा विकास गर्ने नगरपालिकाको योजना रहेको उनको भनाइ छ।