२०११ असार २१ गते कास्कीको हेम्जामा जन्मिएकी दाहाल २०२८ सालदेखि नै कम्युनिस्ट आन्दोलनमा आबद्ध भएकी थिइन्।
काठमाडौँ– नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का जीवनसंगिनी एवं पार्टीका सल्लाहकार सीता दाहालको निधनबाट सिंगो पार्टी स्तब्ध भएको जनाएको छ।
महासचिव देवप्रसाद गुरुङले शोक वक्तव्य जारी गर्दै दाहालको निधनबाट पार्टी, जनता र राष्ट्रका लागि अपूरणीय क्षति भएको बताएका छन्। दाहालले नेपालको कम्युनिस्ट आन्दोलनमा महत्त्वपूर्ण र अविस्मरणीय योगदान पुर्याएको स्मरण गर्दै महासचिव गुरुङले ‘सिद्धान्तप्रतिको निष्ठा, उन्नत राजनीतिक चेतना, पार्टी, जनता र राष्ट्रप्रतिको निःस्वार्थ एवं असीमित समर्पण दाहालका विशेषता हुन्’ भनेका छन्।
“सीताले देश र जनताको मुक्ति एवं परिवर्तनका निम्ति खेल्नुभएको योगदानको उच्च सम्मान गर्दै सिंगो पार्टी उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ,” वक्तव्यमा भनिएको छ, “प्रधानमन्त्री एवं पार्टी अध्यक्ष दाहाललगायत सिंगो परिवारप्रति समवेदना व्यक्त गर्दै धैर्यधारणका लागि अपिल गर्दछौँ।”
दाहालको आज बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा निधन भएको थियो। २०११ असार २१ गते कास्कीको हेम्जामा आमा हरिकला पौडेल र बुवा महेश्वर पौडेलको कोखबाट जन्मिएकी उनको २०२६ सालमा विवाह भएको थियो।
२०२८ सालदेखि नै कम्युनिस्ट आन्दोलनमा आबद्ध दाहाल जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल माओवादी केन्द्रको सल्लाहकार थिइन्। पार्टीको कामका लागि पञ्चायतकालमा लामो समय भूमिगत जीवन बिताएकी दाहाल ‘जनयुद्ध’ शुरूआत भएपछि २०५२ सालदेखि भूमिगत राजनीतिमा सक्रिय भइन्।
‘जनयुद्ध’का समयमा सिंगो पार्टीको अभिभावकका रूपमा पार्टीभित्रका चुनौती, संकट, विवाद समाधानका निम्ति समन्वयकारी भूमिका निर्वाह गरेकी थिइन्। पछिल्लो समय उनी पार्किन्सनलगायत रोगबाट पीडित थिइन्।
दाहालका चार सन्तानमध्ये जेठी छोरी ज्ञानुको क्यान्सर र छोरा प्रकाशको हृदयाघातका कारण निधन भइसकेको छ। छोरी रेनु र गंगा राजनीतिमा सक्रिय छन्।
सल्लाहकार दाहालको पार्थीव शरीर श्रद्धाञ्जलीका लागि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने र २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
