एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाल भारत भ्रमणका क्रममा भारतीय गुप्तचर प्रमुखकै घरमा गएर बसेको दाबी गरेका छन्।
काठमाडौँ– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा भारतीय गुप्तचर प्रमुखलाई भेटेर आएको आरोप लगाएका छन्।
शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाल भारत भ्रमणका क्रममा भारतीय गुप्तचर प्रमुखकै घरमा गएर बसेको दाबी गरेका हुन्। उनले उक्त भेट पनि प्रधानमन्त्री दाहालले लुकाएको आरोप लगाए।
भारतीय गुप्तचर प्रमुख नेपालमा आएका बेला आफूले सार्वजनिक रूपमै भेटेको र कुनै कुरा नलुकाएको उनको भनाइ थियो। “भारतबाट ‘रअ’का प्रमुख नेपाल आए, मसँग भेट्छु भने, मैले सार्वजनिक रूपमा भेटेँ, कुरा गरेँ, यस पटक प्रचण्डजी दिल्ली जानुभयो, उनको निवासमा गएर लुकेर भेट्नुभयो। गोप्य मन्त्रणा गरेर आउनु भयो,” उनले भने।
उनले आफूले रअ प्रमुखलाई भेटेको प्रसंगलाई थप व्याख्या गर्दै भने, “मैले त्यस्तो गोप्य मन्त्रणा गरेको होइन, उहाँ गएर भेटेको होइन। मलाई भेट्न आएको ठाउँमा मैले भेट दिएको हो। जनताको हितको पक्षमा कुरा गरेँ, अहित केही कुरा गरिनँ, उहाँले देशको हितको पक्षमा कुन शब्द उच्चारण गर्नुभयो, के भन्नुभयो, भेटेको कुरा पनि स्विकार्न सक्नुहुन्न उहाँ।”
अध्यक्ष ओलीले नेपालमा बहुदलीय व्यवस्था रहेको तर लोकतन्त्र र कानूनी राज नरहेको जिकिर गरे। उनले प्रधानमन्त्री दाहालको अभिव्यक्तिले नेपालको प्रधानमन्त्री नेपाली जनता र नेपाली संसद्बाट नचुनिएको, लोकतन्त्र, देश र सार्वभौम सत्तामाथि ठट्टा भएको बताए। केही दिन अघि प्रधानमन्त्री दाहालले पुस्तक विमोचनका क्रममा दिएको अभिव्यक्तिलाई लक्षित गर्दै ओलीले प्रधानमन्त्री दाहालप्रति टिप्पणी गर्दै प्रधानमन्त्रीबाट छिमेकी देशलाई समेत विवादमा तान्ने प्रयास गरिएको बताए।
नेपाली जनतामा रहेको सार्वभौम सत्ताको मजाक गर्न नमिल्ने भन्दै प्रधानमन्त्रीले राजीनामा गर्नुपर्ने र सत्तापक्षसँग कुनै पनि स्थानमा भेट्न तयार रहेको बताए। उनले सत्तापक्षले घमन्ड देखाएर संसद्मा भेट्ने भनेको उल्लेख गर्दै सत्तापक्षसँग यसबारेमा कुनै पनि ठाउँमा भेट्न तयार रहेको उल्लेख गरे।
अध्यक्ष ओलीले कोही प्रदेशमा सरकार गठनको नाममा लगातार संविधान मिचिएको बताए। उनले सभामुखसहितको हस्ताक्षर बुझाएर सरकार गठन गर्ने कुरा उचित नरहेको बताए। उनले अहिलेको कोशी प्रदेश सरकार संघबाट दिएको निर्देशनअनुसार चलेको र संविधानको बर्खिलापमा गएको आरोप लगाए।
“कोशी प्रदेशमा गठबन्धनको हिजोको आदेशले सभामुखलाई दलको हैसियतमा समर्थन गर्न लगाइयो, सही गर्न लगायो। त्यहाँका प्रदेश प्रमुखले त्यो कुरा देखी–देखी, यहाँबाट ह्विप जारी गरेपछि कानून विपरीत सरकार गठन गर्नुभयो,” उनले भने।
उनले पूर्वसभामुख अग्निप्रसाद सापकोटामाथि पनि गम्भीर आरोप लगाए। “अघिल्लो संसद्को सभामुख अग्निप्रसाद सापकोटा कानूनअनुसार होइन, प्रचण्डको आदेशअनुसार मात्रै चल्नुहुन्थ्यो,” उनले भने।
अध्यक्ष ओलीले सत्ता गठबन्धनले देशका हितलाई जन्मदिनको केकझैँ काटेको टिप्पणी गरे। उनले राष्ट्रपतिबाट संविधान विपरीत नागरिकता विधेयक प्रमाणीकरण भएको उल्लेख गर्दै संविधानअनुसार अघि बढाउनुपर्ने विषय मन्त्रिपरिषद्बाट पठाइनु विश्वकै इतिहासमा नौलो भएको बताए। उनले वर्तमान सत्तारुढ गठबन्धन सत्ताको उन्मादमा रुमलिएको बताए।
उनले राष्ट्रपति रामचन्द्र पौडेलले सत्ताको पक्षपोषण गरेको आरोप लगाए। “सम्माननीय राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि सर्नुभयो। उहाँले सत्ताको पक्ष पोषण गर्नुभयो। सत्ताको पक्ष लिनका लागि राष्ट्रपतिले संविधान मिच्नुभयो,” उनले भने। अध्यक्ष ओलीले बालुवाटार, शीतलनिवास लगायतका अनियमताका घटनाहरूको सत्यतथ्य छानबिन गर्न एमाले तयार रहेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
