महिला साफ : १२ वर्षमा नफर्किएको खोलो

नेपाल उपविजेतामै सीमित हुनुमा प्रशिक्षक कुमार थापा अवसरको सदुपयोग गर्न नसक्नुलाई मान्छन्। तर, खेलाडी कमजोर घरेलु संरचनाका कारण फाइनल जित्ने गरी तयारी नपुगेको बताउँछन्।

तस्वीर: एन्फा

काठमाडौं- ‘टचलाइन’ उभिएका नेपाली टोलीका मुख्य प्रशिक्षक कुमार थापालाई मात्रै होइन, त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा उपस्थित १५ हजार ७३० दर्शकलाई समेत उत्तिकै खुल्दुली थियो– साफ महिला च्याम्पियनसिप-२०२२ को नयाँ विजेता को होला?



साफ महिला च्याम्पियनसिपको पाँचौं संस्करणसम्म भारतीय टोलीकै दबदबा थियो। यसपटक पनि भारतलाई नै उपाधिको दाबेदार मानिएको थियो। तर, केही मुख्य खेलाडीबिना नै नेपाल उत्रिएको भारतीय टोली यसपटक मैदानमा फिक्का देखियो। फाइनल यात्रा तय गरेका नेपाल र बंगलादेश दुवै टोलीले भारतलाई नै पराजित गर्दै ऐतिहासिक जित दर्ज गरे। भारतबिना नै फाइनल खेलेको यो पहिलो पटक हो। त्यसैले पनि कुन टोलीले उपाधि जित्ला, सबैलाई खुल्दुली लाग्नु स्वभाविक नै हो।



तर, मुख्य प्रशिक्षक थापा र उपस्थित दर्शकको खुल्दुली भने खेलको १४औं मिनेटमै मेटियो। नियमित स्ट्राइकर जाहान सोपना चोटका कारण खेल्न नसक्ने भएपछि बंगलादेशका मुख्य प्रशिक्षक गोलाम रोब्बानी छोटोनले खेलको १०औं मिनेटमा समसुनाहरलाई मैदान पठाए। मैदान छिरेसँगै केही आक्रमक देखिएकी उनी बंगलादेशको जितमा ‘ट्रनिङ प्वाइन्ट’ सावित भइन्। उनले खेलमा एक गोल मात्रै होइन, थप एक गोलका लागि कप्तान सविना खातुनलाई सहयोग गरिन्।



मैदान छिरेको ४ मिनेटमै समसुनाहरले मोनिका चक्माको क्रसलाई ‘भली’ प्रहार गर्दै पोस्टको दिशा दिइन्। उनको प्रहार गोलरक्षक तथा कप्तान एन्जिला तुम्बापो सुब्बाको टाउको माथिबाट जाली चुम्यु। त्यसपछि खेलको ४१औं मिनेटमा उनैले पेनाल्टी क्षेत्रअघि बल खोसेर कप्तान सविना खातुनलाई पास दिइन्। उनले दिएको ‘थ्रु पास’लाई कृष्णरानी सरकारले अफसाइड ‘ट्रयाप बिट’ गर्दै ‘वन भर्सेस वन’मा एन्जिलालाई बचाउको अवसर दिइनन्।



बंगलादेशले खेलको सुरुआतदेखि नै नेपाली टोलीलाई दबदबामा राख्यो। पहिलो हाफमै दुई गोलले पछि परेको नेपाल खेलमा फर्किने सम्भावना न्यून बन्दै गयो। 



‘हामीले सक्दो मिहिनेत गरेका थियौँ। तर, केही गल्ती गर्दा पहिलो हाफमै दुई गोल खान पुग्यौँ। त्यसपछि पनि हामीले केही उत्कृष्ट मौका बनायौँ। तर, सदुपयोग गर्न नसक्दा हार बेहोर्न बाध्य भयौँ,’ प्रशिक्षक थापा भन्छन्।



पहिलो हाफको तुलनामा नेपाली टोलीले दोस्रो हाफमा सुधारिएको खेल पस्कियो। मुख्य प्रशिक्षक थापाले बंगलादेशविरुद्ध पनि सेमिफाइनलमा भारतलाई हराएको टोलीलाई नै निरन्तरता दिएका थिए। तर, पहिलो हाफको समाप्तीमा उनको मुख्य खेलाडी विंगर अनिता बस्नेत र अनिता केसी तथा फरवार्ड रश्मीकुमारी घिसिङ र प्रीति राईसमेत चल्न सकेनन्।



दोस्रो हाफमा खेललाई लयमा फर्काउन मुख्य प्रशिक्षक थापाले अपनाएका रणनीति पनि पर्याप्त भएनन्। उनले डेंगी संक्रमण भएर बेञ्चमा बसिरहेकी कीर्तिमानी गोलकर्ता सावित्रा भण्डारी (साम्बा)लाई समेत ‘सप्राइज प्याकेज’को रूपमा मैदान उतारेका थिए। अग्रपंक्तिमै श्रीलंकाविरुद्ध समूह चरणको खेलमा २ गोल गरेकी अमिषा कार्की र रेखा पौडेललाई पनि मैदान पठाए। तर, तीनै खेलाडीलाई बंगलादेशका डिफेन्डरले ‘म्यान टू म्यान चेक’ बस्दै चल्न दिएनन्।



सेमिफाइनलमा भारतविरुद्ध निर्णायक गोल गरेकी रश्मि र सावित्राले पेनाल्टी क्षेत्रमा पाएका सहज अवसर सदुपयोग गर्न सकेनन्। ‘रश्मि र सावित्राले दोस्रो हाफमा पेनाल्टी बक्समा पाएको सहज अवसरलाई पनि गोलमा परिणत गर्न सकेनन्। यदि त्यो अवसरलाई सदुपयोग गर्न सकेको भए त हामी ३–३ को स्थितिमा पुग्ने थियौँ नि,’ मुख्य प्रशिक्षक थापा भन्छन्।



यता, बंगलादेशका खेलाडीले तीनैपल्ट पाएका अवसर सदुपयोग गरे। ७७औं मिनेटमा मिडफिल्डमा नेपाली खेलाडीले तालमेल नपुर्‍याउँदा गुमाएको बलमा ‘काउन्टर अट्याक’मा कृष्णरानीले गोलरक्षकलाई कुनै अवसर नै नदिई गोल गर्दा नेपाल खेलमा ३–१ ले पछि पर्‍यो। त्यसपछि पनि केही अवसर सिर्जना गरे पनि नेपाली खेलाडी हिलाम्मे मैदानमा केही सुस्त देखिए। 



फाइनलमा मात्रै होइन, यो साफको समग्र प्रदर्शनलाई हेर्दा बंगलादेश नै उपाधिको हकदार थियो। समूह चरणको पहिलो खेलमा माल्दिभ्सलाई ३–० ले पराजित गरेको बंगलादेशले दोस्रो खेलमा कप्तान सविनाको ‘ह्याट्रिक’मा ६–० को फराकिलो जित निकालेको थियो।



यस्तै, समूह चरणअन्तर्गतको तेस्रो तथा अन्तिम खेलमा भने बंगलादेशले ५ पटकको उपाधि विजेता भारतलाई ३–० ले हराउँदै उपाधि दाबेदारको रूपमा आफूलाई प्रस्तुत गरेको थियो। बंगलादेशले भारतलाई साफमा हराएको नै यो पहिलोपटक हो।



एकै समूहमा रहँदा सन् २०१६ मा गोलरहित बराबरीमा रोक्नु नै भारतविरुद्ध बंगलादेशको अहिलेसम्मको सफल नतिजा थियो। त्यसबाहेक पाँच भेटमा पाँचै पटक भारतसँग बंगलादेश पराजित थियो।



बंगलादेशले सेमिफाइनलमा प्रतियोगिताकै कमजोर मानिएको भुटानलाई हराउँदै फाइनलमा नेपालसँगको भेट पक्का गरेको थियो। यता, नेपाल समूह चरणमा भुटानलाई २–० र श्रीलंकालाई ६–० ले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको थियो। नेपालले उक्त खेलमा भारतमाथि १–० को जित मात्रै निकालेन, सन् २०१६ मा भएको साफ च्याम्पियनसिपअन्तर्गत सेमिफाइनलमा बेहोरको हारको बदलासमेत लियो। ०१६ को उक्त भिडन्तमा पनि नेपाली महिला टोलीको मुख्य प्रशिक्षक थिए उनै, थापा।



त्यसअघि र त्यसपछि पनि भारतसँग नेपालको भेट नभएको होइन। तर, सबै खेलमा नेपाललाई नै हराउँदै भारतले कि फाइनलको यात्रा तय गरेको थियो कि उपाधि रक्षा। साफको पहिलो संस्करणको फाइनलमा १–०, दोस्रोमा ३–१, तेस्रोमा ६–० ले भारतसँग पराजित भएको नेपालले सन् २०१६ को सेमिफाइनल नतिजा ३–१ ले सुम्पेको थियो। पाँचौं संस्करणको फाइनलमा भने नेपाल भारतसँग ३–० ले पराजित भएको थियो।



तर, साफको मात्र इतिहास हेर्ने हो भने बंगलादेशमाथि नेपाल सधैँ हाबी हुँदै आएको थियो। बंगलादेशले हराउन नसकेको दुई टोली नेपाल र भारत नै थिए। तसर्थ, नेपालका लागि पनि बंगलादेश भारतभन्दा सहज प्रतिद्वन्द्वी मानिएको थियो। अर्थात् साफ सुरु भएको १२ वर्षमा नेपालमा खोलो फर्काउने विश्वास गरिएको थियो।



बंगलादेशसँग यसअघिका ३ भेटमा नेपालले सबै खेल जितेको थियो। नेपालले बंगलादेशलाई सन् २०१० को पहिलो संस्करणमा ३–० र ०१४ को तेस्रो संस्करणमा १–० ले हराउँदै फाइनलको यात्रा तय गरेको थियो। 



०१९ को विराटनगरमा भएको पाँचौं संस्करणको एकै समूहमा रहँदा नेपालले बंगलादेशलाई ३–० ले हराएको थियो। २०१६ को संस्करणमा नेपाल फाइनल पुग्न असफल हुँदा बंगलादेशले भारतविरुद्ध फाइनल खेलेको थियो। तर, बंगलादेश ३–१ ले पराजित भएको थियो।



सबैखाले प्रतिस्पर्धामा ८ पटक एकअर्काविरुद्ध खेल्दा नेपालले ६ पटक जितेको छ भने दुई खेल बराबरीमा टुंगिएको थियो। गत वर्ष दशरथ रंगशालामै खेलिएका दुई मैत्रीपूर्ण खेलमा पहिलो खेलमा नेपाल २–१ ले विजयी भएको थियो भने दोस्रो खेल गोलरहित बराबरीमा टुंगिएको थिए। त्यसयता सोमबार पहिलो पटक नेपाल र बंगलादेशले एकअर्काको सामना गरेको थियो। तर, यसपटकको नवौं भेटमा भने बंगलादेशले बाजी मार्‍यो।



नेपाली महिला टोलीका कप्तान एन्जिला बंगादेशको पहिलो हारको कारण नेपालको कमजोर घरेलु संरचना मान्छिन्। वर्षमा एक दुईपटक आयोजना हुने प्रतियोगिताको कारण नै खेलमा अभ्यस्त हुन नसकेको उनको भनाइ छ।



‘हामीले जे छ त्यो वातावरणमा राम्रो प्रदर्शन गरेका हौं। तर, हाम्रो हारको कारण भने पर्याप्त म्यान एक्सप्रोजर नहुनु हो। घरेलु फुटबल प्रतियोगिताकै कुरा गर्ने हो भने पनि वर्षमा एक दुई प्रतियोगिता हो। त्यसमा पनि विभागीय टोली बलियो छन्। त्यसैले पनि हामीले पर्याप्त खेल्न पाएनौँ र हार बेहोर्न पर्‍यो,’ उनले भनिन्।