तिनाउ नदीमा बाढी, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

गए रातिदेखि रुपन्देही, पाल्पालगायत आसपासका जिल्लामा भीषण वर्षा भइरहेको छ। बुटवलस्थित बाढी मापन केन्द्रका अनुसार तिनाउमा पानीको सतह ७.२२ मिटर पुगेको छ।

तस्वीर: केशर राेका

लुम्बिनी– लगातारको वर्षाका कारण तिनाउ नदीमा आएको बाढीले पानीको सतह खतराको तह पार गरेको छ। 

गए रातिदेखि रुपन्देही, पाल्पालगायत आसपासका जिल्लामा भीषण वर्षा भइरहेको छ। यसले तिनाउ नदीमा पानीको सतह बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले तिनाउ नदीले खतराको तह पार गरेको र जिल्लाका सबै स्थानीय सरकारलाई यसबारे सतर्क रहन आग्रह गरिएको बताए। मंगलबार बिहानैदेखि तिनाउले खतराको तह पार गरेको हो।

बुटवलस्थित बाढी मापन केन्द्रका अनुसार तिनाउमा पानीको सतह ७.२२ मिटर पुगेको छ। महाशाखाका अनुसार जल सतह ५.२ मिटरलाई सतर्कता तह मानिन्छ भने ५.६ मिटरलाई खतराको तह मानिन्छ।

तिनाउ नदीको जल सतह ६.८८ मिटर पुगेपछि तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। तिनाउ नदीले खतराको तह पार गरे पनि मानवीय र भौतिक क्षति नभएको रुपन्देही प्रहरीले जनाएको छ। 

तिनाउलगायत रुपन्देहीका अन्य नदीमा पनि पानीको बहाव बढेकाले नदी किनारमा रहेका सर्वसाधारणलाई सुरक्षित रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए। 

जिल्लास्थित सुरक्षाका तीनैवटा निकायलाई तयारी अवस्थामा रहन पनि निर्देशन दिइएको छ।