ललितपुर जिल्ला अदालतका कर्मचारीले घूस मागेको र झूटो आरोप लगाएर वकिल पक्राउ गराएको भन्दै ललितपुर बार एसोसिएसनको नेतृत्वमा कानून व्यवसायीहरूले प्रदर्शन गरेका छन्।
ललितपुर– ललितपुर बार एसोसिएसनको नेतृत्वमा कानून व्यवसायीहरूले ललितपुर जिल्ला अदालतमा प्रदर्शन गरेका छन्। उनीहरूले एक अधिवक्तासँग घूस मागेको भनिएकी अदालतकी कर्मचारीका साथै मुख्य न्यायाधीश र श्रेस्तेदारको सरुवा गर्नुपर्ने माग गरेका छन्।
जिल्ला अदालतकी नायब सुब्बा प्रेमिका तामाङ र अधिवक्ता अमिर लामिछानेबीच हात हालाहाल भएपछि लामिछानेलाई प्रहरीले पक्राउ गरेको विरोधमा कानून व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन्। उनीहरूले सीसीटीभी फुटेजका आधारमा अनुसन्धान हुनुपर्ने माग गरेका छन्।
नासु तामाङलाई काम गरिरहेको अवस्थामा असार १३ गते लामिछानेले आक्रमण गरेको भन्दै आइतबार देशभरका अदालतका कर्मचारीले तीन घन्टा काम नगरी विरोध जनाएका थिए। त्यही दिन नेपाल बार एसोसिएसनले सोमबार बन्दी प्रत्यिक्षीकरणबाहेक अन्य मुद्दा नहेर्ने भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए।
अधिवक्ता लामिछाने असार १३ गते दिउँसो साढे ४ बजेतिर तारेख लिन जिल्ला अदालत गएका थिए। उनी नासु तामाङको फाँटमा तारेखका लागि पुगेका थिए। उनले अनुमतिबिना नै मिसिल निकालेर हेरेको र त्यसो नगर्न भन्दा गालीगलौज गर्दै हातपात गरेको अदालतका कर्मचारी बताउँछन्।
तर, लामिछानेले नासु तामाङले घूस मागेको र त्यहीकारण विवाद भएको बताएका छन्। उनीविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी परेको थियो। प्रहरीले लामिछानेलाई पक्राउ गरे पनि बार एसोसिएसनले आन्दोलन घोषणा गरेपछि आइतबार नै साधारण तारेखमा छाडिएको छ।
बारले गरेको प्रदर्शनका क्रममा ललितपुर जिल्ला अदालत परिसरमा बोल्दै अधिवक्ता भोजराज आचार्यले लामिछानेविरुद्धको आरोप झूटो भएकाले उजुरी खारेज हुनुपर्ने बताए। उनले जिल्ला अदालतका मुख्य न्यायाधीश, श्रेस्तेदार र सम्बन्धित कर्मचारीको सरुवा हुनुपर्ने समेत बताए।

नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठले अदालतबाट ‘भ्रष्टाचारको नाइके’ हटे पनि भ्रष्ट प्रवृति हट्न नसकेको आरोप लगाए। “दुई वर्ष अघि गरेको आन्दोलनकै कारण चोलेन्द्रशम्शेर जबरामाथि महाभियोग लागेको थियो। भ्रष्टाचारको प्रवृत्ति निर्मुल नभएसम्म बार एशोसिएनको आन्दोलन निरन्तर हुन्छ।”
ललितपुर जिल्ला अदालतमा कार्यरत नायब सुब्बा तामाङ अदालतमा रहुन्जेलसम्म सहमति हुन नसक्ने उनले बताए। “बारबिहीन न्यायापालिका हुन सक्दैन। तर त्यो दिनको घटनामा ललितपुर बारलाई वेवास्ता गरेर एक जना वकिललाई प्रहरीमा बुझाइएको छ,” उनले भने, “त्यो काम भ्रष्टाचारीले गरेको हो।”
पूर्वमहान्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले नेपाल बारले भ्रष्टाचारविरुद्ध कुरा उठाउँदा बारम्बार यस्ता घटना हुने गरेको बताए। “पहिले न्यायाधीशहरूले गर्ने भ्रष्टाचारको विषयका विरुद्धमा मात्रै हामीले आवाज उठाएका थियौँ, अमिर लामिछानेको कारण अदालतका फाँटमा हुने भ्रष्टाचारविरुद्ध पनि अभियान शुरू गर्न जरुरी भएको छ।”
सर्वाेच्च अदालत बार एशोसिएशनका पूर्वअध्यक्ष पूर्णमान शाक्यले हरिकृष्ण कार्कीको प्रतिवेदनमा हरेक अदालतमा सीसीटीभीको व्यवस्था हुनुपर्ने विषयसमेत उल्लेख भएको बताए। तर कर्मचारीले सीसीटीभी फुटेजलाई आफ्नो सम्पत्ति बनाएर दुरुपयोग गरेको उनको आरोप छ।
अधिवक्ता टीकाराम भट्टराईले एकपक्षीय कुरा सुनेर अदालत परिसरबाट अधिवक्ता लामिछानेलाई पक्राउ गरी हिरासतमा राखिएको आरोप लगाए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
