किसानलाई सधैँ सिँचाइ र मलको पिर

सिँचाइ अभावमा बागलुङका किसान अकाशे पानीका भरमा धान रोप्न बाध्य छन्। वैशाखदेखि असार पहिलो सातासम्म खडेरी परेकाले यसवर्ष रोपाइँ ढिला भएको छ। 

ढोरपाटन– आज देशभर राष्ट्रिय धान दिवस मनाइँदै छ। यति बेलासम्म बागलुङमा ५० प्रतिशत रोपाइँ हुनु पर्नेमा सिँचाइ र मल अभावका कारण २० प्रतिशत मात्रै रोपाइँ भएको छ।

भौगोलिक बनोट र भिरालो जमिनका कारण यहाँ पर्याप्त सिँचाइको सुविधा छैन। सिँचाइ अभावमा किसान अकाशे पानीका भरमा धान रोप्न बाध्य छन्। वैशाखदेखि असार पहिलो सातासम्म खडेरी परेकाले यसवर्ष रोपाइँ ढिला भएको किसान बताउँछन्।

केही दिनयतादेखि निरन्तर वर्षा हुन थालेपछि कृषक खेतबारीमा पुगेर खनजोतमा लागेका छन्।जिल्लाको निसीखोला र गलकोटका अधिकांश ठाउँमा रोपाइँ भए पनि अन्य पालिकामा न्यून मात्रामा भएको छ।

केही दिनदेखि परेको वर्षाले किसानलाई राहत मिलेको गलकोटका विरबहादुर खत्रीले बताए। “धान र कोदाको ब्याड राखेपछि लामो समय पानी नपर्दा बीउ कसरी जोगाउने भन्ने चिन्ता थियो। पानी पर्न थालेपछि खनजोतमा व्यस्त छन्,” उनले भने। व्यवस्थित सिँचाइका लागि नहर र कुलो नहुँदा रोपाइँ सकिसक्नुपर्ने बेला बल्ल शुरू गर्नुपरेको उनले बताए।  

गाउँमा धेरै जसो किसानले गोठे तथा प्रांगारिक मल प्रयोग गरे पनि पछिल्लो समय पशुचौपाया पाल्न छोडेपछि रासायनिक मलको आवश्यक पर्ने गरेको छ। रासायनिक मल जिल्ला सदरमुकामसम्म आएपछि दुर्गम गाउँसम्म नपुगेको उनको भनाइ छ।

“पहाडी क्षेत्र भए पनि हाम्रो ठाउँमा धान राम्रो उत्पादन हुन्छ। सिँचाइ र मल अभावका कारण समयमा रोपाइँ गर्न सकिएको छैन,” कृषक खत्रीले भने, “यसलाई सरोकारवाला निकायले अहिलेसम्म पनि समाधान गर्न सकेनन्। खोलानाला प्रशस्त छन् तर कुलो नभएकाले खेतमा पानी ल्याउन सकिएको छैन।” 

अर्का किसान नीमप्रसाद पौडेलले सरकारले कृषिमा करोडौँ बजेट विनियोजन गरे पनि कृषकले आवश्यकता अनुसार सेवा लिन नपाएको गुनासो गरे। मलबिना नै धान लगाउनु परेको भन्दै उनले मलिलो माटो नहुँदा धान उत्पादन घट्ने बताए। 

 “अहिले धान उत्पादन हुने जमिन घट्दै छ। पहिले गाउँभरिका अधिकांश खेतमा धान लगाइन्थ्यो। उत्पादन पनि राम्रो हुन्थ्यो। अहिले न समयमा मल आउँछ, न पानी पुर्‍याउन सकिन्छ,” उनले भने, “काम गर्नलाई मान्छे पाइँदैनन्, गाउँ सुनसान हुन थाल्यो। भएका मान्छेले पनि गाईभैँसी पाल्न छाडिसके, कहाँबाट मल हुन्छरु बजारबाट ल्याउने मल रोपाइँ सकिएपछि बल्ल आउँछ।”

बागलुङमा ४६ हजार १४८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेकामा ३० हजार ५२३ हेक्टर क्षेत्रफलमा मात्रै खेती हुँदै आएको छ। त्यसमध्ये छ हजार १४८ हेक्टर क्षेत्रफल जमिनमा मात्रै सिँचाइको सहज पहुँच पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ।

केन्द्रका प्रमुख भानुभक्त भट्टराईले हालसम्म जिल्लाभर २० प्रतिशत रोपाइँ भएको बताए। लामो समय खडेरी पर्दा कृषकले बीउ तयार गरे पनि रोपाइँ गर्न नसकेको उनको भनाइ छ।