सांसदहरूले पशुपतिमा रहेको सुनको जलहरीका विषयमा छानबिन गर्न संसदीय समिति बनाउन माग गरेका छन्।
काठमाडौँ– सांसदहरूले पशुपतिमा रहेको सुनको जलहरीका विषयमा छानबिन गर्न संसदीय समिति बनाउन माग गरेका छन्। सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै प्रतिनिधिसभा सदस्यहरूले जलहरी निर्माणका क्रममा कति सुन हरायो र कति बाँकी भन्ने सदनलाई स्पष्ट पार्न माग गरेका छन्। त्यस्तै, उनीहरूले आगामी वर्षको बजेट असन्तुलित र अव्यावहारिक रहेकाले संशोधन गरेर पारित गर्नुपर्नेसहित समसामयिक विषयमा पनि सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले धार्मिक आस्थाको केन्द्रमा भ्रष्टाचार जोडिँदा संसारसामु देशको शिर निहुरिएको बताउँदै पशुपतिमा रहेको सुनको जलहरीको विषय छानबिनका लागि संसदीय समिति बनाउन माग गरे। उनले उजुरी परेको दुई वर्षपछि अख्तियारले छानबिन गरेको भन्दै अख्तियारको कार्यशैलीप्रति प्रश्न पनि उठाए।
“उजुर परेको दुई वर्षपछि बल्ल अख्तियारले छानबिन गरेको छ। महालेखाको प्रतिवेदनमा प्रष्ट आएको विषयलाई अख्तियारले यति ढिलो गरी छानबिन किन गर्यो? यसको निर्णय प्रक्रिया र कार्यान्वयनको सन्दर्भमा थुप्रै विषयहरू जोडिएका छन् र ती व्यापक रूपमा टीकाटिप्पणीका विषय बनेका छन्। यो गम्भीर विषय छानबिनका निम्ति सदनले एउटा समिति बनाओस्। यसको पूर्ण र निष्पक्ष छानबिन हुने स्थिति निर्माण होस्,” उनले भने।
प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले पशुपतिको जलहरी निर्माणका क्रममा कति सुन हराएको हो र कति बाँकी छ भन्ने कुराको सत्यतथ्य जानकारी संसद्मा गराउन माग गरे। “आज पशुपति क्षेत्र विकास कोष, नेपाल प्रहरी, सुनचाँदी व्यवसायी संघ, गुणस्तर तथा नापतौल विभाग, पुरातत्त्व विभाग, खानी तथा भूगर्भ विभाग र जनप्रतिनिधिहरूले त्यहाँको सुनको खोजी गरेर तौलिँदै हुनुहुन्छ भन्ने हामी सुनेका छौँ। कति सुन हराएको हो? कति सुन बाँकी छ? के स्थिति हो? यो कुनै ट्रकमा ल्याएको सामग्री जोख्ने कुरा होइन। यो सदनमा सत्यतथ्य जानकारी गराउनको निम्ति सम्बन्धित निकायलाई अनुरोध गर्न चाहन्छु,” उनले भने।
प्रतिनिधिसभा सदस्य ठाकुरप्रसाद गैरेले बजेटलाई संशोधन गरेर पारित गर्न माग गरे। उनले असन्तुलित र अव्यावहारिक जनपक्षीयसमेत नभएकोले बजेटलाई जनपक्षीय, व्यावहारिक र सन्तुलित बनाएर पारित गर्नुपर्ने बताए। “सरकार कमजोरी स्वीकार गर्न तयार छ भन्ने कुरालाई आत्मसात् गर्दै बजेटलाई संशोधन गरेर जनपक्षीय, व्यावहारिक र सन्तुलित बनाएर पास गर्न सदन एकताबद्ध भएर प्रस्तुत हुन जरुरी छ। जसले देशलाई सकारात्मक सन्देश दिन्छ,” उनले भने।
प्रतिनिधिसभा सदस्य तोसिमा कार्कीले लागुपदार्थ दुर्व्यसनीमा परेकाहरूलाई राख्ने सुधार गृहलाई स्वास्थ्य मन्त्रालय मातहतमा ल्याउनुपर्ने माग गरिन्। उनले विश्व स्वास्थ्य संगठनले लागुपद्धार्थ दुर्व्यसनलाई रोगको रूपमा लिएको उल्लेख गर्दै लागुपदार्थ दुर्व्यसनमा फसेकाहरूलाई अपराधीको जस्तो व्यवहार गर्नु नहुने बताइन्। उनले समस्याको समाधान मनोसामाजिक पाटोबाट गर्नुपर्ने बताइन्।
“लागुऔषध कारोबारी र प्रयोगकर्तालाई एउटै दृष्टिले हेर्न मिल्दैन। अधिकांश प्रयोगकर्ताहरू १६ वर्ष मुनिका, मुख्य समस्या साथीको संगतले र विभिन्न रोगहरू विशेषतः यौनरोग, एचआईभी, हेपाटाइटिसबाट ग्रस्त हुने देखिन्छ। मूलभूत यसको कारण मनोसामाजिक पाटो समाधान जरुरी छ,” उनले भनिन्।
प्रतिनिधिसभा सदस्य दामोदर पौडेल वैरागीले कास्कीको फेवाताल संरक्षण गर्न र वाराही मन्दिर पुनर्निर्माण गर्न, अन्नपूर्ण पर्यटन क्षेत्रको संरक्षण, विकास र पैदल मार्गको व्यवस्था गर्न माग गरे। त्यस्तै, माछापुच्छ्रे पैदल मार्गको लागि व्यवस्था गर्न र घोडेपानी, टाडापानी पर्यटन क्षेत्र विकासका लागि ध्यान दिन पनि सरकारसँग माग गरे।
प्रतिनिधिसभा सदस्य नारायणी शर्माले भारतसँग सीमा जोडिएको दाङ जिल्लामा विभिन्न स्थानमा सीमा स्तम्भ नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए। कतिपय स्थानमा बाढीले बगाएको र कतिपय स्थानमा जीर्ण भएको भन्दै सीमा स्तम्भलाई व्यवस्थित बनाउन माग गरे।
“दाङको सीमा स्तम्भहरू निकै जीर्ण अवस्थामा छन्। ३७ वटा मुख्य सीमा र ४० वटा सहायक स्तम्भ छन्। मर्मत सम्भारका लागि केही पहल भएको छैन। सीमा स्तम्भ दिन प्रतिदिन जीर्ण बन्दै गएका छन्। सीमा स्तम्भलाई व्यवस्थित र पूर्ण बनाउनको निम्ति नेपाल सरकारको ध्यानाकर्षण गर्न चाहन्छु,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
