रामायणकालीन जनश्रुतिसँग जोडिएको मटिहानीमा धार्मिक र सांस्कृतिक महत्त्वका कामले गति लिएका छन्।
महोत्तरी- महोत्तरीको धार्मिक र सांस्कृतिक नगरका रूपमा परिचित मटिहानी गाउँ नयाँ संरचनाको विकासले थप सुन्दर बनेको छ। रामायणकालीन जनश्रुतिसँग जोडिएको मटिहानीमा धार्मिक र सांस्कृतिक महत्त्वका कामले गति लिएपछि यहाँको सौन्दर्य बढ्दै गएको हो।
त्रेतायुगमा राम–सीताको विवाह हुँदा वेदी यज्ञस्थल बनाउन मटिहानीकै माटो खनिएको जनविश्वास छ। त्यतिखेर माटो खनिएको ठाउँ मानिने लक्ष्मीसागर सम्पूर्ण हिन्दूहरूको आस्था, भक्ति र दर्शनस्थलसमेत हो। राजा दशरथले अवधबाट जन्ती लिएर मटिहानी हुँदै जनकपुर गएको भन्ने जनविश्वास छ।
पौराणिकस्थल मटिहानीमा केही सातायता नै धेरै संरचना बनिसकेका छन्। कतिपय योजनाको निर्माणको काम थालिएको छ। मटिहानीस्थित लक्ष्मीनारायण मन्दिर र बजारबीचमा भव्य आकर्षक दरबार निर्माण सम्पन्न भएर शुभारम्भ भइसकेको छ।
यसैगरी गोबरौरा र धनुषाको घोडघास जोड्ने सडकको दूधमती नदीमा नयाँ झोलुंगे पुल, झिझाखोला र धनुषाको तुल्सियाही जोड्ने बिग्ही नदीमा पक्की पुल निर्माण थालिएको नगरपालिकाका इञ्जिनियर विमलेश साहले जानकारी दिए।
यसअघि लक्ष्मीनारायण मठ परिसरमा झुलाघर र लक्ष्मीसागरको चित्ताकर्षक घाट निर्माणकार्य सम्पन्न भइसकेको छ। गत वर्षमात्रै अत्याधुनिक रंगशाला निर्माण भएको थियो।
मटिहानी जनकपुर, रामजानकी सडक र मटिहानी जलेश्वर सडकमा निर्मित कलात्मक प्रवेशद्वारले यहाँको सांस्कृतिक र धार्मिक महत्त्वलाई बढाएको छ। धार्मिक र सांस्कृतिक महत्त्वको मटिहानीमा धार्मिक पर्यटनको उत्तिकै सम्भावना छ।
आधुनिक मटिहानी निर्माणमा हिन्दु परम्पराका साधु तश्मैया बाबा र इस्लाम परम्पराका सुफी सन्त पिरबाबाको महत्त्वपूर्ण योगदान छ। यसै कारण यहाँ दुवै परम्पराका चाडपर्व एकआपसमा मिलेर मनाइने गरिएको मटिहानीका संस्कृतिविद् चन्देश्वर साह बताउँछन्।
यहाँ मुख्य पर्व साउने झुला महोत्सव, विजयादशमीका दिनको रावणवध उत्सव, फागु, दशैँ, तिहार, छठ, मुहर्रम, इद–उल–फित्र, सवेबरात र इद–उल–जोहा सबै समान रूपले मनाइन्छ।
यसबाहेक मटिहानी प्राचीन शिक्षा र साहित्यको साधनाको थलोसमेत हो। तीन सय पाँच वर्ष पुरानो राजकीय संस्कृत माध्यमिक विद्यालय र महामूनि याज्ञवल्क्य र भगवान् लक्ष्मीनारायणका नाउँमा स्थापित र सञ्चालित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ संस्कृत क्याम्पस संस्कृत भाषा र साहित्यका साधनास्थल हुन्।
यहाँ स्नातकोत्तरसम्मको अध्ययन अध्यापन हुन्छ। नगरको धार्मिक, शैक्षिक र सांस्कृतिक परिचयको बिस्तार र प्रवर्द्धनले नयाँ सम्भावनाको बाटो खुल्ने नगरप्रमुख हरिप्रसाद मण्डलको विश्वास छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
