कुवेतले नेपालविरुद्ध दबदबाको रेकर्ड नै राखेको छ। दुवै टोलीले कुल ९ पटक एक अर्कासँग खेलेका छन्। जसमा कुवेत ८ पटक विजयी भएको छ भने १ खेल बराबरीमा टुंगिएको छ।
काठमाडौँ– २०, नोभेम्बर १९८२ मा एशियन गेममार्फत् नेपालले अन्तर्राष्ट्रिय फुटबलमा खुट्टा टेक्यो। भारतको नयाँ दिल्लीमा भएको प्रतियोगिता नेपालका लागि नौलो त थियो नै प्रतिद्वन्द्वी पनि उस्तै। चार महिनाअघि मात्रै स्पेनबाट विश्वकप फुटबल खेलेर फर्किएको कुवेतसँग नेपालको केही जोड चलेन। अग्ला र गठिला हेर्दै डर लाग्ने पहिलो प्रतिद्वन्द्वी कुवेतसँग नेपाल ३-१ गोलअन्तरले पराजित भयो। उक्त खेलमा एक मात्रै गोल वाइबी घलेले गरे र इतिहास बन्यो।
त्यसयता नेपाल र कुवेत ९ पटक भिडे। तर, एक पटक बराबरी खेल्नुबाहेक नेपालले सुखद नजिता निकाल्न सकेन। अझ रोचक कुरा त के भने कुवेतविरुद्ध गोल गर्न नेपालले ४० वर्ष नै कुर्नुपर्यो। जुन ११, २०२२ मा एएफसी एशियन कप छनोट खेलमा दर्शन गुरुङले ९४ मिनेटमा गोल गरेका थिए। तर, उनको गोल सान्त्वना रह्यो र नेपाल अन्ततः ४-१ ले पराजित भयो। सोही टोलीविरुद्ध खेल्दै साबिक उपविजेता नेपालले बुधबारदेखि साफ च्याम्पियन्सिपको शुरूवात गर्ने छ।
तर, भर्खरै अरबियन गल्फ कप खेलेर फर्किएको कुवेतविरुद्ध नेपाललाई जित हासिल गर्न त्यति सहज भने हुने छैन। मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिस पनि त्यसै भन्छन्। “पहिलो खेलमा हामीले कुवेतको सामना गर्नेछौँ। अन्तर्राष्ट्रिय प्रशिक्षक र अनुभव बटुलेका खेलाडीहरूको साथ पाएको कुवेत अद्भुत प्रतिद्वन्द्वी हो। हेरौँ के हुन्छ,” उनी भन्छन्। साफ राष्ट्र नभए पनि कुवेतले २०२३ को संस्करणमा खेल्न औपचारिक निमन्त्रणा पाएको थियो। लेबनान (९९औँ) र भारत (१०१औँ) पछि प्रतियोगितामा सहभागिता जनाउने कुवेत फिफा विश्व वरीयतामा तेस्रो (१४३औँ) बलियो टोली हो। कुवेत पछिल्ला पाँच खेलमा अपराजित छ। कुवेतले अन्तिम हार जनवरीमा भएको अरबियन गल्फ कपको समूह चरणको खेलमा कतारसँग २-० को बेहोरेको थियो।

गत संस्करणको साफमा फाइनल पुगेर इतिहास रचेको नेपालको भने मिश्रित नतिजा छ। पछिल्ला पाँच खेलमा नेपालले २ जित, २ हार र १ बराबरी खेलेको छ। आफ्नो पछिल्लो खेलमा नेपाल फिलिपिन्ससँग १-० ले पराजित भएको थियो। वरीयता र कागज रूपमा फरकफरक अवस्थामा रहे पनि समूह ‘ए’ मा रहेको नेपाल कुवेतसँग जित हासिल गर्दै साफमा सुखद शुरूआत गर्न चाहन्छ।
“हामीले यस (साफ च्याम्पियनसिप २०२३) को तयारीका लागि साढे तीन महिना पाएका थियौँ। मार्चदेखि चार पटक मात्र ट्याक्टिकल ट्रेनिङ (रणनीतिक प्रशिक्षण) गरेका छौँ। टोलीमा फिटनेसको स्तर निकै राम्रो छ। प्रशिक्षकको हैसियतमा बढी समय पाए हुन्थ्यो जस्तो लाग्छ। तर, जे छ, त्यसैमा काम गर्नुपर्छ। म टोलीप्रति सकारात्मक छु,” एनिस भन्छन्।
जहाँसम्म ‘हेड-टू-हेड’को सवाल छ, कुवेतले नेपालविरुद्ध दबदबाको रेकर्ड नै राखेको छ। दुवै टोलीले कुल ९ पटक एक अर्कासँग खेलेका छन्। कुवेतले ८ पटक जित हात पारेको छ भने १ खेल बराबरीमा टुंगिएको छ।
यसबीचमा कुवेतले ३४ गोल गरेको छ भने नेपालले २ गोल मात्रै फर्काउन सकेको छ। नेपालको उत्कृष्ट नजिता भनेको सन् २०१९ मा भएको मैत्रीपूर्ण खेलमात्रै हो। अल अहमदी स्टेडियममा भएको खेलमा जोहान कालिनको प्रशिक्षणमा उत्रिएको नेपाल कुवेतका कप्तान बाडेर अल मुतवाले पेनाल्टीमा गोल गर्न नसकेपछि हारबाट जोगिएको थियो।
डेब्यू खेलाडी अजित भण्डारीले विपक्षी खेलाडीलाई डिबक्सभित्र फउल गरेपछि खेलको ६६औँ मिनेटमा कुवेतले पेनाल्टी पाएको थियो। कुवेतले पटकपटक गरेको आक्रमणको बचाऊ गर्दै नेपाली गोलरक्षक किरण चेम्जोङले उत्कृष्ट प्रदर्शन गरेका थिए। त्यसयता खेलेका तीन खेलमा नेपाल पराजित भएको छ। अन्तिम पटक कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको प्रशिक्षण खेल्दा नेपाल युवा टोलीसँग मैदान उत्रिएको थियो। प्रशिक्षकसँगको विवादपछि प्रतियोगिता खेल्न पुगेको नेपाली टोलीमा दीप कार्की, गौतम श्रेष्ठ, विकास खवास, विकास तामाङ र सुमन अर्याल, सेसेहाङ आङ्देम्वे, पुजन उपरकोटी, नवयुग श्रेष्ठ, आयुष घलान, मनिष डाँगी र सुरज ज्यू ठकुरी रहेका थिए। अहिले भरपर्दा मानिएका गौतम र सुमन अस्ट्रेलिया पलायन भइसकेका छन्। सेसेहाङ र विकास तामाङ भने टोलीमा परेका छैनन्।
नेपालसँग नयाँ पुस्ताका खेलाडी भएका कारण कुवेतजस्ता टोलीसँग खेल्दै ‘एक्सप्रोजर’ बटुल्ने लक्ष्यमा रहेको मुख्य प्रशिक्षक एनिस बताउँछन्। “यो महत्त्वपूर्ण प्रतियोगिता हो, किनभने बलियो प्रतिस्पर्धी टोलीविरुद्ध खेलेर एक्सप्रोजर प्राप्त गर्नेछौँ। यो नेपाली फुटबलको नयाँ पुस्ता हो र यो टोलीले उत्कृष्ट प्रदर्शन गर्ने आशा राख्छु,” उनी भन्छन्। कुवेतविरुद्धको खेलमा नेपाली टोलीका सबैभन्दा अनुभवी खेलाडी हुन्, सेन्ट्रल डिफेन्डर रोहित चन्द। हाल इन्डोनेसियन क्लब पर्सिजा जाकर्ताबाट व्यवसायिक फुटबल खेलिरहेका उनीसँग असाधारण रक्षात्मक क्षमता छ। आफ्नो कमान्डिङ फोर र बलियो ट्याकलिंङ कलाका कारण उनी परिचत छन्। उनी सातौँ संस्करणको साफ च्याम्पियनसिप खेल्दै छन्।
यता, कप्तान तथा गोलरक्षक किरण अर्का अनुभवी खेलाडी हुन्। एन्फा एकेडेमीका उत्पादन उनी सन् २०१७ मा व्यवसायिक फुटबलका लागि माल्दिभ्सको क्लब टिसी स्पोर्ट्स क्लबमा अनुबन्धित भएका थिए। सन् २०१९ देखि उनी भारतको आई लिग क्लब मिनार्व पञ्जाबमा अनुबन्धित छन्। किरण नेपाली फुटबल इतिहासका उत्कृष्ट फुटबल खेलाडी मध्येका एक हुन्। नेपालको राष्ट्रिय लिगसहित अन्य विदेशी राष्ट्रका प्रतिष्ठित लिग उपाधिसमेत जितिसकेका उनका लागि साफ च्याम्पियनसिप छैटौँ हुनेछ। उनले भने पहिलो पटक सन् २०११ मा भारतको नयाँ दिल्लीमा भएको संस्करण खेलेका थिए।
उनीहरूबाहेक नेपालसँग अनन्त तामाङ, नवयुग श्रेष्ठ र अञ्जन विष्ट र विमल घर्तीमगर हुने छन्। सन् २०१८ को संस्करणमा खेलेका विमल ५ वर्षको अन्तरमा फेरि एकपटक साफ च्याम्पियनसिप खेल्दै छन्। पूजन उपरकोटी, आयुष घलान र मनीष डाँगीले पछिल्लो साफ खेलेका थिए। बाँकी सबै खेलाडीका लागि यो नै पहिलो साफ च्याम्पियनसिप हुनेछ।
यता, बलियो मानिएको कुवेतलाई पनि भारतीय हावापानीमा खेल्न त्यति सहज भने हुने छैन। कुवेतको अति सुक्खा मरुभूमि हावापानी र बेंगलुरूको ओसिलो अवस्थाबीच उल्लेखनीय भिन्नता छ। “मौसम एक अपरिवर्तनीय घटना हो। त्यसकारण अन्य सबै टोलीहरूजस्तै परिस्थिति अनुकूल गर्ने जिम्मेवारी मेरो टोलीमा छ,” कुवेतका मुख्य प्रशिक्षक रुई बेन्टो भन्छन्।
यसपटक कुवेती फरवार्ड शबैब अल-खाल्दी र नेपालका ‘सेन्टर ब्याक’ रोहितबीचको लडाइँ हेर्नलायक हुनेछ। कुवेत प्रिमियर लिगमा काज्मा एससीबाट खेल्ने अल-खाल्दी २०२१-२२ सिजनमा प्रतियोगिताको शीर्ष गोलकर्ता थिए। सन् २०१९ बाट कुवेतको राष्ट्रिय टोलीमा डेब्यू गरेका यी २४ वर्षीय फरवार्डले २३ खेलमा ५ गोल गरेका छन्।
‘अफ-द-बल मुभमेन्ट’ र क्लिन फिनिशिङका कारण उनी नेपालको ‘ब्याकलाइन’का लागि खतरा साबित हुन सक्छ। यस्तै, कुवेतका आक्रमक मिडफिल्डर अहमद अल-धेफिरी पनि उस्तै छन्। असाधारण टेक्निकल कला भएका उनी सही पासिङ र घातक शूटिङ क्षमताका लागि परिचित छन्। उनी विपक्षी डिफेन्सका लागि निरन्तर खतरा साबित हुन सक्छन्।
प्रशिक्षक रुई टोलीमा कुनै समस्या नभए पनि मैदानबारे भने चिन्तित छन्। “फिल्डको अवस्थालाई लिएर म अलिकति डराएको छु। खेलको गुणस्तर र खेलाडीको प्रदर्शन सुधार गर्नका लागि राम्रो मैदान हुनु महत्त्वपूर्ण छ। मैले फिल्ड हेरेका छु, घाँसको गुणस्तर हेरेको छु। यसमा सुधार आउने आशा राख्छौँ,” उनले भनेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
