सरकारले आफूलाई नसोधीकन मुद्दा फिर्ता लिइएको भन्दै आपत्ति जनाएका उपप्राध्यापक प्रेम चलाउने घामजस्तै छर्लङ्ग घटनामा न्यायको भिख माग्नु दुःखको कुरा भएको बताए।
काठमाडौँ– त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेको धर्नालाई ऐक्यबद्धता जनाउन काठमाडौँ जिल्ला अदालत पुगेका व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार ब्यानरसहित चलाउनेको धर्नामा ऐक्यबद्धता जनाउन काठमाडौँ जिल्ला अदालत पुगेका केही व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
आफूमाथि निर्घात कुटपिट गर्ने नेविसंघका कार्यकर्ताको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध चलाउने सोमवार साँझदेखि धर्नामा बसेका छन्। उनीलाई न्याय दिलाउन माग गर्दै बृहत् नागरिक आन्दोलनले काठमाडौँ जिल्ला अदालत अगाडि प्रदर्शन गरेको हो। विश्वविद्यालयलाई हिंसारहित बनाउन र चलाउनेमाथि आक्रमण गर्नेलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै मंगलबार अदालत परिसरमा प्रदर्शन गरिएको थियो।
घटनामा संलग्नलाई मन्त्रिपरिषद् बैठकले उन्मुक्ति दिने गरी गरेको निर्णय तत्काल फिर्ता लिन उनीहरूले माग गरेका थिए। प्रदर्शनकारीले ‘प्रेम चलाउनेलाई न्याय दे’, ‘कानूनी राज्य कायम गर्’लगायत नारा लेखिएका ‘प्लेकार्ड’ बोकेका थिए।
धर्नास्थलमा बैसाखी टेकेर पुगेका उनले घामजस्तै छर्लङ्ग घटनामा न्यायको भिख माग्नु दुःखको कुरा भएको बताए। उनले आफू पीडित हो कि होइन भन्ने कुरा अदालतले भन्नुपर्ने र अदालतले दिनलाई रात र रातलाई दिन बनाउन नहुने बताए। उनले मुद्दा फिर्ता लिने कुरा आफूलाई नसोधीकन लिइएको भन्दै आपत्ति जनाए।
उनले सरकार अपराधीको पक्षपोषणमा लागेको र अपराधीहरूले राजनीतिकरण गरेको गुनासो गरे। उनले प्राध्यापकमाथि दिनदहाडै आक्रमण हुँदा न्यायको मजाक उडाइएको बताए। उनले अपराधीले सञ्चारमाध्यममा गएर अभिव्यक्ति दिनुले नेपालमा न्याय मरेको अनुभूति भएको बताए।
चलाउनेमाथि २०७७ असोज २० मा नेविसंघ, त्रिभुवन विश्वविद्यालय इकाई समितिका तत्कालीन अध्यक्ष हरि आचार्य कार्यकर्ता योगेन्द्र रावललगायत सात जनाको समूहले आक्रमण गरेको थियो। आक्रमणबाट चलाउनेको घाँटी, कम्मर, मुख, खुट्टालगायत शरीरका विभिन्न ठाउँमा चोटपटक लागेको थियो।
उनी उपचारका लागि एक महिना अस्पताल भर्ना भएका थिए भने लामो समय बैसाखीको सहारामा हिँडेका थिए। घटनापछि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले कुटपिटमा संलग्नमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको थियो। उक्त मुद्दाको अन्तिम सुनुवाइ असार ५ गते तोकिएकोमा सरकारले मुद्दा फिर्ता लिने निर्णय गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
