बाढीपहिरो पीडितलाई तत्काल उद्धार, राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सांसदको माग

सांसद भट्टराईले ताप्लेजुङ, पाँचथर र संखुवासभा बाढी र पहिरोका कारण भएको क्षतिको वास्तविक अवस्थाबारे सदनमा जानकारी गराउन सरकारसँग माग गरे।

काठमाडौँ– सांसदहरूले ताप्लेजुङ, संखुवासभा र पाँचथरलगायत पूर्वी पहाडी जिल्लामा गएरातिको बाढी र पहिरोले ठूलो धनजनको क्षति भएको उल्लेख गर्दै पीडितलाई तत्काल उद्धार, राहत, क्षतिपूर्तिको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्।

प्रतिनिधिसभाको आइतबार बसेको बैठकको शुरूमा बोल्दै सांसद योगेश भट्टराई, दीपक खड्का, रामकुमार राई, अशोककुमार चौधरीलगायतले सरकारको ध्यानाकर्षण गराएका हुन्। 

सांसद भट्टराईले ताप्लेजुङमा पहिरोमा परेर एक जनाको मृत्यु भएको, तीन जना बेपत्ता भएको, घरहरू बगाएको  र वर्षा नरोकिएकाले मानिसहरू उच्च जोखिममा रहेको बताए। उनले क्षतिको वास्तविक अवस्थाबारे सदनमा जानकारी गराउन सरकारसँग मागसमेत गरे।

“बाढी र पहिरोले ताप्लेजुङसहित पूर्वी पहाडमा नै ठूलो मानवीय र भौतिक क्षति भएको छ। यसबारे सरकारले सदनलाई जानकारी गराउनुपर्छ,” उनले भने, “पीडितलाई आवास र खाद्यान्नको प्रबन्ध गर्न र यातायात अवरुद्ध भएकाले भद्रपुरबाट ताप्लेजुङसम्म हवाई सेवाको व्यवस्था गर्न सरकारसँग माग गर्दछु।”

यस्तै सांसद खड्काले संखुवासभाको सुपर हेवा जलविद्युत आयोजनामा काम गर्ने १६ जना मजदुर बेपत्ता भएको र उनीहरू मध्ये ३ जना फेला परेको, एक जना मृत अवस्थामा भेटिएको उल्लेख गर्दै बेपत्ता भएका अन्यको खोजी कार्यमा तीव्रता दिन सरकारको ध्यानाकर्षण गराए।

बेपत्ता भएकाको उद्धार र राहतको काममा सहयोग गर्न सबै राजनीतिक पार्टीलाई सांसद खड्काले आग्रहसमेत गरे।

“बाढीका कारण सुपर हेवा, मेन्छेम जस्ता हाइड्रोपावर पूर्ण रूपले क्षति हुँदा २ वटा पक्की पुल र एउटा झोलुंगे पुल बगाएको छ। बेपत्ता भएकाको खोजीका लागि खटिएका प्रहरी मात्रै पर्याप्त नभएकाले थप उद्धारकर्मीको आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई आग्रह गर्छु,” उनले भने।