जर्मनीमा विश्वकै ठूलो बियर महोत्सव, अर्थात् अक्टोबरफेस्ट

जर्मनीमा २१२ वर्षदेखि विश्वकै ठूलो बियर महोत्सव मनाइने गरिन्छ। अक्टोबरफेस्ट भनिने यो महोत्सव २६ पटक मात्र रोकिएको छ, त्यो पनि युद्ध र विभिन्न महामारीका कारण।

तस्वीर: रोयटर्स

जर्मनीको म्युनिखमा विश्वकै ठूलो बियर महोत्सव अर्थात् अक्टोबरफेस्ट शुरु भएको छ। स्थानीय समयानुसार गएको शनिबार दिउँसो सुरु भएको बियर महोत्सव अक्टोबर ३ तारिखसम्म चल्नेछ।

साढे ३४ हेक्टर क्षेत्रफलमा चल्ने महोत्सवमा विश्वभरबाट लाखौँ मानिस आउने आकलन गरिएको छ। सेप्टेम्बरको मध्यदेखि अक्टोबरको पहिलो आइतबारसम्म करिब १७ दिनसम्म चल्ने अक्टोबरफेस्ट अवधिभर लाखौँ लिटर बियर खपत हुन्छ।

सन् २०१४ मा अक्टोबरफेस्ट अवधिभर ७७ लाख लिटर बियर खपत भएको थियो। जसलाई अक्टोबरफेस्टमा अहिलेसम्मकै बढी बियर खपत भएको वर्ष मानिन्छ।

महोत्वसका गतिविधि विदेशीका लागि रोचक हुने भएकाले बर्सेनि लाखौँ मानिस अवलोकन गर्न र रमाइलो गर्न त्यहाँ पुग्ने गर्छन्।

महोत्सवमा विभिन्न थरीका बियर पिउने प्रतिस्पर्धा हुन्छ। बावारियन संस्कृतिका लुगा लगाउने र नाचगान गरेरसमेत यो महोत्सव मनाइन्छ।

हरेक वर्ष जर्मनीको स्वतन्त्र राज्य बावारियाको मुख्य सहर म्युनिखमा मनाइने महोत्सवमा विशेष अक्टोबरफेस्ट बियरका साथै फ्राइड ससेज र पोर्क नकल्कसमेत खाने गरिन्छ। म्युनिख जर्मनीकै तेस्रो ठूलो सहर पनि हो।

इतिहास
सन् १८१० बाट अक्टोबरफेस्ट मनाउन थालिएको इतिहास छ। २१२ वर्षको इतिहास बोकेको यो महोत्सव केबल २६ पटक रोकिएको छ, त्यो पनि युद्ध र विभिन्न महामारीका कारण।

विश्वका धेरै देशका मानिस यही महोत्सव मनाउन जर्मनी पुग्ने गर्छन्। बावारियन अधिराजकुमार लुडविङ र राजकुमारी टेरिजाको विवाहको दिन अक्टोबर १२ को सम्झनामा यो महोत्सव मनाउन थालिएको हो।

लुडविङ र टेरिजाको विवाहको खुसीयालीमा म्युनिखका सबै जनतालाई निम्तो दिएर सहरको मुख्यद्वारमा पाँच दिनसम्म महोत्सव मनाइएको थियो। त्यतिबेला घोडा दौडाइ प्रतिस्पर्धा गरी मनाइएको थियो। वास्तवमा बियर महोत्सव नभई त्यतिबेला घोडा दौडाइ प्रतिस्पर्धा भएको थियो।

तर, बावारियन मानिस आफ्नो संस्कृति, रीतिरिवाज, खाना र आफ्नो इतिहासमा गर्व गर्ने भएकाले पछि यसलाई बियर पिएर मनाउने गर्दागर्दै बियर महोत्सवका रूपमा परिचित हुन पुगेको हो।

जर्मन भाषा बोल्ने मुलुकले यस महोत्सवलाई 'भोक्सफेस्ट' भन्ने गर्छन्। कोरोना महामारीका कारण बन्द यो महोत्सव सन् २०१९ पछि पहिलोपटक शनिबार मनाइएको हो।