नयाँ खिम्तीमा माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले २२०/१३२ केभी सबस्टेसन निर्माण गरेको थियो। तर, त्यहाँ स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि व्यवस्था नभएपछि अर्को सबस्टेसन बनाइएको हो।
काठमाडौँ– रामेछापको मन्थली नगरपालिका–१३ साँखे (फुलासी)स्थित नयाँ खिम्ती सबस्टेसनमा निर्माण गरिएको १३२/३३/११ किलोभोल्ट (केभी) सबस्टेसन सञ्चालनमा आएको छ।
रामेछाप (गज्र्याङ)–नयाँ खिम्ती १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत निर्माण गरिएको सबस्टेसन बिहीबारदेखि सञ्चालनमा ल्याइएको हो। सबस्टेसनमा ३० एमभीए क्षमताका दुईवटा र ३३/११ केभी, ६/८ एभीए क्षमताको एउटा पावर ट्रान्सफर्मर राखिएका छन्। स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि सबस्टेसनबाट ३३ केभीका पाँचवटा र ११ केभीका तीन वटा फिडर लाइन निकालिएका छन्।
३३ केभीका फिडरलाई चार्ज गरी रामेछापको मन्थली र दोरम्बा तथा दोलखाको केही भागमा विद्युत् आपूर्ति गर्न थालिएको हो। ११ केभीको एउटा फिडर लाइनमार्फत खिम्ती ग्रामीण विद्युत् सहकारीलाई आपूर्ति दिइने छ। उक्त सहकारीले दोलखा र रामेछापको केही क्षेत्रमा विद्युतीकरण गरेको छ।
दोलखामा सञ्चालित ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले २२०/१३२ केभी क्षमताको नयाँ खिम्ती सबस्टेसन निर्माण गरेको थियो। तर, सबस्टेसनमा स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि कुनै व्यवस्था नभएपछि नेपाल विद्युत् प्राधिकरणले १३२/३३/११ केभीको सबस्टेसन बनाएको हो। सबस्टेसनमा माथिल्लो तामाकोशीसहित खिम्ती र लिखू नदी करिडोरका आयोजनाको विद्युत् जोडिएको छ।
ती आयोजनाबाट नयाँ खिम्ती सबस्टेसनमा प्रवाह भएको विद्युत्लाई यो सबस्टेसनमार्फत ३३ तथा ११ केभीमा झारेर आपूर्ति गरिएको छ। बाँकीलाई २२० केभी प्रसारण लाइनमार्फत धनुषाको ढल्केवर र १३२ केभी लाइनमार्फत सिन्धुपाल्चोकको लामोसाँघू सबस्टेसनतर्फ प्रवाह गरिएको छ।
रामेछापको पूरै क्षेत्र र दोलखाको जिरी नगरपालिका, वैतेश्वर तथा तामाकोशी गाउँपालिकामा नयाँ खिम्ती सबस्टेसनबाट विद्युत् आपूर्ति गरिएको छ। साथै, सिन्धुलीको सुनकोशी, फिकल र गोलाञ्जोर गाउँपालिकामा पनि यहीँबाट विद्युत् दिइने छ। अब रामेछापलगायत जिल्लामा विद्युत् प्रवाह पर्याप्त, भरपर्दो र गुणस्तरीय भएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।
“नयाँ खिम्तीबाट २२० केभी प्रसारण लाइनमार्फत ढल्कबेर पुगेको विद्युत्लाई ३३ केभी प्रसारण लाइनबाट फेरि यतै ल्याएर सिन्धुली, रामेछापमा आपूर्ति गरिएको थियो, लामो लाइन हुँदा ट्रिपिङ, न्युन भोल्टेजलगायत समस्या थिए,” उनले भने, “अब विद्युत् आपूर्तिमा रहेका समस्या समाधान हुने छन्। उपभोक्ताले भरपर्दो र गुणस्तरीय विद्युत् पाउने छन्।”
सिन्धुलीको खुर्कोटस्थित सबस्टेसनसम्म नयाँ खिम्तीबाटै विद्युत् आपूर्ति हुने बताइएको छ। नयाँ खिम्ती सबस्टेसन निर्माण २०७६/७७मा शुरू गरिएको थियो। नेपाल सरकार तथा प्राधिकरणको लगानी रहेको सबस्टेसनको लागत ८० करोड रुपैयाँ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
