२०७८ असार १ गते मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीले ५५१ घर बगाएको थियो। २६ जनाको ज्यान गएको थियो। विस्थापित भएकाहरू पुनर्वासको पर्खाइमा छन्।
सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा बाढी आएको दुई आज वर्ष पूरा भएको छ। बाढीका कारण ठूलो जनधनको क्षति भएको थियो।
नदी तटीय क्षेत्रका सयौँ घर र खेतीयोग्य जमिन बगर बने। हजारौँ नागरिक विस्थापित भए। बाढीले क्षति पुर्याएको दुई वर्ष बिते पनि प्रभावित अस्थायी टहरामै बसिरहेका छन्। उनीहरू सुरक्षित बसोबासको पर्खाइमा छन्। मेलम्ची बाढीले घरखेत बगाएर बेसहारा बनेकी हेलम्बु–२ च्युरीखर्ककी जुकमाया थापामगरका आँखा अझै ओभाएका छैनन्।
बाढीले घरसहित भएको थोरै जमिनसमेत बगर बनेपछि उनी सुकुम्बासी बनिन्। सरकारले घर बनाइदिने भनेको दुई वर्ष बितिसक्दासमेत अस्थायी टहरामै बस्न बाध्य उनलाई दैनिक गुजारा चलाउनसमेत धौधौ परेको छ।
हेलम्बुकै डेलिङ थापा वृद्ध दम्पती अस्थायी टहराको सकसपूर्ण जीवनले बाच्नै गाह्रो भएको बताउँछन्। बाढीका कारण विस्थापित हेलम्बु, मेलम्चीका स्थानीयवासी सुरक्षित ठाउँमा घर कहिले बनाउन पाइएला भन्ने आशामा छन्।
नदी तटीय क्षेत्रका बासिन्दाको कथा पनि उस्तै छ। नदी नियन्त्रणको काम गुणस्तरीय नभएको मेलम्ची सिमखेतकी शान्ता चालिसेले गुनासो गरिन्। बाढी आउँदा बालबच्चा बोकेर माथितिर भाग्नुपरेको दुखेसो उनको छ।
बाढीका कारण हेलम्बु गाउँपालिकामा मात्रै ३९२ जना विस्थापित भएकामा हालसम्म २७५ ले मात्र पहिलो किस्ता पाएका छन्। मेलम्ची नगरपालिकामा कायम भएका २७१ लाभग्राहीमध्ये २४५ जनाले पहिलो, २८ जनाले दोस्रो र एक जनाले मात्र अन्तिम किस्ता पाएका छन्।
यस्तै पाँचपोखरी थाङपाल गाउँपालिकामा १७९ जना लाभग्राहीमध्ये जम्मा २६ जनाले मात्र पहिलो किस्ता लिएका छन्। जिल्लामा बाढी पहिरोलगायतका प्राकृतिक प्रकोपबाट प्रभावित बनेका एक हजार ५७९ लाभग्राहीमध्ये हालसम्म ७७६ जनाले पहिलो, ६८ जनाले दोस्रो र मात्र सात जनाले अन्तिम किस्ताबापतको रकम पाएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।
स्थानीय तह र प्रशासन कार्यालयबीच तालमेल नहुँदा निर्माण कार्य सुस्त बनेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पा बताउँछन्। गाउँपालिकाले हाल्नुपर्ने १० प्रतिशत रकम खातामा जम्मा गरिसकेको उनले बताए। घर बनाउन दिने पाँच लाख कम भएका कारण स्थानीयले घर बनाउन आँट गर्न नसकेको शेर्पाको भनाइ छ। घर बनाउन पाँच लाख रुपैयाँ अपुग भएको छ।
प्राकृतिक विपद्का हिसाबले देशकै उच्च जोखिममा रहेको यस जिल्लामा वर्षायाममा आउने बाढी, पहिरो तथा अन्य विपद्मा पूर्वसूचना प्रणाली, विपद् प्रतिकार्य योजना एवं सामग्रीको उचित व्यवस्थापनको कमजोरीले पनि बर्सेनि जनधनको क्षति हुने गरेको छ। यस्ता प्राकृतिक विपद्को पूर्वसूचनाले ठूलो क्षति हुनबाट रोक्न सकिने अनुभव मेलम्ची बाढीले सिकाएकाले सोको पूर्वतयारी अवस्थामा राखिएको मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालको भनाइ छ।
पूर्वसूचना प्रणाली जडान, वडास्तरीय विपद् समितिलाई तालिम दिइएको तथा उद्धार अभ्यास पनि गरिएको, वर्षा मापन केन्द्र स्थापना गरिएको उनले बताए। २०७८ असार १ गतेको बाढीले हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकाको मात्रै ५५१ घर बगाएको थियो।
पाँच हजार ४०० रोपनी खेतीयोग्य जमिन बगर बन्यो। २६ जनाको ज्यान गएको थियो। राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनासँगै सात झोलुंगे पुल, नौ पक्की पुललगायत ३३ संरचना ध्वस्त भएका थिए। हेलम्बुको चनौटेमा बेलीबृज जडान भइसकेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
