प्रतिनिधिसभाको शून्य समयमा सांसदहरूले सरकारले बजेटमार्फत अघि सारेको कृषि अनुदानदेखि ढुंगा, गिट्टी, बालुवा उत्खनन गरी भारतलाई निकासी गर्ने योजनाका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
काठमाडौँ– सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। बिहीबारको प्रतिनिधिसभाको शून्य समयमा सांसदहरूले सरकारले बजेटमार्फत अघि सारेको कृषि अनुदानदेखि ढुंगा, गिट्टी, बालुवा उत्खनन गरी भारतलाई निकासी गर्ने विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन्।
प्रतिनिधिसभा सदस्य बिजुला रायमाझीले आर्थिक वर्ष २०८०/८१ को बजेट वास्तविक कृषकलाई प्रोत्साहन हुने गरी नआएको बताइन्। कृषिप्रधान देश भनिए पनि वास्तविक कृषकलाई प्रोत्साहन हुने ठोस योजना बजेटमा नदेखिएको भन्दै उनले सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्नेमा ध्यानाकर्षण गराइन्।
प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले पोखरामा वर्षा हुनासाथ जलमग्न हुने समस्या रहेको भन्दै वर्षा यामको पानीलाई व्यवस्थित ढल निकासको लागि सरकारको ध्यानाकर्षण गराइन्। उनले समस्याको दीर्घकालीन समाधानका लागि बृहत् योजना बनाइ काम गर्न आग्रह गरिन्।
प्रतिनिधिसभा सदस्य विनीताकुमारी सिंहले चुरे पर्वतको ढुंगा, गिट्टी, बालुवा उत्खनन गरी भारतलाई निकासी गर्ने कार्य रोक्न माग गरिन्। उनले चुरेको संरक्षण र संवर्द्धनका लागि सरकारको ध्यानाकर्षण गराइन्।
प्रतिनिधिसभा सदस्य विराजभक्त श्रेष्ठले नीतिगत भ्रष्टाचार गाउँ गाउँसम्म पुगेको बताए। उनले समयमै प्रभावकारी ढंगले नियन्त्रण गर्न नसके संघीयताको औचित्य नै समाप्त हुनसक्ने तर्क गरे। उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नीतिगत भ्रष्टाचारलाई अनुसन्धानको दायरामा नसमेटिनु शंकास्पद र मुलुकको लागि दुर्भाग्यपूर्ण भएको बताए।
प्रतिनिधिसभा सदस्य श्यामकुमार घिमिरेले काम नगर्ने ठेकेदार र काम सम्पन्न भइसकेपछि पनि भुक्तानी नदिने सरकारमाथि पनि कारबाही गर्ने गरी सार्वजनिक खरिद ऐनमा संशोधन गर्न माग गरे।
प्रतिनिधिसभा सदस्य शान्ति विकले प्रभात बस्याल र प्रीति घिमिरेको ३ वर्षदेखिको प्रेम सम्बन्धमा जातीय विभेदको ग्रहण लागेको बताइन्। उनले प्रेमसम्बन्धमा रहेका बस्याललाई बलात्कार, अपहरण र शरीर बन्धकको झूटो मुद्दा दायर गरिएको भन्दै निःशर्त सुरक्षित रिहाइको माग गरिन्।
प्रतिनिधिसभा सदस्य शिव नेपालीले प्रेम गरेकै कारण बागलुङका प्रभात बस्याल जातीय भेदभावका कारण अपहरण र जबरजस्ती करणी जस्तो जघन्य अपराधको भागिदार हुनुपरेको उल्लेख गर्दै गम्भीरतापूर्वक छानबिन गर्न सरकारको ध्यानाकर्षण गराए।
प्रतिनिधिसभा सदस्य शिशिर खनालले धेरै सडक दुर्घटनाहरू हुने गरेको भन्दै चालक लाइसेन्सको प्रणाली र सुरक्षित ड्राइभिङको संस्कृति निर्माणमा काम गर्नुपर्ने बताए।
प्रतिनिधिसभा सदस्य शेरबहादुर कुँवरले दार्चुलाको ब्यास गाउँपालिका छाङ्ग्रु र टिङ्करका जनतालाई जनगणनामा समेट्न नसक्नुको कारणले माग गरे। प्रतिनिधिसभा सदस्य सूर्य थापाले सामुदायिक विद्यालयका कर्मचारी र लेखापाल आन्दोलित रहेका भन्दै उनीहरूको न्यूनतम पारिश्रमिक पाउनुपर्ने मागलाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए।
प्रतिनिधिसभा सदस्य सोविता गौतमले देशमा जलवायु आपत्काल आउन लागेको भन्दै सरकारको ध्यानाकर्षण गराइन्। उनले अकल्पनीय कठिनाइ आउने निश्चित देखिएको जिकिर गरिन्। जलवायु परिवर्तनको भयावह स्थिति आउन नदिन सरकार जिम्मेवार बन्नुपर्ने उनको भनाइ थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
